केही वर्षयता घरजग्गा कारोबार सुस्ताएको छ। सरकारले केही समस्या समाधान गर्दै लगे पनि सकारात्मक प्रभाव पर्न सकेको थिएन। राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिले भने व्यवसायीमा आशा पलाएको छ।
खासगरी मौद्रिक नीतिमा घरजग्गा व्यवसायबारे गरिएका तीन व्यवस्थाले यो क्षेत्र सुधार हुने आशा पलाएको नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष भेषराज लोहनीले बताए।
पहिलो, निजी तथा आवासीय घर निर्माण गर्न तीन करोड रूपैयाँसम्म कर्जा पाइने।
यो व्यवस्थासँगै अब व्यक्तिले निजी तथा आवसीय घर निर्माण तथा खरिदका लागि बैंकबाट तीन करोड रूपैयाँसम्म ऋण पाउने भएका छन्।
'यो एकदमै सकारात्मक सन्देश हो,' उनले भने, 'यसले व्यक्तिलाई घर किन्न आँट दिन्छ।'
उनका अनुसार अहिले यस्तो घर निर्माणमा २ करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ।
दोस्रो, मौद्रिक नीतिमा 'लोन टू भ्यालू रेसियो' अर्थात् धितो मूल्यको तुलनामा कर्जा अनुपात पनि बढाइएको छ।
यसअनुसार पहिलो घर किन्ने व्यक्तिले आफ्नो धितो मूल्यांकनको ८० प्रतिशत रकम कर्जा पाउँछन्। अन्यका हकमा यस्तो कर्जा धितोको ७० प्रतिशत पाउने व्यवस्था गरिएको छ।
यसअघि पहिलोपटक घर किन्नेलाई ७० प्रतिशत र अन्यलाई ५० प्रतिशत मात्र कर्जा दिने व्यवस्था थियो।
मौद्रिक नीतिले धितो मूल्यको तुलनामा कर्जा अनुपात बढाउँदा घरजग्गाको कारोबारमा सुधार ल्याउन सहयोग पुग्ने लोहनीको भनाइ छ।
तेस्रो, कर्जाको भाखा सार्न पाउने।
कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म/कम्पनीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सहयोग गर्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ। यसअनुसार अब समस्यामा परेका ऋणीले कर्जाको भाखा सार्न पाउँछन्।
'अहिले धेरैजसो घरजग्गा व्यवसायीलाई बैंकको ऋण तिर्न समस्या छ,' उनले भने, 'त्यस्ता व्यवसायीलाई यसले राहत दिन्छ।'
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले पनि मौद्रिक नीति घरजग्गा व्यवसायीले चाहेजस्तै आएको बताए।
'हामीले चाहजस्तै मौद्रिक नीति आएको छ,' उनले भने, 'हामी खुसी छौं।'
मौद्रिक नीतिमा गरिएको व्यवस्थाले घरजग्गा व्यवसाय चलायमान हुने र निर्माणसम्बन्धी व्यवसायलाई पनि अप्रत्यक्ष फाइदा पुग्ने उनले बताए।
उनका अनुसार घरजग्गा व्यवसाय चलायमान हुँदा सिमेन्ट, डन्डी, इँटा लगायत उद्योग सञ्चालन हुनुका साथै त्यसबाट नयाँ रोजगारी सिर्जना हुनेछ।
घरजग्गा व्यवसायी विनोद सुवेदी भने मौद्रिक नीतिले घरजग्गा व्यवसायीलाई सकारात्मक सन्देश दिए पनि यसको प्रभाव देखिन केही समय लाग्ने बताउँछन्।
उनका अनुसार मंसिरदेखि मात्र घरजग्गा व्यवसायमा मौद्रिक नीतिको प्रभाव देखिन थाल्नेछ।
'साउन–भदौ घरजग्गा व्यवसायको सिजन होइन। त्यसपछि चाडपर्व आउँछन्,' उनले भने, 'अब छठपछि मात्र बजार बढ्छ होला।'
मौद्रिक नीतिले सेयर बजारका सम्बन्धमा पनि राम्रो व्यवस्था गरेकाले यसबाट अप्रत्यक्ष रूपमा घरजग्गा व्यवसायलाई फाइदा पुग्ने उनले बताए।
'सेयर बजारका लागि पनि लचिलो व्यवस्था गरिएको छ,' उनले भने, 'सेयर बजारबाट आएको नाफा सामान्यतया घरजग्गामै लगानी हुन्छ। यो पनि हाम्रा लागि सकारात्मक कुरा हो।'