उत्तरी छिमेकी चीनसँग नेपालको व्यापार उल्लेख्य बढेको छ। नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको उपस्थिति अहिलेसम्मकै बलियो स्थितिमा पुगेको छ।
चालु वर्षको पहिलो आठ महिना (२०८० साउनदेखि फागुनसम्म) मा समग्र व्यापार २.७८ प्रतिशतले घटेको छ। तर, चीनसँगको व्यापार भने करिब ३५ प्रतिशतले बढेको छ।
यो वर्ष चीनसँग स्थलमार्गबाट हुने कारोबार बढेको कारण समग्र व्यापार बढेको भन्सार अधिकारीहरूले बताएका छन्। 
गत आर्थिक वर्षको आठ महिनामा चीनसँग नेपालले एक खर्ब ४६ अर्ब रूपैयाँ बराबरको व्यापार गरेको थियो। यो वर्ष भने ५० अर्ब रूपैयाँले बढेर एक खर्ब ९६ अर्ब रूपैयाँ बराबरको भएको छ।
गत वर्षको आठ महिनासँग तुलना गर्दा समग्र व्यापारमा निर्यात चार गुणाले बढेको छ भने आयात ३३ प्रतिशतले बढेको छ। 
गत वर्ष आठ महिनामा एक खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ बराबरको सामान चीनबाट आयात भएको थियो भने ५२ करोड रूपैयाँको सामान निर्यात भएको थियो।
यो वर्ष भने एक खर्ब ९४ अर्ब रूपैयाँको आयात भएर एक अर्ब ९५ करोड रूपैयाँ बराबरको निर्यात भएको छ। 
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत र अन्य देशहरूसँग पनि यो वर्ष व्यापार घटेकोमा चीनसँग भने आयात र निर्यात दुवै बढेको छ। यी अवधिमा भारतसँग आयात २.८ र निर्यात ७.७ प्रतिशतले घटेको छ। 
२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि भारतसँगको व्यापार घटेको कारण समग्र व्यापारमा चीनको हिस्सा बढेको थियो।
आर्थिक वर्ष २०७२/७३ मा भएको नेपालको समग्र वस्तु व्यापारमा चीनको हिस्सा १४ प्रतिशत पुगेको थियो। त्यो वर्ष आठ खर्ब ४५ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएकोमा चीनसँग एक खर्ब १७ अर्ब रूपैयाँको भएको थियो। त्यसै वर्ष समग्र व्यापारमा चीनको हिस्सा १४ प्रतिशत पुगेको हो।
त्यसपछि आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको व्यापारमा पनि चीनको हिस्सा १४ प्रतिशत पुगेको थियो।
वर्ष २०७८/७९ मा नेपालको अन्तर्राष्ट्रिय व्यापार अहिलेसम्मकै उच्च दरमा बढेको थियो। यो वर्ष चीनको हिस्सा भने घटेर १२ प्रतिशतमा झर्यो। वर्ष २०७९/८० मा सामान्य बढेर १३ प्रतिशत पुगेको थियो। यो वर्षको आठ महिनाको अवधिमा भएको व्यापारमा चीनको हिस्सा १७ प्रतिशत भएको छ।
यो वर्ष साउनदेखि फागुनसम्म ११ खर्ब ३० अर्बको अन्तर्राष्ट्रिय व्यापार भएकोमा चीनसँग करिब दुई खर्ब (एक खर्ब ९५ अर्ब) रूपैयाँको व्यापार भएको छ।
भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा उपलब्ध (आर्थिक वर्ष २०६६/६७ देखि २०८०/८१ सम्म) तथ्यांकअनुसार यो वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा सबैभन्दा धेरै पुगेको छ।
यस्तो छ पछिल्लो १५ वर्षको व्यापारमा चीनको हिस्सा (प्रतिशतमा)
 नेपालको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी जानकार तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्य सन् १९९० चीनसँगको अहिलेको व्यापार हिस्सा सबैभन्दा धेरै पुगेको बताउँछन्।
नेपालको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी जानकार तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्य सन् १९९० चीनसँगको अहिलेको व्यापार हिस्सा सबैभन्दा धेरै पुगेको बताउँछन्।
