चोभार सुख्खा बन्दरगाह पूर्ण रूपमा नचलेपछि आन्तरिक प्रयोजनमा ल्याइने भएको छ। पूर्वाधार खेर जान नदिन आन्तरिक प्रयोजनमा ल्याउन लागिएको हो।
बन्दरगाहलाई दुई भागमा विभाजन गरेर एकतर्फ आन्तरिक र अर्कोतर्फ आयात–निर्यात क्षेत्र बनाउन लागिएको इन्टर मोडल यातायात विकास समितिका निर्देशक आशिष गजुरेलले बताए।
'पूर्वाधार बनिसकेपछि प्रयोगमा ल्याउन पर्छ,' उनले भने, 'अहिले बन्दरगाहलाई विभाजन गर्ने काम भइरहेको छ।'
उनका अनुसार हाल बन्दरगाहको बीच भागबाट पर्खाल लगाउने काम भइरहेको छ।
जुनसुकै संरचना बन्ने बित्तिकै प्रयोगमा आउन समय लाग्ने भएकाले यसलाई सकारात्मक रूपमा सोच्नु पर्ने उनले बताए।
'आन्तरिक प्रयोजनमा ल्याउदा संरक्षण पनि हुन्छ, प्रयोग पनि हुन्छ,' उनले भने।
संरचना तयार भएपछि काठमाडौं उपत्यकामा आउने मालबाहक ट्रक पार्किङका लागि प्रयोग गरिने छ। संरचना तयार हुन दुईदेखि तीन महिना लाग्ने समितिका निर्देशक गजुरेलले जानकारी दिए।
'तीन सय ट्रक अटाउने गरी बनाउँदै छौं,' उनले भने।
उनका अनुसार मालबाहक ट्रक पार्किङका लागि बन्दरगाह जाने व्यवस्था गर्न काठमाडौं महानगरपालिकासँग छलफल भइरहेको छ।
'हामीले महानगरको समन्वयमै बन्दरगाहमा पार्किङ बनाउन लागेका हौं,' उनले भने, 'अब मालबाहक ट्रकको व्यवस्थापनका लागि छलफल भइरहेको छ।'
मालबाहक ट्रकलाई पार्किङ सुविधा भए यातायात व्यवस्थापनमा सघाउन पुर्याउने छ। बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा आएपछि भने ट्रक पार्किङ हट्नेछ।
गत चैत अन्तिम सातादेखि बन्दरगाह सञ्चालनमा आएको हो। सञ्चालनमा आएदेखि हालसम्म १५ वटा ट्रक बन्दरगाहमा भित्रिएको छ भने, एक ट्रक सामान निर्यात भएको छ।
काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह बनाइएको हो। तर यहाँ उद्योगी व्यवसायी आकर्षित हुन सकेका छैनन्।
दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ। त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ।
समितिका निर्देशक गजुरेलका अनुसार चार वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड निर्माण गरिएको छ।
बन्दरगाहमा सवारी साधन प्रवेशका लागि ठूला तीन वटा गेट बनाइएको छ। साथै, बन्दरगाह क्षेत्र बाहिरको सडकसमेत सुधार गरिएको छ।
काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना कम छ। कार्यकारी निर्देशक गजुरेल पनि बन्दरगाह सञ्चालनका लागि फास्ट ट्रयाकको निर्माण महत्वपूर्ण मान्छन्।
'फास्ट ट्रयाक निर्माण सम्पन्न भए तीनदेखि चार घण्टामा वीरगन्जबाट काठमाडौं कन्टेनर आउन सक्छन्,' गजुरेल भन्छन्, 'व्यवसायीलाई त्यसले धेरै सहयोग पुग्छ।'
काठमाडौं-तराई फास्ट ट्र्याकको प्रस्थान बिन्दु खोकनाबाट चोभारस्थित बन्दरगाहमा जोड्ने गरी सडक निर्माण हुँदैछ।
परियोजनाले बागमती नदीमा पुल बनाएर बन्दरगाह जोड्ने तयारी गरिरहेको छ। फास्ट ट्रयाक बन्न भने अझै तीन वर्षभन्दा धेरै समय लाग्ने देखिन्छ।
विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो।