तिहार नजिकिएसँगै राजधानीमा झिलिमिली बत्तीको व्यवसाय बढेको छ। विशेषतः यतिबेला महाबौद्ध क्षेत्रलाई व्यापारीहरुले दुलहीझैँ सिँगारेका छन्।
दिउँसैदेखि झिलिमिली बत्ती बालेर व्यपारीले ग्राहकलाई आकर्षित गर्ने गरेका छन्। अझ रातको समयमा झिलिमिली बत्तीकै कारण यहाँको दृष्य निकै रमाइलो देखिन्छ।
यस्ता विद्युतीय झिलिमिली बत्ती अधिकाँश चीनबाट आउने गर्दछ। बजारमा विभिन्न थरीका बत्ती भएपनि ‘एलइडी १००’ धेरै बिक्ने गरेको महाबौद्धका ब्यापारी कृष्ण रेग्मीको अनुभव छ। पोहोरको तुलनामा यसपालि बत्तीको मूल्य नबढेको उनले बताए।
‘बत्तीको कन्टेनरहरु राजधानी आउने क्रम जारी छ, सबै आइसकेपछि अझै मूल्य घट्न पनि सक्छ’ उनले भने। यस्ता झिलिमिली बत्तीको ब्यापार गर्नेहरु यसलाई ‘रिस्की बिजनेस’ पनि भन्ने गरेका छन्। यस्ता बत्तीहरु टुटफूट हुन सक्ने र तिहारमा मात्र प्रयोग हुने भएकोले त्यसअगावै बेच्नु पर्ने वाध्यताले रिस्की भएको उनीहरुको भनाइ छ।
एक पटक यस्ता बत्ती किनिसकेपछि अर्को वर्ष पनि प्रयोग गर्न सकिन्छ। सुरक्षित तवरले यसलाई राख्ने हो भने धेरै वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ। ‘तिहारमा बत्ती कटाउन सकिएन भने त्यो सामान बेच्न फेरी १ वर्ष पर्खनु पर्छ, एक वर्षसम्म राख्दा टुटफूट हुन पनि सक्छ’ रेग्मीले भने।
महाबौद्धकै फ्लावर हाउसका सञ्चालक निलेन खड्गीले पछिल्ला वर्षहरुमा तिहारमा झिलिमिली बत्तीहरु तुलनात्मक रुपमा कम बिक्री हुने गरेको बताए। उनले भने ‘एक पटक किनेपछि केही वर्ष चल्ने भएर पनि होला अचेल तिहारमा झिलिमिली बत्तिको बिक्री बढ्न सकेको छैन।’
सिंगल तारमा साना बल्बजडित बत्तीको प्रतिमिटर ८० रुपैयाँ देखि चार सय रुपैयाँसम्म पर्ने गर्दछ। तिहारमा बिशेषतः यस्तो बत्ती बिक्री हुने गरेको छ। पछिल्ला दिनमा विभिन्न पार्टी, विवाह र समारोहमा समेत यस खालका बत्तीहरु बिक्री हुने गरेको छ। विवाह तथा पार्टीको बेला यस्ता बत्तीले घर नै ढाकेर सुन्दर देखाउने गरेको पाइन्छ।
बजारमा बत्तीको प्रकार, तारको लम्बाई, गुणस्तर, बिशेषता, उपलब्धता आदीको आधारमा मूल्य फरक फरक पाइन्छ। बजारमा उपलब्ध केही बत्तीको मूल्य यस्तो छः
एलइडी लाइट
एलइडी बत्ती एकै प्रकारको हुँदैन। लामो, छोटो, दियो, नेट, आकार लगायत अनेकौं प्रकारका एलइडी झिलिमिली बत्ती उपलब्ध छन्। यसको मूल्य सामान्यतया २ सय देखि ४ सय रुपैँयासम्म पर्दछ। प्रतिपिस ५ मिटर लम्बाईको मूल्य २ सय तथा १० मिटरको मूल्य ४ सय रुपैयाँ पर्दछ।
पाइप लाईट
पाइप लाइट टिकाउ लाइट मध्यमा गनिन्छ। यो लाइटमा पारदर्शी पाइप हुन्छ र त्यसभित्र बत्ती हुन्छ। यस्ता बत्तीको मूल्य लम्बाई अनुसार प्रति ५ मिटरको ५ सय देखि १ हजार रुपैयाँसम्म पर्दछ।
डिस्को लाइट
डिस्को लाइटको आकर्षण पनि बिस्तारै बढ्दो क्रममा रहेको ब्यापारीहरु बताउँछन्। यो लाईट एक ठाउँमा राखेपछि चरैतिर उज्यालो फाल्छ। यसको मूल्य ७ सय देखि १५ सयसम्म पर्छ।
लेजर लाइट
लेजर लाइटको लोकप्रियता पनि बढ्दो क्रममा छ। यसलाई पनि उचाइमा राखेर बाल्ने हो। यसले निकै टाढासम्म बिभिन्न आकृतिका, बुट्टाका प्रतिबिम्व जमिनमा पार्छ। कतिपयले यसलाई जमिनमा राखेर घरको भित्तामा झिलिमिली बनाउँछन्।
एलइडी फ्रेम
एलइडी फ्रेम तिहारमा मात्र नभई अन्य समयमा पनि प्रयोगमा आउने गर्दछ। धेरैले यही फ्रेमको माध्यमबाट आफ्नो पसलको नाम लेखेर टाँग्ने गरेका छन्। त्यस्तै तिहारमा शुभ दिपावली लेखेको, भगवानका अकृति भएको फ्रेमहरु प्रयोगमा आउने गरेका छन्। यस्ता एलइडी फ्रेमलाई ६ सय देखि ८ सयसम्म पर्ने ब्यापारीहरु बताउँछन्।
लोटस लाइट
लोटस लाइट प्रचलनमा आउन थालेको केही वर्ष मात्र भयो। यो लाइट बिशेषत घर भित्र टेबलमा तथा पुजा कोठामा राख्ने गरिन्छ। यसको मूल्य साइजअनुसार ५ सय देखि ७ सयसम्म पर्छ।