कुखुराको अण्डा उत्पादन गर्ने किसान ले लागत मूल्य पाउन थालेका छन्। उत्पादन गरेको अण्डाले लागत मूल्यसमेत नपाएपछि सयौं कुखुरापालक किसान पेशाबाट विस्थापित भएका थिए।
गत साउन ६ गतेदेखि किसानहरूले लागत मूल्य पाउन थालेको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। संघले साउन ६ गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय २५ रुपैयाँ तोकेको थियो। भदौ १२ गतेदेखि प्रतिक्रेट मूल्य ५ सय ४५ रुपैयाँ पुगेको छ। बजारमा अहिले अण्डाको मूल्य प्रतिगोटा २३ रुपैयाँ छ। किसानले प्रतिगोटा १८ रुपैयाँ पाउन थालेका छन्।
अध्यक्ष पोखरेलकाअनुसार अहिले अण्डाको लागत मूल्य १६ रुपैयाँ ६५ पैशा छ। असारअघि किसानहरूले अण्डा प्रतिगोटा १६ रुपैयाँमा बिक्री गर्थे। २०८१ सालमा अण्डाले करिब डेढ महिनामात्रै लागत मूल्य पाएको थियो। त्यसपछि फेरि मूल्य घट्दै आएको थियो।
‘अण्डा उत्पादक किसानहरूले लागत मूल्य नपाएको वर्षौं भएको थियो। गत वर्षको डेढ महिनाबाहेक त्यसअघिका धेरै वर्ष अण्डाले लागत मूल्य पाएन। सबै सामानको मूल्य बढ्दा अण्डाको मूल्य बढ्न सकेको थिएन। साउनदेखि किसानहरूले उत्पादन गर्दाको लागत मूल्य पाउन थाल्नुभएको छ,’ संघका अध्यक्ष पोखरेलले भने, ‘यसले व्यवसायमा आशा पलाएको छ।’
कोरोना महामारीपछि पोल्ट्री व्यवसाय धरासयी बन्दै आएको पोखरेलले बताए। त्यसअघि नेपालमा करिब ९ सय किसानले अण्डा उत्पादन गर्थे। अहिले बढीमा १५० जना किसानलेमात्रै अण्डा उत्पादन गर्ने गरेका छन्।
विगतमा दैनिक ५० लाख वटासम्म अण्डा उत्पादन हुने गरेकोमा अहिले करिब २६ लाख वटामात्रै उत्पादन हुने गरेको पोखरेल बताउँछन्।
‘चाडपर्वको सिजन सुरू भएको छ। बजारमा अण्डाको माग बढ्ने समय हो यो। अण्डाको उत्पादन भने निरन्तर घटिरहेको छ,’ पोखरेलले भने, ‘मागभन्दा उत्पादन कम भएपछि अण्डाको मूल्य बढ्न थाल्यो। किसानले उत्पादनको लागत मूल्य पाउन थाले।’
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोरोना महामारी, आर्थिक मन्दीलगायतका कारणले अण्डा र मासुको बजार धरासयी बनेको बताए। लागत मूल्य नपाएर किसानहरू विस्थापित हुँदै गएको अवस्थामा अण्डाले लागत मूल्य पाउँदा किसानहरू उत्साहित बनेको उनले बताए।
‘दानाको कच्चा पदार्थ, औषधिको मूल्य निरन्तर बढिरहने, कामदारको ज्याला, खोरको भाडा, कार्टुन, क्रेटजस्ता सामग्रीको मूल्य पनि बढिरहने तर अण्डा र मासुको मूल्य नबढ्ने हुँदा समग्र व्यवसाय नै धरासयी बनेको थियो,’ लामिछानेले भने, ‘कतिपयका सम्पत्ती नै लिलाम भए। धेरैले बैंकको व्याज तिर्न नसकेर व्यवसाय छाडे।’ उनी अण्डाले राम्रो मूल्य पाउन थाले पोल्ट्री क्षेत्रमा फेरि नयाँ लगानी आउने वातावरण बन्ने बताउँछन्।
नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेल लागत मूल्य नपाउँदा अधिकांश साना किसानहरू विस्थापित भएको बताउँछन्। चल्लाको उत्पादन पनि विगतमा भन्दा आधाले घटेको उनले बताए। ठूलो लगानी गरेका फर्महरू जेनतेन टिकेका कारण अहिले पनि उत्पादन सन्तोषजनक रहेको उनी बताउँछन्।
‘नेपालमा अहिले ५० हजारदेखि ५ लाख वटा कुखुरा पाल्ने किसानको संख्या ५० जति छ। आधाभन्दा बढी किसान बैंकको कालोसूची, लिलाम प्रक्रिया र चेक बाउन्समा परेका छन् । साना किसानले थप आँट गरेर व्यवसाय गर्न सकेका छैनन्,’ कँडेलले भने, ‘व्यवसायलाई टिकाउन कम्तीमा लागत मूल्य पाउने अवस्था हुनुपर्छ।’
उनले व्यवसायमा आधुनिक प्रविधिको प्रयोग गर्दा, कच्चा पदार्थको मूल्यमा बृद्धि हुँदा उत्पादनको पनि लागत मूल्य बढ्दै गएको बताए। ‘देशमा अहिले महँगी जुन तरिकाले बढेको छ त्यसको तुलनामा अण्डाको बढेको मूल्य नगन्य छ। थोरै मूल्य बढ्दा किसानको हौसला बढेको छ,’ उनले भने, ‘धेरै किसानहरू विस्थापित भइसकेकाले बाँकी रहेकालाई टिकाउन उत्पादनको बजार सुनिश्चित गर्न सरकारी निकायको सहयोग आवश्यक पर्छ।’
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष पोखरेल सरकारी निकायबाट पर्याप्त सहयोग नपाउँदा पोल्ट्री व्यवसायले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताउँछन्। ‘आत्मनिर्भर पोल्ट्री’ चुनावी एजेण्डामा मात्र सीमित बनिरहेको उनी बताउँछन्।
‘किसानहरूले बल्ल बल्ल अण्डाको लागत मूल्य पाएका छन्। राम्ररी सास फेर्न पाएका छन्। यो बेलामा व्यवसायीले उपभोक्तालाई मर्का पर्ने गरी काट्रेलिङ् गरे भनेर आरोप लगाइँदैछ। किसानले लागतभन्दा १–२ रुपैयाँ बढी मूल्य पाउँदा अनावश्यक आलोचना भइरहेको छ,’ पोखरेल भन्छन्, ‘यस्ता कुराले बाँकी रहेका किसान पनि विस्थापित हुन्छन्। पोल्ट्री व्यवसाय पूर्णरुपमा बन्द हुने परिस्थिति बन्न सक्छ।’
संघकाअनुसार नेपालमा लेयर्स कुखुरापालन व्यवसायमा करिब ३० अर्ब लगानी छ।