आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सरकारले साढे १८ खर्ब बजेट ल्याएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमार्फत बजेट प्रस्तुत गरेका छन्।
संघीय सरकारले विनियोजन गरेको बजेटभित्र कर्णालीका पनि कतिपय महत्वपूर्ण आयोजना परेका छन्।
संघको बजेटमा कर्णालीका साना तथा ठूला गरी २४ वटा आयोजना प्रत्यक्ष रूपमा सम्बोधन गरिएका छन्।
कर्णाली विद्युत करिडोरका रूपमा रहेको ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण सुरू गर्ने, भेरी करिडोर प्रसारण लाइन निर्माण सुरू गर्ने, सुर्खेत विमानस्थल र जुम्लाको विमानस्थल स्तरोन्नति गर्ने योजना बजेटमा समावेश गरिएको छ।
बजेटमा कर्णालीलाई जडीबुटी पर्यटनको हब बनाउने उल्लेख गरिएको छ।
शारदा नदी आसापासका रुकुम र सल्यानका क्षेत्रलाई कृषि करिडोर र हिमा र तिला नदी आसपासका क्षेत्रमा मार्सी धान करिडोरका रुपमा विकास गर्ने बजेट वक्तव्यमार्फत घोषणा गरिएको छ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्भे गरी पुनर्निर्माण गर्ने, भूकम्पबाट क्षति भएका विद्यालय तथा सार्वजनिक भवन पुनर्निर्माण गर्ने बजेटमा उल्लेख छ।
संघको बजेटमार्फत कर्णालीको पूर्वाधार विकासका लागि १ अर्ब बढी रकम विनियोजन गरिएको छ।
कर्णालीमा वनपैदावारमा आधारित ‘समृद्ध कर्णाली उद्यमशिलता’ कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ। भेरी डाइभर्सनको बाँध निर्माण र विद्युत गृह निर्माणका लागि दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
कर्णालीका दशवटै जिल्लामा एकीकृत सिँचाई विकास आयोजना सञ्चालन गर्न ८२ करोड रकम विनियोजन गरिएको छ।
हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा रकम वृद्धि गरिएको छ।
यस्तै सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य अघि बढाउने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गरी पाँच सय शय्या बनाउने बजेटमा उल्लेख छ। कर्णालीमा खानेपानी, सरसफाई, तथा स्वच्छता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने पनि बजेट उल्लेख छ।
यो वर्ष सुर्खेतमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ।
हुम्ला हुँदै नेपाल-चीनको उत्तरी नाका जोड्ने कर्णाली करिडोर निर्माणलाई तीव्रता दिने, करिडोरअन्तर्गतका पाँच वटा पुल निर्माण गर्ने र ५० किलोमिटर सडक स्तरोन्नति गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरिएको छ।
साविक कर्णालीका जिल्ला जोडिएका कर्णाली राजमार्ग विस्तार र स्तरोन्नतिलाई तिव्रता दिने, जाजरकोटदेखि डोल्पा सदरमुकाम हुँदै चीनसँगको नाकासम्म जोड्ने भेरी करिडोरको स्तरोन्नति गर्ने बजेटमा उल्लेख छ।
सुर्खेतको भेरीगंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउन गुरुयोजना अघि बढाउने बजेटमा उल्लेख छ।
डोल्पाको धो र हुम्लाको लिमी उपत्यकामा नयाँ बस्ती बसालेर आर्थिक तथा पर्यटकीय सहरका रुपमा विकास गर्ने बजेटमार्फत घोषणा गरिएको छ।