आफ्ना सन्तान डाक्टर भएको सपना देख्ने अभिभावक धेरै हुन्छन्। पूजा शर्मा पनि त्यही सपना बोकेर बागलुङको बलेवाबाट नवलपुरको गैंडाकोट झरेकी थिइन्।
श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि उनले ज्यालादारी काम गरिन्। छोरालाई सामुदायिक स्कुलमा पढाइन्।
अचेल उनी गैंडाकोटस्थित 'त्रिशक्ति अपारल' मा तयारी कपडा प्याकिङ गर्छिन्। मासिक ३० हजार रूपैयाँसम्म कमाइ हुन्छ। नियमित आम्दानी हुन थालेकाले छोरालाई निजी स्कुल हालेकी छन्। डाक्टर बनाउने सपना बलियो हुँदैछ।
पूजालाई काम दिने गार्मेन्ट कम्पनीका सञ्चालकको कथा भने ठीक विपरीत छ।
त्रिशक्ति अपारलका सञ्चालक हुन् २७ वर्षीय सन्तोष रिजाल। पढाइ अनुसार उनी डाक्टर हुन्।
उनी अहिले कुनै अस्पतालमा बिरामीको उपचार गरिरहेको हुनुपर्ने हो। तर जब एमबिबिएस पढिसके, उनले आफ्नो काँधको स्टेथेस्कोप थन्क्याए। त्यसको ठाउँमा कपडा नाप्ने फित्ता पहिरिए।
उनले डेढ वर्षअघि सुरू गरेको गार्मेन्टमा अहिले पूजाजस्ता ६० जनाले काम पाएका छन्।
त्रिशक्ति अपारलले चीनबाट कच्चा कपडा आयात गरेर विभिन्न लुगाफाटा बनाएर बेच्छ।
'मान्छेहरू मलाई सुई छाडेर किन सियो–धागोतिर लागिस् भन्छन्। जागिर गर्ने, तलब खाने कुराले मलाई आकर्षित गरेन। एमबिबिएस पढेको पनि जागिर खान होइन, यससँग सम्बन्धित व्यवसाय गर्न सकिन्छ कि भनेर हो,' सन्तोषले भने, 'अहिले गार्मेन्ट चलाइरहेको छु। पछि मेडिकल सम्बन्धी व्यवसाय पनि गर्ने सोचेको छु।'
आफ्नो यो व्यवसायले धेरै परिवारमा खुसी ल्याएको र आफू पनि खुसी भएको उनले बताए।

सन्तोषका बुबा विष्णु नारायणघाटका पुराना व्यापारी हुन्। पहिले उनी चीनबाट तयारी कपडा आयात गरी खुद्रा व्यापारीलाई बेच्थे।
पछि बाबुछोराले चीनबाट कच्चा कपडा ल्याएर, सिलाएर बेच्ने सल्लाह गरे। सोही अनुरूप सिलाउने, आइरन लगाउनेदेखि आवश्यक सबै मेसिन चीनबाटै ल्याए र कारखाना खडा गरे।
अचेल विष्णु चीनबाट कच्चा कपडा ल्याउँछन्, सन्तोष बजार माग अनुसार लुगाफाटा तयार पारेर बेच्छन्।
सन्तोषका अनुसार बजारमा चिनियाँ लुगाको माग अत्यधिक छ। यसका लागि वार्षिक कम्तीमा दस अर्ब रूपैयाँ चीन पुग्छ।
'त्यसैले हामीले उताबाट कच्चा कपडा ल्याएर, यहाँ लुगा तयार गरी बेच्दा देशलाई समेत फाइदा हुने निष्कर्ष निकाल्यौं। धेरैले रोजगारी पनि पाउने भए,' सन्तोषले भने, 'त्यसपछि मैले काँधको स्टेथेस्कोप निकालेर फित्ता पहिरिने निधो गरेँ।'
मेसिन किन्न, कारखाना तयार गर्न लगायत काममा करिब दुई करोड रूपैयाँ खर्च भएको उनले बताए।
अहिले यो कारखानाबाट मासिक ३० हजार वटासम्म लुगा बन्छ। तर यो बजार मागको १० प्रतिशत पनि नभएको उनी बताउँछन्।
'हामीसँगै मासिक ५० हजार पिससम्मको माग भइरहेको छ। त्यसैले क्षमता विस्तार गर्दै लैजाने प्रयासमा छौं,' उनले भने।
त्रिशक्ति अपारलले धेरैजसो टि–सर्ट उत्पादन गर्छ। माग अनुसार अन्य लुगा पनि उत्पादन हुन्छ। टि–सर्ट 'मिङमिङ' र 'रेट्रो' ब्रान्डमा बिक्री भइरहेको सन्तोषले बताए।
उनले नेपाली ब्रान्डकै भित्री वस्त्र (अन्डर वेयर) बनाउने पनि सोचेका छन्।
अहिले नारायणघाट, बुटवल, पोखरा, काठमाडौं, इटहरी, बिर्तामोड र धरानमा उनीहरूका होलसेल पसल छन्।
उनीहरूको लुगाको माग साउदी अरेबिया र इसराइलबाट पनि आएको छ। तर देशभित्रै भनेजति दिन नसकेकाले तत्काल निर्यातको योजना छैन। क्षमता बढाउँदै यहीँको माग पूरा गर्ने लक्ष्य छ।


