पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा–५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि अहिले धमाधम फलाम खानी उत्खननका लागि प्रक्रिया अघि बढाइएको छ।
पाँच वर्षअघि नै त्यहाँ १० किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि सरकारले फलाम उत्खननका लागि प्रक्रिया अगाडि बढाएको हो।
सरकारले ०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी कम्पनी गठन गरेको थियो। मुलुकका उद्योगहरूलाई आवश्यक पर्ने फलाम स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सरकारले कम्पनी स्थापना गरेको हो।
धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट कार्य अन्तिम चरणमा रहेको धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनक बहादुर चन्दले जानकारी दिए।
‘परामर्शदाता छनोटका लागि मूल्यांकन कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘प्राविधिक मूल्यांकन एक हप्तामै सक्छौं। आर्थिकको लागि केही समय लाग्छ।'
उनका अनुसार आर्थिक मूल्यांकनका लागि प्राविधिक प्रस्तावपछि सार्वजनिक खरिद ऐन बमोजिम १५ दिनको समयावधि तोकी सम्बन्धित पक्षहरुको रोहवरमा आर्थिक प्रस्तावको मूल्यांकन कार्य सम्पन्न गरिनेछ।
धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि पाँच वटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेश गरेका थिए।
प्रस्ताव पेस गर्नेमा बेलायत, क्यानडा, अष्ट्रिया, चीन र भारतका गरी पाँच वटा कम्पनी छन्।
‘पाँच कम्पनीमध्येबाट छनौट हुन सफल एक अन्तर्राष्ट्रिय कम्पनीले उक्त खानीको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ,’ उनले भने।
सम्भाव्यता अध्ययन प्रतिवेदनबाट सम्भाव्य देखिएमा डिपिआर कार्यअगाडि बढाई सो प्रतिवेदनअनुसार उत्खनन, प्रशोधन र उत्पादन कार्यका लागि आवश्यक प्रक्रिया थालिने उनले बताए।
यसअघि हुप्सेकोटको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले चीनको सिचूआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो।
चिनियाँ प्रयोगशालाले यो खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएको थियो।
फलाम खानीको भण्डार परिमाण यकिन गर्न खानी क्षेत्रको पुनः नक्सांकन तथा अध्ययन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.चन्दले जानकारी दिए।
उनका अनुसार धौवादी फलाम कम्पनीका भूगर्भविदको संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करिब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको छ। यसअघि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनबाट दस करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो।
फलाम खानीको थप परिमाणको जानकारीले कम्पनी थप उत्साहित भएको उनको भनाइ छ।
चन्दका अनुसार खानीसम्म बिजुली उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणको आयोजनासँग छलफल भइरहेको छ। विद्युतका लागि धौवादी विद्युत प्रसारण आयोजना समेत गठन गरिएको छ।
‘दुई सय २० केभिए प्रसारण लाइनबाट विद्युतको काम अघि बढेको छ,’ उनले भने, ‘हामीले करिब एक सय २५ मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरेका छौं।’
कारखानासम्म बिजुली पुर्याउँदा त्यसमा पर्ने वातावरणीय प्रभाव मूल्यांकन तथा यसको स्वीकृति र माइनिङ सेस्मिक तयार भएपछि व्यावसायिक उत्पादनका लागि आवश्यक कार्य अगाडि बढाउने उनले जानकारी दिए।
उनका अनुसार पहाडी क्षेत्रमा फलाम खानीसम्म पुग्ने सडकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ। जसमध्ये भौतिक २७ प्रतिशत र वित्तिय ३५ प्रतिशत कार्य सम्पन्न भएको।
अहिले फलाम छिमेकी मुलुक भारतबाट आयात भइरहेको छ। यहीँ फलाम उत्पादनको भए २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने डा. चन्द बताउँछन्।
पूर्व-पश्चिम राजमार्गको डण्डा बजारबाट २७ किलोमिटर उत्तरमा धौवादी फलाम खानी छ। खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाटै फलाम खानीको अध्ययन गर्दै आएको थियो।
सरकारले स्वदेशमै फलाम उत्पादनका लागि धौवादी फलाम कम्पनीको स्थापना गरी पूर्वपश्चिम राजमार्गको नवलपरासी (सुस्ता पूर्व) को कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिकास्थित धौवादी–पोखरी र दुर्लुंगा क्षेत्रमा अध्ययन अनुसन्धान कार्य आर्थिक वर्ष ०७६/०७७ देखि गर्दै आइरहेको छ।