बिक्रेता कम्पनीहरू र भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो केही वर्षमा नयाँ दुईपांग्रे सवारी साधनको व्यापार निकै खस्किएको छ। नयाँ बाइकहरूको माग घटेपछि आयातमा पनि कमी आएको छ। व्यवसायीहरूका अनुसार केही समय अघिसम्म एक वर्षमा हुने व्यापार अहिले तीन वर्षमा पनि हुन सकेको छैन।
अर्कातिर, सेकेन्ड-ह्यान्ड बाइकको बजारमा भने चमक-धमक छ। पछिल्ला वर्षहरूमा नयाँको साटो पुराना बाइक किन्नेको संख्या क्रमशः बढ्दै गएको छ।
'रिकन्डिसन' सवारी साधनको माग बढेकै कारण बिक्री गर्ने कम्पनीहरू पनि बढिरहेको व्यवसायीहरूको भनाइ छ। यसले प्रतिस्पर्धा बढाएको र सेकेन्ड-ह्यान्ड बाइक झनै सस्तोमा पाइन थालेको छ। बाइक सस्तिएपछि उपभोक्ताको आकर्षण थप बढेको छ।
'तपाईंको बजार डटकम' ले मोटरसाइकल तथा स्कुटर व्यापार गर्दै आएको छ। धेरै ब्रान्डका साधन एउटै थलोबाट बिक्री गर्ने उद्देश्यले एसएमएस सर्भिस ग्रुपले पछिल्लो तीन वर्षदेखि यो कम्पनी सञ्चालनमा ल्याएको हो।
'तपाईंको बजार' ले पहिलो वर्ष लगभग सबै नयाँ बाइक नै बेचेको थियो। गत वर्ष नयाँ र पुरानाको अनुपात ५०/५० प्रतिशत रह्यो। एसएमएस सर्भिस ग्रुपका संस्थापक सुशील संग्रौलाका अनुसार यस वर्ष बिक्री भएका बाइकमा भने ६० प्रतिशत हिस्सा पुरानोको छ। आगामी दिनमा पुरानैको बिक्री थप बढ्ने अपेक्षा उनको छ।
यो कम्पनीले काठमाडौंमा दुई र चितवनमा एक गरी तीनवटा शोरूममार्फत दुईपांग्रे सवारी साधन बिक्री गर्दै आएको छ। पहिलो वर्ष करिब ६ सय वटा नयाँ बाइक बेचेको थियो। गत वर्ष दुई हजार वटा बेच्दा हजार नयाँ र हजार पुराना थिए। यस वर्ष साउनयता ६ सय वटा बिक्री हुँदा साढे तीन सयभन्दा बढी सेकेन्ड ह्यान्ड बाइक रहेको उनले बताए।
किन किन्छन् पुराना बाइक?
दैलेखका सुवास शाहीले गत जेठमा साथीको सेकेन्ड-ह्यान्ड बाइक किनेका थिए। उनको जागिर थिएन। आधा पैसा दिएर बाँकी पछि तिर्ने सर्तमा किनेका थिए। बाइक किनेपछि उनले 'पठाओ' र 'इनड्राइभ' गर्दै तीन महिनामै पैसा तिरे।
'नयाँ किन्दा महँगो पर्ने, पुरानो सस्तो र किस्तामा पाइने भएकाले मैले यही विकल्प रोजेँ,' सुवासले भने।
ओम शुभलक्ष्मी रिकन्डिसन सेन्टरका कृष्ण चौलागाईँका अनुसार पठाओ र इन्ड्राइभ जस्ता राइड सेयरिङ सेवाका कारण पुराना बाइकको माग बढेको छ।
'काठमाडौंमा धेरै संघर्षरत विद्यार्थी र बेरोजगार छन्। उनीहरूले सस्तो बाइक किनेर पठाओ/इनड्राइभमा काम गर्छन्,' उनले भने।
'तपाईंको बजार' का संस्थापक सुशील संग्रौलाका अनुसार पुराना बाइकप्रतिको आकर्षणका मुख्य तीन कारण छन् — कम लगानी, समान प्रतिफल र किस्तामा पाइने सुविधा।
विदेश जाने सोच भएका, छोटो समय बस्नेहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरूले पनि पुराना बाइक किन्ने गरेका छन्। नयाँ बाइक सुरक्षा र फाइदाका हिसाबले राम्रो भए पनि, किन्दा लगानी कम पर्ने र फेरि बेच्दा मूल्य धेरे नघट्ने भएकाले पुरानै बाइकप्रति आकर्षण बढिरहेको बजार प्रतिनिधिहरू बताउँछन्।
