राष्ट्रिय गौरवको 'सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना' को सुरुङ हालसम्म दुई हजार १२ मिटर खनिएको छ। सुरूङको कुल लम्बाई १३.३ किलोमिटर छ।
सुरूङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत् खनिएको हो।
गत असोज २८ गतेदेखि टिबिएम मार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको छ।
यो प्रविधिबाट सुरुङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट हुँदैन। काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने आयोजनाले जनाएको छ।
हालसम्म सुरूङ निर्माणमा कुनै समस्या नदेखिएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए।
अहिलेकै अवस्थामा सहज रूपमा काम भइरहने हो भने अबको २० महिनाभित्र सुरूङ ब्रेक थ्रु गर्न सकिने बरालको भनाइ छ।
'निर्माणका लागि सम्झौता भएको झण्डै दुई वर्ष भयो। सम्झौता गरेर खन्नुभन्दा पहिला तयारीका काम भए। सम्झौता अवधि ५१ महिना हो। २४ महिना बितिसकेको छ। यहि रेसियोमा गयो भने २० महिना भित्रमा टनेल निर्माण सक्छौं,' उनले सेतोपाटीसँग भने।
समयमै काम सक्ने गरी काम गरिरहेको दाबी बरालको छ।
आयोजनाको हेडवर्कस निर्माणका लागि भने बल्ल ठेक्का प्रकृया सुरू भएको उनले जनकारी दिए।
यो आयोजनाको मुख्य उद्देश्य प्रदेश–२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्याउनु हो।
तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाई सुविधा पुर्याउने उल्लेख छ। जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ।
यसबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।
गुरुयोजनाअनुसार १३.३ किलोमिटर सुरुङमार्फत् ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्याइने छ।
खुर्कोटबाट पानीलाई सुरुङमार्फत सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ। जसबाटै ३१.७ मेगावाट विद्युत् उत्पादन गरिनेछ।
त्यहाँबाट निस्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ।जसबाट बागमती सिँचाइ आयोजनामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ।
बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पुर्याउने उल्लेख छ।
सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ।
त्यस्तै १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ।
सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो परियोजनाबाट उत्पादन हुने विद्युत वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ।
उत्पादित बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोड्ने योजना छ।
यो आयोजना आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गरेका थिए।