यो कथाले ती युवालाई प्रेरणा दिन सक्छ; जो सपना देख्न डराउँदैन, र आफूले देखेको सपना पूरा गर्न हरसम्भव कोसिस गरिरहन्छ।
कथा हो, ३३ वर्षीय सनिस महर्जनको।
ललितपुरको नखिपोट बस्ने सनिसले एक महिनाअघि शंखमूलमा 'फ्रिजल्ड क्याफे' खोलेका छन्। तर उनको यो सपना धेरै पुरानो हो।
उनलाई सानैदेखि खानमा रूचि थियो। उनी विभिन्न ठाउँका खानेकुरा चाखिरहन्थे। भविष्यमा आफ्नै रेस्टुरेन्ट खोल्ने उनको धोको थियो। पाटन संयुक्त क्याम्पसबाट बिबिए पास गरेदेखि नै उनी यही धुनमा लागे।
उनले नख्खुमा पहिलो रेस्टुरेन्ट खोले। यो २०७२ सालको कुरा हो।
उनी त्यति बेला स्टिक फुडहरू बेच्थे। धेरैजसो तारेका खानेकुरा पाइने हुनाले रेस्टुरेन्टको नामै 'फ्रिजल्ड' राखेका थिए। फ्रिजल्ड भनेको तारेको खाना हो।
केही वर्षपछि उनले त्यो रेस्टुरेन्ट नख्खुबाट जावलाखेल सारे।
दुर्भाग्य के भइदियो भने, जावलाखेल सरेको केही समयमै कोरोना महामारी सुरू भयो। लकडाउनको प्रभावले सबै व्यापार व्यवसाय ठप्प भएका बेला उनको रेस्टुरेन्ट पनि मन्दीको सिकार भयो।
त्यो बेला मान्छेहरू बाहिर खान डराउँथे। भिडभाड हुने रेस्टुरेन्ट, सिनेमा हल लगायतका ठाउँमा त प्राय: कोही जानै चाहन्थेनन्। यसले पसलको भाडा तिर्न नसक्ने भएपछि उनी रेस्टुरेन्ट बन्द गर्न बाध्य भए।
लकडाउनका कारण व्यापार व्यवसाय डुबेका धेरै मान्छे हामी भेट्छौं। त्यस्ता कतिपय व्यक्ति पुरानो व्यवसाय छाडेर वैदेशिक रोजगारमा गएका उदाहरण प्रशस्त पाइन्छन्। कतिपय व्यक्ति त पठाओ चलाइरहेका पनि भेटिन्छन्।
सनिसले भने पहिलो रेस्टुरेन्ट बन्द भए पनि हरेस खाएनन्।
बरू बजार अनुकूल भएपछि अर्को रेस्टुरेन्ट खोल्ने सपना साँचेर उनी जागिरमा लागे। करिब चार वर्ष फाइनान्स कम्पनीमा काम गरेको उनी बताउँछन्।
'फाइनान्समा काम गर्दा पनि मेरो सपना रेस्टुरेन्ट खोल्ने नै थियो,' उनले भने, 'जसरी हुन्छ पैसा जम्मा गरेर आफ्नै व्यवसाय गर्छु भन्ने मेरो मनमा थियो।'
रेस्टुरेन्ट व्यवसायमा उनको रूचि कति गहिरो थियो भने, फाइनान्स कम्पनीमा जागिर खाइरहँदा पनि उनी विभिन्न सडक महोत्सवमा भाग लिन गइरहन्थे। ललितपुरको कुमारीपाटीमा आयोजित सडक महोत्सवमा 'फ्रिजल्ड' नामको स्टल राखेर खानेकुराहरू बेचेको उनी सम्झन्छन्।
त्यसैबीच उनको जिन्दगीमा एउटा 'टर्निङ प्वाइन्ट' आयो।

जति बेला सनिस सडक महोत्सवमा भाग लिँदै हिँडिरहेका थिए, ठ्याक्कै त्यही बेला नख्खु रेस्टुरेन्टमा काम गरेका युवराज राना मगरसँग उनको भेट भयो।
युवराज नख्खु रेस्टुरेन्टमा काम गर्दागर्दै वैदेशिक रोजगारका लागि कतार गएका थिए। त्यहाँ केही वर्ष काम गरेर नेपालमा आफ्नै व्यवसाय सुरू गर्ने सोचका साथ फर्केका थिए।
दुवैको इच्छा एक भएपछि उनीहरूले मिलेर नयाँ रेस्टुरेन्ट खोल्ने निधो गरे। शंखमूलमा एक महिनाअघि खोलेको 'फ्रिजल्ड क्याफे' त्यसैको परिणाम हो।
यहाँ उनीहरूले 'पकेट बर्गर' नाममा नेपाली शैलीको बर्गर चल्तीमा ल्याएका छन्। यो ठ्याक्कै हामीले लगाउने सर्टको पकेटजस्तै देखिन्छ।
यसमा अरू बर्गरजस्तो बन हुँदैन। त्यसको सट्टा 'पिटा ब्रेड' (बाक्लो रोटी) प्रयोग गरिन्छ। नेपाली स्वाद आओस् भनेर घरमा बनाउनेजस्तै अचार हालिन्छ। बर्गरका लागि चाहिने रोटी र अचार सनिस आफै बनाउँछन्। त्यसबाहेक प्याज, बन्दा, मासु, मायोनिज लगायत साधारण बर्गरमा राखिने चिजबिज पनि प्रयोग गरिन्छन्।