'सन् १९९० अघि फरक शैलीबाट पनि व्यापार भएको छ, चीनको हिस्सा कतिसम्म पुग्यो भन्ने विषयमा जानकारी छैन। तर त्यसपछिका वर्षहरूमा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा १७ प्रतिशतको कहिले पुगेको थिएन,' आचार्यले भने।
आचार्यका अनुसार नेपालको व्यापार गतिविधि पञ्चायतकालीन समयमा निकै बढेको थियो। त्यतिबेला चीनले रणनीतिक रूपमा व्यापार गरेको थियो। नेपाललाई ठूलो मात्रामा सहायताको रूपमा सामान पठाएको थियो। यस्तो सामान नेपालले भारतमा समेत बेच्ने गरेको थियो।
खास गरी नेशनल ट्रेडिङलाई कलम, कापी, कपडा, कुटो, कोदालो अनुदानमा उपलब्ध गराउँथ्यो। तर, त्यस्तो सामान बेचेको पैसाले नेपालमा चिनियाँ सहयोगमा परियोजना सञ्चालन गर्यो। यसले नेपालमा चीनको सहायता पनि बढ्ने र नेपालले गर्ने स्वतन्त्र व्यापार प्रतिस्पर्धामा पनि असर गर्ने गरेको उनले बताए।
'चीनले निकै रणनीतिक रूपमा स्वतन्त्र प्रतिस्पर्धात्मक व्यापारको खिलाफमा अचम्मको सहायता विस्तार गर्यो, अनुदानमा चीनबाट सामान आउने र त्यस्तो सामान बिक्री गरेको पैसाले नेपालमा चिनियाँ सहयोगका प्रोजेक्टहरूमा खर्च गर्ने गरियो, यो समयमा नेपालको व्यापारमा चीनको उपस्थिति निकै बढाइएको थियो।'
आचार्यका अनुसार भारतमा पिभीनरसिंह रावको पालाबाट खुला बजार नीति अवलम्बन गरिएपछि चीन र भारतको व्यापार बढ्न गएको थियो। नेपालमा भने फरक शैलीबाट भएको चिनियाँ व्यापारको उपस्थिति घटेको थियो।
गत वर्षको तुलनामा चीनको व्यापार उल्लेख्य बढेपछि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा अहिलेसम्मकै धेरै पुगेको उपलब्ध तथ्यांकले देखाएको छ।
चीनको व्यापार बढेको र अन्य देशको घटेको कारण हिस्सा बढी देखिएको हो। अर्थशास्त्री केशव आचार्य २०७८ पछि भारतसँग अनौपचारिक व्यापार बढेको कारण पनि चीनको हिस्सा बढेको हुन सक्ने बताउँछन्।
'तथ्यांकले पुष्टि गरेको त होइन तर २०७८ पछि सरकारले विभिन्न वस्तुको आयातलाई रोक्ने नीति लिएको र निरुत्साहित गरेको कारण भारतबाट अनौपचारिक आयात बढ्यो। चीनसँग भने औपचारिक छ। यसको असर औपचारिक व्यापार हिस्सा परेको देखिन्छ,' आचार्यले भने।
उनले भनेजस्तै भारतबाट आयात घटेको र समग्र अन्तर्राष्ट्रिय व्यापार घटेको वर्ष नै व्यापारमा चीनको हिस्सा बढी भएको देखिन्छ।
तर, यस वर्ष चीनसँगको प्रत्यक्ष वस्तु व्यापार नै उल्लेख्य बढेको छ। विशेष गरी स्थल मार्गबाट हुने कारोबार धेरै बढेको देखिन्छ।
मुख्यतः तातोपानी र रसुवा नाकाबाट नेपाल चीनको स्थल मार्गबाट कारोबार हुने गरेको छ।
आर्थिक वर्ष २०७६–७७ को मध्यतिरबाट स्थल मार्गबाट पूर्ण निर्यात रोकिएको थियो भने आयात थप घटेको थियो। गत वर्षको अन्तिमबाट निर्यात सुरू भएको हो।
२०७९ साउनदेखि फागुनसम्मको अवधिमा तातोपानी नाकाबाट एक रूपैयाँको पनि सामान निर्यात भएको थिएन भने सात अर्ब १८ करोड रूपैयाँको सामान आयात भएको थियो। 
चालु वर्षमा भने निर्यात ५१ लाख रूपैयाँ बराबरको भएको छ। आयात २३ अर्बभन्दा धेरैको भएको छ। 
तातोपानीको तुलनामा रसुवा नाकाबाट धेरै व्यापार भएको देखिएको छ। गत वर्ष आठ महिनामा यो नाकाबाट १४ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो भने १६ अर्ब ५१ करोड रूपैयाँ बराबरको आयात भएको थियो। 
चालु वर्षमा भने एक अर्ब ३३ करोडको निर्यात र ३५ अर्ब रूपैयाँको आयात भएको छ। चीनसँग भएको समग्र निर्यातमध्ये ६८ प्रतिशत योगदान रसुवा नाकाको मात्रै रहेको छ। 
