पछिल्लो समय उत्पादक कम्पनीहरूको बजारमा उधारो फस्न थालेको छ। त्यस्तै कच्चा सामान ल्याएर उत्पादन गर्नेदेखि बिक्रीसम्मको अवधि (इन्भेन्ट्री साइकल) मा पनि वृद्धि भएको छ।
योसँगै केही उत्पादकहरूले उधारो दिन कम गरेका छन्। कम्पनीहरूको ऋण भुक्तानी क्षमताको विश्लेषण गर्दै आएका रेटिङ कम्पनीहरूले पछिल्लो दुई महिनामा सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो।
रेटिङ कम्पनी इक्रा नेपाल र केयर रेटिङ नेपालले गरेको दुई महिनायता रेटिङलाई यो समाचारमा आधार लिइएको हो। ठूला ऋणीहरूले ऋण लिँदा अनिवार्य रुपमा यस्तो रेटिङ गर्नुपर्छ।
रेटिङ भएको दुगड स्पाइस एण्ड फुड प्रोडक्ट्सले डिलरहरूलाई स्न्याक्समा १५ देखि ४५ दिन र मसलाहरू भने ३० देखि ६० दिनसम्म उधारोमा दिने गरेको छ। पछिल्लो समय बजारमा पुँजी चलायमान नभएको कारण यो अवधि बढेको छ। कम्पनीले बिक्री मूल्य पाउने औसत अवधि नै बढेर ६१ दिन पुगेको छ।
ग्री ब्याण्डेड एसी लगायतका विद्युतीय समाग्री बिक्री गर्दै आएको की कन्सेप्टले पनि बजारबाट उधारो उठाइरहेको अवधि एक सय ३६ दिनबाट बढेर ४ सय ११ दिन पुगेको छ। कम्पनीको इन्भेन्ट्री साइकल समेत १ सय ८९ दिनबाट बढेर ६ सय २ दिन पुगेको छ।
महालक्ष्मी वायर र केबल इण्डष्ट्रिजको यही लामो उधारो उठ्ने अवधि र उत्पादनदेखि बिक्री अवधि बढिरहेकाले सञ्चालन चक्र नै एक सय ३१ दिनबाट बढेर २३० दिन पुगेको छ। औसत बिक्री रकम उठाउने अवधि एक सय ५६ दिन छ।
अम्बे सिमेन्ट प्रालिको पनि लम्बिँदो उधारो असुली अवधि र इन्भेन्ट्री अवधिको कारण सञ्चालन चक्र १ सय ८३ दिनबाट बढेर २ सय १० पुगेको छ।
घरायसी सजावटको सामान बिक्री गर्दै आएको हनुमन्ते पोली इण्डष्ट्रिजले उधारो अवधि ९० दिन कायम गरेको छ। यो अवधि अझै बढ्ने क्रममै छ। सन् २०२१ मा औसत एक सय २४ दिनमा उठ्ने पैसा अहिले एक सय २९ दिनसम्म लागिरहेको छ।
पाइप, सिट लगायतका वस्तु उत्पादन गर्दै आएको नारायणी स्ट्रिप्स प्रालिको उधारो उठाउने अवधिमा सुधार हुन सकेको छैन। यसका लागि ४७ दिन लागिरहेको छ। इन्भेन्ट्री अवधि एक सय १२ बाट बढेर एक सय २५ दिन पुगेको छ।
बेडरूमका उत्पादनहरू बिक्री गर्दै आएको क्लासिक इण्डष्ट्रिजको पनि यिनै कारणले इन्भेन्ट्री दिन २०३ दिनबाट बढेर २९६ दिन पुग्यो।
बजारमा उधारो फस्न थालेसँगै केहीले भने नगदमै बिक्री गर्न थालेका छन्। श्रीकृष्ण स्टिल र नारायणी स्पात प्रालिले यो नीति अंगीकार गरेका छन्। यिनले नगद लिएर मात्रै बजारमा सामान बढाउन थालेसँगै उनीहरूको पैसा उठ्ने अवधि घटेको छ।
श्रीकृष्ण स्टिलको यसअघि पैसा उठाउन ५८ दिन लाग्ने गरेकोमा यो अवधि हाल ४८ दिनमा सीमित भएको छ।
नारायणी स्पात प्रालिले पनि पहिले ४४ दिनमा पैसा उठाउने गरेकोमा अहिले २२ दिनमा उठाउन थालेको छ।
नगदमै कारोबार गर्न थालेपनि पछिल्लो समय बजारमा उपभोग घटेको कारण यस्ता क्षेत्रको बिक्रीमा समेत कमी आएको छ।
त्यस्तै, यी उद्योगहरू चालु पुँजी कर्जाको दबाबमा समेत रहेका रेटिङ कम्पनीहरूले उल्लेख गरेका छन्। राष्ट्र बैंकले पछिल्लो समय चालु पुँजी कर्जामा कडाइ गरेको छ।
बिक्री मूल्यको अधिकतम २५ प्रतिशतसम्म पाइने व्यवस्था गरेको छ। गत कात्तिकमा राष्ट्र बैंकले ल्याएको यस कर्जा सम्बन्धी मापदण्डले ऋणीहरूलाई दुई वर्षको अवधिमा यो सीमामा कर्जा ल्याउन समय दिएको छ।