काठमाडौं–केरूङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आएको छ।
चीनबाट मंगलबार ६ सदस्यीय विज्ञ प्राविधिक टोली काठमाडौं आएको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए।
चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू मंगलबार काठमाडौं आएका हुन्।
प्रवक्ता चित्रकारका अनुसार टोलीले ४० देखि ४२ महिनाभित्रमा विस्तृत सम्भाव्यता अध्ययन सक्ने खाका तय भएको छ।
यसअघि २०७८ मागमा चीन पक्षले भर्चुअल बैठकमार्फत् अध्ययनका लागि ४२ महिना लाग्ने जानकारी गराएको थियो।
'अब टोलीले अध्ययन थाल्छ। चीन सरकारकै अनुदान सहयोगमा अध्ययन सक्ने हो,' उनले भने।
अध्ययन ठ्याक्कै कहिलेदेखि थाल्ने भन्ने यकिन भइनसकेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए।
'टोली आइपुगेको छ। अब अध्ययन त सुरू हुन्छ। तर ठ्याक्कै कहिलेबाट अध्ययन सुरू हुन्छ भन्ने यकिन जानकारी आएको छैन,' उनले भने।
२०७५ असार ६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ रेल छिटै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका थिए।
त्यसपछि २०७५ असार ७ गते नेपाल र चीनबीच केरूङ–काठमाडौंमा इलेक्ट्रिक कार्गो रेल सञ्चालन गर्ने समझदारी भएको थियो।
ओलीको चीन भ्रमणका क्रममा भएको उक्त १० बुँदे समझदारीका ४ बुँदामा रेल समेटिएको छ।
चीनसँग उक्त समझदारी हुने बेला चिनियाँ पक्षले यो रेलमार्गको प्रारम्भिक अध्ययन सकिसकेको थियो।
२०७५ जेठ दोस्रो साता चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारीले एक साता लामो पूर्व सम्भाव्यता अध्ययन गरेका थिए।
उनीहरूले २०७५ भदौ ४ गते पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन नेपाली पक्षलाई दिएका छन्।
त्यसपछि, भौतिक पूर्वाधार मन्त्रालय र चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारीबीच सियान शहरमा रेलमार्गको प्रारम्भिक अध्ययनबारे बैठक समेत भएको थियो।
उक्त बैठकमा चिनियाँ पक्षले सिगात्सेबाट केरूङ आउने चिनियाँ रेललाई काठमाडौं ल्याउन सकिने रिपोर्ट प्रस्तुत गरेको थियो।
पूर्व सम्भाव्यता अध्ययनको रिपोर्टमा ७२.२५ किलोमिटर लामो रेलमार्ग बन्ने उल्लेख छ।
यो रेलमार्ग निर्माणका लागि दुई खर्ब ५७ अर्ब रूपैयाँ लागत लाग्ने पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ। त्यस्तै उक्त प्रतिवेदन अनुसार यो रेलमार्ग निर्माण ९ वर्षमा सकिने उल्लेख गरिएको छ।
त्यो रिपोर्टपछि भने पछिल्लो समय टोली केरूङ–काठमाडौं रेलको विस्तृत अध्ययनका लागि आएको हो। अहिलेसम्म अध्ययनमा भएको सबै खर्च चिनियाँ पक्षले नै ब्यहोरेको विभागका प्रवक्ता चित्रकारले बताए।
२०७५ मै पूर्व सम्भाव्यता अध्ययन सकिएको केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन यतिबेला सकिसक्ने अनुमान गरिएको थियो। तर कोभिड महामारीका कारण लामो समय काम रोकियो।
केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने समझदारीपत्रमा २०७६ असोजमा हस्ताक्षर भएको थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर गरिएको थियो। उक्त समझदारीअनुसार चीनले आफ्नो खर्चमा भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने छ।
त्यतिबेला काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर बनाउने सम्झौता पनि भएको थियो।