अर्थतन्त्रमा रहेको बाह्य दबाब केही महिनादेखि मत्थर भएसँगै आन्तरिक अर्थतन्त्रमा पनि सुधार देखिन थालेको छ।
राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकले यस्तो देखाएको हो।
बैंकहरूको ब्याजदरमा आइरहेको कमी, कर्जा प्रवाह, मूल्य वृद्धिदरमा सुधार, रेमिटेन्समा वृद्धि, पर्यटक आगमनमा सुधार र आयात वृद्धिले आन्तरिक अर्थतन्त्रमा सुधार आइरहेको संकेत गर्छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले भने, 'सबै क्षेत्रमा एकनासले सुधार नदेखिएको होला तर अर्थतन्त्रमा क्रमिक सुधार आउँदै गरेको देखिन्छ।'
महँगीदर
मासिक आधारमा कात्तिकमा महँगीदर २४ महिनायताकै कम छ। कात्तिकमा मासिक आधारमा महँगीदर ५.३८ प्रतिशत छ। वार्षिक औसत महँगीदर भने ७.११ प्रतिशत छ।
महँगीदर कम हुँदै जाँदा यसले मानिसहरूको क्रय शक्तिमा सुधार गर्छ।
रेमिटेन्स
चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिन थालेको छ। यी चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।
यी चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने उच्च दरले कमी आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या २७ प्रतिशतले घटेको हो। गत वर्ष यिनै चार महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८४ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने २ लाख ६ हजारले यस्तो स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारी र अध्ययनमा जानेको संख्या १० लाख हाराहारी थियो। गत वर्ष गएकाहरूले रेमिटेन्स पठाउन थालेकाले पनि यो वर्ष रेमिटेन्स भित्रिने दर बढेको हो।
‘हुन त अहिले धेरै युवा विदेसिएका कारण मुलुकमा उपभोगमा कमी आएको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले स्पष्ट पारे, ‘तर रेमिटेन्समा भइरहेको सुधारले केही न केही भए पनि उपभोग पनि बढाउँदै लैजान्छ।’
यसको छनक पनि देखिन थालेको छ। आयातमा क्रमशः वृद्धि भइरहेको छ।
आयात
कात्तिकमा मासिक आयात भने असोजको तुलनामा केही घटेको छ। असोजमा मात्रै एक खर्ब ४८ अर्ब रूपैयाँको आयात भएकोमा कात्तिकमा एक खर्ब चार अर्ब रूपैयाँको आयात भएको थियो।
राष्ट्र बैंकमा हालसम्म उपलब्ध तथ्यांक अनुसार मंसिर अन्तिम साता लाग्दै गर्दा भने एक खर्ब ३० अर्ब हाराहारीको आयात भएको छ।
कर्जा
यो अवधिमा बैंकहरूको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको छ।
गत आर्थिक वर्षभरिमै निजी क्षेत्र तर्फ जाने कर्जा वृद्धिदर ३.८ प्रतिशत थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनासम्ममा यस्तो वृद्धिदर ४.४ प्रतिशत छ। यो निजी क्षेत्रमा लगानीमा रहेको कर्जाको साँवा रकमको आधारमा हो। ब्याज पुँजीकरण लगायत सहितको निजी क्षेत्र माथिको दाबी भने ५.२ प्रतिशतले बढेर ५० खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ।
त्यस्तै कर्जाको ब्याजदर समेत घट्दै गएको छ। कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ। कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ।
बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी योग्य पुँजी पर्याप्त रहेसँगै कर्जाको ब्याजदर घट्न थालेको हो। यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो। कर्जाको ब्याजदर आठ प्रतिशत बिन्दुले घटेको हो।
राष्ट्र बैंकले गत शुक्रबार मात्रै नीतिगत ब्याजदरहरू घटाएको छ। राष्ट्र बैंकले बैंकदरका रूपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ। त्यस्तै ओभरनाइट रिपोको दर समेत ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ।
राष्ट्र बैंकबाट सापट लिने दरहरू घटेपछि बैंकहरूले कर्जाको ब्याजदर समेत महिनाको मध्यमै घटाउन थालिसकेका छन्। यसले पुस महिनाको कर्जाको ब्याजदर थप घट्ने संकेत गरेको छ।
पर्यटक आगमन
अहिले पर्यटक आगमनमा समेत रेकर्ड कायम भइरहेको छ।
सन् २०२२ भरिमा आएका पर्यटकभन्दा सन् २०२३ को नोभेम्बरसम्म पर्यटक आगमन ४९ प्रतिशतले बढेर ९ लाख १८ हजार पुगेको छ।
चालु आर्थिक वर्षको चार महिनामा पर्यटकबाट भएको आम्दानी समेत ४७ प्रतिशतले बढेर २५ अर्ब ७३ करोड पुगेको छ।
सरकारले खर्च बढाउन सकेमा अहिले तंग्रिँदै गइरहेको अर्थतन्त्रले थप गति पाउने देखिएको छ। यो आर्थिक वर्षका लागि कात्तिकबाट ठेक्का प्रक्रिया सुरू गर्ने भनिए पनि त्यस अनुसार भइरहेको छैन। त्यस्तै व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने ४० अर्ब रूपैयाँ रकम पाएका छैनन्। भुक्तानी हुने र नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्ने हो भने अर्थतन्त्रले थप गति लिने मानिएको छ।
आन्तरिकसँगै बाह्य क्षेत्रका सूचक पनि अहिले सुदृढ भएका छन्।
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब रूपैयाँ पुगेको छ।
डलरका आधारमा पनि हालको सञ्चिति उच्च हो। यसअघि अधिकतम १२ अर्ब ७७ करोड डलर बराबर यस्तो सञ्चिति थियो। हाल १२ अर्ब ७५ करोड डलर बराबर कायम छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले ११ महिना ९ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ४७ अर्बले धेरै भएको छ। मुलुकले गर्ने आम्दानी, विदेशी सहायता लगायत सबै गरेर भित्रिने रकमभन्दा बाहिरिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।
अघिल्लो वर्षको असोजदेखि नै मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको हो। यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिन थालेको थियो।
मुलुकको चालु खाता पनि ९६ अर्ब रूपैयाँ नाफामा देखिएको छ। वार्षिक रूपमा भने यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म पनि यो खाता नाफामा देखिने सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ।
चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।