चीनमा जुन प्रविधि र उपकरणबाट कपडा तयार गरिन्छ, त्यसै अनुरूप आफूहरूले पनि उत्पादन गरिरहेको सन्तोषको दाबी छ।
'तयारी कपडा आयात गर्दा भन्सार शुल्क बढी लाग्छ। त्यसैले यहीँ उत्पादित लुगा तुलनात्मक रूपमा सस्तो हुन्छ। तर गुणस्तरमा सम्झौता नगर्ने हाम्रो नीति छ,' उनले भने, 'हामी सिधै चीनबाट आउने तयारी कपडासँग प्रतिस्पर्धा गरिरहेका छौं। स्थानीयसँग प्रतिस्पर्धा गर्ने लक्ष्य हाम्रो छैन।'
त्रिशक्ति अपारलमा चीनबाट ल्याइएको कपडाको रोल मेसिनले खोल्छ। त्यो मेसिनले खोल्दै गर्दा सुरूमै आइरन पनि लगाइदिन्छ।
'हामीले नेपालमै पहिलो पटक फेब्रिक स्रिंकेज मेसिन ल्याएका छौं। यसले लुगा धोएपछि पनि घट्न दिँदैन,' उनले भने।
त्यसपछि कम्प्युटरमा गरिएको डिजाइन अनुसार मेसिनले कपडा काट्छ र सिलाइका निम्ति ठिक्क पार्छ। लुगा सिउन तीन दर्जनभन्दा बढी आधुनिक सिलाइ मेसिन छन्।
यी मेसिन चलाउनेहरू अधिकांश गैंडाकोट क्षेत्रका बासिन्दा हुन्। उनीहरूमध्ये ८० प्रतिशत महिला छन्। तीन जना अपांगता भएकाहरू पनि छन्, दुई जना बोल्न नसक्ने, एक जना सुन्न नसक्ने। कर्मचारीहरू प्रायःले यहीँ आएर काम सिकेको सन्तोष बताउँछन्।
'हामीकहाँ महिनामा २० हजारदेखि ९० हजार रूपैयाँसम्म कमाउने कर्मचारी हुनुहुन्छ,' उनले भने, 'कति जना यसअघि घरायसी वा ज्यालादारी काम मात्रै गर्नुहुन्थ्यो। सानोतिनो काम पनि नपाएकाले कति जना बिदेसिनुपर्छ। हामीले नियमित आम्दानी हुने गरी यति भए पनि रोजगारी सिर्जना गरेका छौं, खुसी लाग्छ।'
सन्तोषका अनुसार कम्प्युटरमा डिजाइन गरेर मेसिनमार्फत कपडा काट्ने प्रविधि नेपालमा केही कपडा कारखानामा मात्रै छ। यो काम धेरैले जानेका पनि छैनन्। त्यसैले उनले एक जना भारतीय कर्मचारी राखेका छन्। फेसन डिजाइनिङ पढेका नेपालीलाई यो काम सिकाउन लागेको उनले बताए।
उद्यम–व्यवसायमा धेरै सम्भावनासँगै समस्या पनि आउँछन्।


सन्तोषलाई सबभन्दा बढी दुःख विद्युत काटिने र कम भोल्टेज आउने समस्याले दिएको छ। काम गर्दागर्दै फ्याट्ट बत्ती जाने समस्याले आजित बनाएको गुनासो उनले गरे।
'कम भोल्टेजको समस्या हल गर्न चीनबाट स्टेबलाइजर मगाएको थिएँ। त्यो पनि सीमापारि आइपुग्दा बाढीले (हालसालै रसुवा नाकामा आएको) पुल नै बगाइदियो,' सन्तोषले भने, 'पोहोर पनि भिरबाट ढुंगा खसेर कपडा ल्याएको गाडी बिग्रिएको थियो। यस्ता समस्या पनि आइरहन्छन्।'
चिनियाँ सामान र मेसिन प्रयोग गर्दा भाषाको समस्याले पनि बेला बेला अप्ठ्यारो परेको उनको अनुभव छ। मेसिनहरू चिनियाँ भाषामा सेटिङ गरिएकाले सुरूमा सिक्न गाह्रो हुन्छ। एउटा मेसिन त उनीहरूले चलाउन नजानेर महिनौंदेखि थन्क्याएका छन्।
'काम कम हुने समयमा ध्यान दिऊँला भनेर बसेको छु,' उनले भने।
यो कारखानालाई एक गन्तव्यमा पुर्याएर स्वास्थ्य क्षेत्र सम्बन्धी व्यवसाय गर्ने सन्तोषको लक्ष्य छ।
उनले चितवन मेडिकल कलेजमा पढ्दै गर्दा साथीहरूसँग मिलेर 'मेडिकस' नामको मोबाइल एप बनाएका थिए। त्यो एप डाक्टरी पढ्ने विश्वभरका विद्यार्थीका लागि सहयोगी बनेको उनले बताए।
'व्यवसायका आइडिया छन्, केही त पक्कै गर्छु,' सन्तोषले भने, 'पहिले त यो कपडा व्यवसायलाई नै सफल बनाउन लागि पर्छु।'
