नेपालबाट अमेरिकामा सामान पठाउँदा भन्सार शुल्क नलाग्ने सुविधा दिइएको ६ वर्ष पुग्यो।
शून्य भन्सारमा नेपालबाट ७७ वस्तु निर्यात गर्ने सुविधा अमेरिकी सरकारले दिएको छ। तर, हामीले यसबाट खासै लाभ लिन सकेका छैनौं।
यी ६ वर्षमा अमेरिकाले तोकेका ७७ वस्तु जम्मा पाँच अर्बको पठाइएको छ।
जबकी नेपालबाट अमेरिकामा सबै वस्तुको कुल निर्यात ६७ अर्बभन्दा बढीको भइसकेको छ।
मुलुकको असन्तुलित व्यापारमा अमेरिका लगायतका देशले दिएको यस्तो सुविधाबाट नेपाली अर्थतन्त्रले लाभ उठाउन सकेको छैन।
गत आर्थिक वर्षमा १३ खर्ब ९८ अर्ब रूपैयाँ बराबरको व्यापार घाटा छ। सोही वर्ष अमेरिकासँग पनि यस्तो घाटा ३२ अर्ब रूपैयाँको छ।
अमेरिकाले नेपालमा २०७२ सालमा भूकम्प गएलगत्तै ७७ वस्तुको निर्यातमा शून्य भन्सारको नीति लिएको थियो।
नेपाल अल्पविकसित राष्ट्रका रूपमा रहेको र सन् २०१४ मा नेपालको प्रतिव्यक्ति वार्षिक आम्दानी सात सय ३० डलर मात्र रहेको भन्दै अमेरिका यस्तो सुविधा दिन तयार भएको थियो।
अमेरिकाले शून्य भन्सारमा दिने भनिएका ७७ वस्तुमा कार्पेट, ह्याट, रबर ब्यान्ड लगायत, सल, स्कार्फ तथा यात्रामा प्रयोग गरिने सामाग्रीका प्रकार पर्दछन्।
अमेरिकाले शून्य भन्सारमा आयात गर्न दिने भनिएका वस्तु उत्पादनमा उद्यमीले चासो नदेखाएको पूर्व वाणिज्य सचिव चन्द्र कुमार घिमिरे बताउँछन्।
'पहिले आफूले जति उत्पादन गर्थे त्यसलाई बढाएनन्,' उनले भने, 'त्यो भएर सुविधाको लाभ लिन नसकेका हौं।'
सरकारले उत्पादकलाई उत्पादनमा आकर्षित गर्न विभिन्न प्याकेज ल्याउने हो भने निर्यात बढाउन सकिने उनी बताउँछन्।
उनका अनुसार सरकारले त्यस्ता वस्तु निर्यातमा उत्पादकलाई नगद अनुदान, कच्चा पदार्थ आयातमा भन्सार छुट, सहुलियत ब्याजमा कर्जा सुविधा तथा वस्तुहरूको उत्पादनका लागि तालिम दिने हो भने अझै पनि निर्यात बढाउन सकिने छ।
'अझै पनि हामीसँग चार वर्ष बाँकी छ। सरकारले निर्यात गर्न आकर्षण गराउने कार्यक्रम ल्याउने हो भने पनि थोरै लाभ लिन सकिन्छ,' उनले भने।
यस्तो सुविधाको लाभ लिन उत्पादकहरूलाई निर्यात सहजिकरण तथा तालिम लगायतका कार्यक्रम गरिरहेको नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनाल बताउँछन्।
'सुरूका केही वर्ष वस्तु पहिचान गर्न नै समय लाग्यो,' उनले भने, 'त्यसपछि हामीले निर्यातका लागि सहजीकरण गरिरहेका छौं।'
बाँकी रहेको समयमा मात्रै पनि यस्ता वस्तुको उत्पादन बढाउने हो भने निर्यात दोब्बरले बढ्ने उनको भनाइ छ।
नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक केलाउँदा यो सुविधा पाएको सुरूका चार वर्ष ७० देखि ८० करोड (अधिकतम ७४ लाख डलर) को दरमा निर्यात भइरहेको भएतापनि कोभिडको कारण सन् २०२० मा भने ५३ करोड (५१ लाख डलर) को हाराहारीमा मात्रै यस्ता सामान अमेरिकामा निर्यात भएको छ।
गत आर्थिक वर्ष २०७७/७८ मा निर्यातको दर बढेर करिब ९५ करोड (९३ लाख डलर) को सामान गएको छ।
अमेरिकाले विश्वका विभिन्न देशबाट गर्ने आयातमा नेपालबाट निर्यात हुने शून्य भन्सारका यस्ता वस्तुको हिस्सा बढ्न सकेको छैन।
यो सुविधा पाएको सुरूको वर्षमा यस्तो हिस्सा ०.०७ रहेकोमा गत वर्षसम्म पनि यतिमै सीमित छ।
सन् २०१५ मा भूकम्प गएपछि अमेरिकाको संसदबाट छुट्टै कानुन पास गरेर १० वर्षका लागि दिएको यो सुविधा २०८२ साल पुस १६ गते सकिँदैछ।
नेपालले यस्तो सुविधाको लाभ लिने अवधि सकिँदै लाग्दा यस्ता वस्तुको उत्पादन बढ्न सकेको छैन भने सरकारी निकायले पनि निर्यात बढाउने कुनै रणनीतिक योजना बनाएको देखिँदैन।