सरकारले निर्यात सम्भावना देखेर पाँच वर्षअघि यस्तो सूचीमा राखेको नौ वटा वस्तुको निर्यात आसातित रूपमा बढ्न सकेको छैन।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार पाँच आर्थिक वर्ष (२०७४/७५ देखि २०७८/७९)मा यस्ता वस्तुको निर्यात जम्मा एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको भएको छ।
सरकारले २०७३ सालमा बनाएको नेपाल व्यापार एकीकृत रणनीतिले अलैंची, अदुवा, चिया, जडिबुटी, धागो, छालाका सामग्री, जुत्ता, पश्मिना र कार्पेटको निर्यात सम्भावना देखेको थियो।
यस्तो वस्तु निर्यातमा सरकारले तीनदेखि पाँच प्रतिशत अनुदान दिँदै आएको छ। साथै यस्ता वस्तुको मूल्य अभिवृद्धि ३० देखि ५० प्रतिशत हुनुपर्ने निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ ले व्यवस्था गरेको छ।
२०७६ मा कोभिड प्रभावपछि यी वस्तुको निर्यात वृद्धिदर ऋणात्मक भएसँगै ओरोलो लाग्दै गएको छ।
गत आर्थिक वर्ष २०७८/७९ मा यी वस्तुको निर्यात जम्मा ७.४६ ले बढेर ४२ अर्ब पुगेको छ। तर, अलैंची, चिया, जडिबुटीको निर्यात ९ देखि ३१ प्रशितसम्म घटेको छ।
त्यस्तै, अदुवा, धागो र कार्पेटको निर्यात १९ देखि ४२ प्रतिशतले बढेको छ। छाला, जुत्ता र पश्मिनाको निर्यात भने नगन्य मात्रामा बढेको छ।
अलैंची, चिया तथा जडिबुटीको उत्पादन बढ्न नसकेकाले निर्यात घटेको निर्यात व्यवसायी महासंघ, नेपालका अध्यक्ष राम बहादुर गुरूङले बताए।
'कृषिजन्य उत्पादन संकलन गर्न समस्या छ, उत्पादनका लागि पनि मलजलको व्यवस्था राम्रो छैन,' उनले भने।
कृषिजन्य वस्तुको निर्यातमा बेलाबेला समस्या आउने भएकाले पनि यसको निर्यातमा एक रूपमा छैन।
'हाम्रो सबैभन्दा ठूलो बजार भनेको भारत हो। त्यहाँ बेला बेला निर्यातमा समस्या आइरहेको हुन्छ,' उनले भने, 'त्यसले पनि किसानले उत्पादनमा चासो देखाएका छैनन्।'
कार्पेट, जुत्ता तथा पश्मिना भने अन्तर्राष्ट्रिय बजारको मागको आधारमा निर्यात बढ्ने गर्छ।
अहिले सरकार नेपालबाट निर्यात संभावना भएका वस्तु तथा सेवा सम्बन्धी रणनीति (एनटिआइएस) पुनरावलोकन गर्ने चरणमा छ।
एनटिआइएस भनेको कायम व्यापार र प्रतिस्पर्धामा देखिने चुनौती सामान गर्नको लागि बनाइएको रणनीति हो।
उक्त रणनीतिमा त्यो मुलुकको निकासीको सम्भावना भएको वस्तु तथा सेवाहरूलाई समावेश गरिएको हुन्छ।
यस्तो रणनीति दुई वा दुईभन्दा बढी मुलुक बिचको व्यापारमा देखापर्ने समस्या समाधानको लागि समेत सहायक हुन्छ।
पूर्वअर्थ सचिवको रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूले यसको पुनरावलोकन गरिरहेका छन्।
संभवतः यो पुनरावलोकनसँगै जारी हुने रणनीतिमा मुलुकको तुलनात्मक प्रतिस्पर्धी क्षमताका अन्य केही वस्तु समेत समावेश हुने बताइएको छ।
नेपाल व्यापार एकीकृत रणनीतिअन्तर्गत निर्यात भएका वस्तु (रकम अर्बमा):