स्थलमार्गबाट बढेको व्यापारका साथै रसुवा र तातोपानी नाकामा बढेको चहलपहलले व्यवसायी उत्साहित भएका छन्। स्थलमार्गबाट हुने व्यापारले उल्लेखनीय लागत घट्ने व्यवसायीको भनाइ छ।
पानीजहाज र हवाईबाट सामान आयात गर्दा महँगो पर्छ। जसले सामानको लागत बढाउँछ भने पानीजहाजबाट समय पनि धेरै लाग्ने गरेको व्यवसायीको गुनासो छ।
हवाई मार्ग, सामुन्द्रिक मार्ग तथा स्थल मार्गबाट चीनसँगको वस्तु व्यापार हुने गरेको छ। धेरै सामान भने सामुन्द्रिक मार्गबाट ल्याइन्छ। समुन्द्र मार्गबाट हुने ढुवानीमा भारतका दुई बन्दरगाह बिशाखापटनम र कलकत्ता हुँदै आयात गरिन्छ।
हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले चीनसँगको व्यापारमा सबैभन्दा सहज स्थल मार्गबाट ढुवानी गर्दा हुन्छ।
सामुन्द्रिक मार्गबाट भारत हुँदै ल्याउँदा सामान आयात गर्न कम्तीमा डेढ महिना लाग्ने र भाडा दर पनि महँगो पर्ने उनले बताए।
तर, स्थल मार्गबाट सामान ल्याउँदा बढीमा १५ दिनभित्र सामान आउँछ भने भाडा दर प्रतिकन्टेनर एक लाख रूपैयाँ सस्तो पर्छ।
'स्थलमार्गबाट व्यापार गर्दा हाम्रो ढुवानी लागत र समय निकै कम लाग्छ, यसो हुँदा उपभोक्तालाई मूल्य कम पर्छ,' अध्यक्ष श्रेष्ठले भने, 'निर्यातमा पनि स्थल मार्गबाट सामान पठाउँदा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ।'
रसुवा र तातोपानी नाकाबाट व्यापार बढ्न थालेपछि सरकारकाे राजस्वमा पनि सुधार आएको छ। यो वर्ष आठ महिनाको अवधिमा भन्सार विभागले लक्ष्यकाे ६५ प्रतिशत मात्रै राजस्व उठाएका छन्। तर तातोपानी र रसुवा भन्सार कार्यालयले भने लक्ष्यभन्दा बढी राजस्व उठाएका छन्।
यो वर्ष फागुनसम्म भन्सार विभागले रसुवा भन्सार कार्यालयबाट ११ अर्ब ९७ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो। तर १२ अर्ब ६३ करोड संकलन भएको छ। गत वर्ष फागुनसम्म जम्मा चार अर्ब २४ करोड संकलन भएको थियो।
त्यस्तै तातोपानी भन्सार कार्यालयलाई यो वर्ष फागुनसम्म चार अर्ब ८१ करोडको लक्ष्य दिइएको थियो। तर, यो अवधिमा सात अर्ब ३२ करोड राजस्व संकलन भएको छ। गत वर्ष फागुनसम्म भने एक अर्ब ८२ करोड मात्रै संकलन भएको थियो।
यो वर्ष आयात वृद्धिदरको तुलनामा निर्यात धेरै बढेको छ। तर, समग्रमा भने चीनसँगको व्यापार असन्तुलन निकै बढी रहेको छ। मुख्यत: चीनसँग एकतर्फी (आयात व्यापार) मात्रै भएको देखिन्छ। चीनसँगको १०० रूपैयाँ बराबरको व्यापारमा ९९ रूपैयाँको आयात र एक रूपैयाँ बराबरको निर्यात भएको छ।
नेपाल चीन व्यापार अवस्था
	
		
		
		
		
	
	
		
			| नेपाल-चीन व्यापार | 
		
			| वर्ष | आयात | निर्यात | व्यापारमा निर्यातको योगदान प्रतिशतमा | 
		
			| २०७४/७५ | १ खर्ब ५९ अर्ब ९८ करोड | २ अर्ब ४७ करोड | १.५ | 
		
			| २०७५/७६ | २ खर्ब ५ अर्ब ५१ करोड | २ अर्ब १० करोड | १.०१ | 
		
			| २०७६/७७ | १ खर्ब ८१ करोड ९२ लाख | १ अर्ब १९ करोड | १.०३ | 
		
			| २०७७/७८ | २ खर्ब ३३ अर्ब ९२ करोड | १ अर्ब १ करोड ६० लाख | ०.४ | 
		
			| २०७८/७९ | २ खर्ब ६४ अर्ब ७८ करोड | ८० करोड ८७ लाख | ०.३ | 
		
			| २०७९/८० | २ खर्ब २२ अर्ब ७१ करोड | १ अर्ब ७६ करोड ५७ लाख | ०.७ | 
		
			| २०८०/८१(आठ महिना) | एक खर्ब ९४ अर्ब ८७ करोड | एक अर्ब ९५ करोड एक लाख | १ |