'हामी आफूलाई चाहिने सानातिना सामान पकेटमा लिएर हिँड्छौं। त्यही आइडियाअनुसार यो बर्गरलाई पकेटको आकार दिएका हौं,' सनिसले भने।
रेस्टुरेन्टका लागि नयाँ आइडिया के हुनसक्छ भनेर सोच्ने क्रममा उनी काठमाडौंका धेरै रेस्टुरेन्ट घुमेका थिए। उनले मासु वा तरकारी रोटीमा बेरेर बनाइएका खानेकुरा काठमाडौंमा निकै लोकप्रिय देखे। त्यसैबाट बाक्लो रोटीलाई पकेट आकारमा काट्ने र त्यसभित्र मासु तथा अन्य खानेकुरा भरेर बर्गर बनाउने आइडिया आएको उनले बताए।
'हामी आफूलाई त नयाँ खालको यो बर्गर राम्रो लागिसकेको थियो, तर अरूलाई कस्तो लाग्छ हेर्न नयाँ वर्षको दिन मंगलबजारमा उभिएर नि:शुल्क वितरण गर्यौं,' उनले भने, 'त्यो दिन हाम्रो पकेट बर्गर चाख्ने सबैले खुब मन पराउनुभयो।'
यसरी पहिलोचोटि पकेट बर्गर चाख्नेहरूबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरू हौसिए र रेस्टुरेन्ट खोल्न ठाउँको खोजीमा लागे।
आफू सानैदेखि ललितपुर क्षेत्रमा हुर्किएकाले उनलाई ललितपुरभित्रै रेस्टुरेन्ट खोल्न मन थियो। ठाउँ खोज्दै जाँदा शंखमूलमा सोचेजस्तै भेटेको उनले बताए।
'यसमा हामीले चार लाख रूपैयाँ लगानी गरेका छौं,' उनले भने, 'नयाँ रेस्टुरेन्ट भए पनि हाम्रो योजना पुरानै भएकाले पुरानै नाम दियौं।'
पकेट बर्गर
यहाँ पकेट बर्गरका अतिरिक्त चिकेन चटपटे पनि चर्चित छ। यो खालको चटपटे सनिसले बुटवल घुम्न जाँदा देखेका थिए। त्यही बेला उनले सोचे — काठमाडौंमा साधारण चटपटे त जहाँ पनि पाइन्छ, तर चिकेन चटपटे कहीँ पाइँदैन।
'यो बनाउने तरिका साधारण चटपटे जस्तै हो,' उनले भने, 'यसमा कुखुराको मासु र केही अचार थप हालिन्छ।'
यसबाहेक स्यावाले, आलु स्टिक, ससेज, चिकेन ललिपप, फ्राइड किमा बन, कोन समोसा, विंग्स लगायत पनि चर्चित छन्। यहाँ ४० देखि १५० रूपैयाँसम्मका खानेकुरा पाइन्छन्। पकेट बर्गरको मूल्य बफको ९० र चिकेनको १०० रूपैयाँ हो। यसमा चिज थप्यौं भने ४० रूपैयाँ बढी पर्छ।
यहाँको सबभन्दा महँगो खाना चिकेन चटपटे हो, जुन १५० पर्छ।
बिहान ७ बजे नै खुल्ने यो क्याफे राति ८–९ बजेसम्म चल्छ। बिहान कलेजका विद्यार्थी धेरै आउँछन् भने दिउँसो अफिसका कर्मचारी र स्थानीय बढी आउँछन्। वरपरको अफिसबाट नियमित अर्डर पनि आउन थालेको उनले बताए।
ग्राहकको सम्झनाका लागि सनिसले रेस्टुरेन्टको एउटा भित्तालाई 'मेमोरी वाल' मा परिणत गरेका छन्। ग्राहकहरूले त्यसमा आफ्नो नाम लेखेर दस्तखत गर्छन्। यही भित्ताको माथिल्लो भागमा उनले फुड भ्लगरहरूका लागि ठाउँ राखेका छन्। फुड भ्लगरकै कारण आफ्नो रेस्टुरेन्टबारे धेरैले थाहा पाएकाले उनीहरूलाई प्राथमिकता दिएको सनिसको भनाइ छ।
भर्खरै खुलेको भए पनि दिनमा १५० देखि २०० वटासम्म पकेट बर्गर बिक्ने गरेको उनले बताए। चटपटे भने दिनको २० देखि २५ प्लेट बिक्छ।
रेस्टुरेन्ट सञ्चालनमा सनिसलाई उनकी श्रीमती सुस्मिता श्रेष्ठले पनि मद्दत गरिरहेकी छन्। उनीहरूको पाँच महिनाअघि मात्र विवाह भएको थियो। नयाँ खालको परिकार बनाएपछि सबभन्दा पहिला सुस्मितालाई चखाउँछन्। उनले ठिक छ भनेपछि बल्ल रेस्टुरेन्टको मेनुमा थपिन्छ।
कम समयमै ग्राहकहरूबाट पाएको माया र हौसलाले सनिस उत्साहित छन्। भन्छन्, 'मिल्यो भने अर्को ठाउँमा पनि यस्तै रेस्टुरेन्ट खोल्छु।'
***
चिकेन चटपटे