रिकन्डिसन बाइकको आकर्षणलाई ध्यानमा राखेर 'तपाईंको बजार' ले ५० प्रतिशतसम्म फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएको छ।
'चार लाख पर्ने बाइक रिकन्डिसनमा आउँदा आधा मूल्यमा पाउँछन्। हामीले त्यसमा पनि ५० प्रतिशत फाइनान्स सुविधा, १८ महिनासम्मको किस्तामा उपलब्ध गराएका छौं,' सुशीलले भने।
विगत १४ वर्षदेखि काठमाडौंमा रिकन्डिसन मोटरसाइकल/स्कुटर बिक्री गर्दै आएका 'पिआरडी रिकन्डिसन' का सञ्चालक प्रेम तामाङले भने अघिल्ला वर्षको तुलनामा यो वर्ष आफ्नो व्यापारमा केही कमी आएको बताए। यसको कारण मागमा कमी आएको नभइ यस्ता कम्पनीहरू बीचको प्रतिस्पर्धा बढी भएको उनको बुझाइ छ।
'पहिले रिकन्डिसन कम्पनी थोरै थिए। अहिले धेरै भइसकेका छन्,' प्रेमले भने, 'यसले प्रतिस्पर्धा बढाएको छ। त्यही पनि अहिले मैले महिनामा २०/२५ वटा बेच्छु। पहिले ३५/४० वटासम्म पुग्थ्यो।'
रिकन्डिसन बाइकमा देखिएको आकर्षणकै कारण काभ्रेका सागर तामाङले यसै वर्षबाट काठमाडौंको मित्रपार्कमा नयाँ पसल खोलेको बताए।
'कम लगानीमा राम्रै आम्दानी हुने देखेपछि मैले यो व्यवसाय सुरू गरेको हुँ। अहिले महिनाको १५/२० वटा बाइक बेच्न सक्छु,' उनले भने।
'ओम शुभलक्ष्मी रिकन्डिसन' चलाइरहेका कृष्ण चौलागाईंले पनि रिकन्डिसन सवारी बिक्रेताबीच प्रतिस्पर्धा बढिरहेको बताए।
'अहिले धेरै पसल खुलिसकेका छन् जसले गर्दा बजारमा प्रतिस्पर्धा कडा बनेको छ। व्यापार कहिले निकै राम्रो हुन्छ, त कहिले कम। तर समग्रमा माग बढ्दो देखिन्छ,' उनले भने।
सेकेन्ड ह्यान्ड बाइकप्रतिको आकर्षण र बजारमा आएको आर्थिक मन्दीले नयाँ मोटरसाइकल/स्कुटरको बजार पछिल्ला केही वर्षदेखि नै प्रभावित छ।
यो वर्षको पहिलो चार महिनामा भने अघिल्ला वर्षको तुलनामा नयाँ दुईपांग्रे सवारी साधन आयातमा उल्लेख्य सुधार छ। यसपालिको सुधारबारे कुरा गर्नुअघि पछिल्ला वर्षमा नयाँ बाइकको बिक्रीमा आएको ह्रासको कुरा गरौं।
भन्सार तथ्यांकले अघिल्ला तीन आर्थिक वर्षमा बाइकको बिक्री तथा आयातमा कमी आएको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा तीन लाख ५० हजार वटा मोटरसाइकल/स्कुटर आयात भएकामा २०७९/८० मा जम्मा एक लाख चार हजारमा झरेको थियो। गत वर्षको आयात त एक लाख ३५ हजार वटा मात्र थियो।
तालिकामा हेर्नुस्, पछिल्लो ६ वर्षमा मोटरसाइकल र स्कुटर आयात अवस्थाः
आर्थिक वर्ष | आयात संख्या (वटा) | आयात मूल्य (रु) |
२०७५/७६ | दुई लाख ७० हजार | २२ अर्ब ८१ करोड |
२०७६/७७ | दुई लाख सात हजार | १८ अर्ब ६४ करोड |
२०७७/७८ | तीन लाख ५३ हजार | ३३ अर्ब |
२०७८/७९ | दुई लाख ७८ हजार | २७ अर्ब ६२ करोड |
२०७९/८० | एक लाख चार हजार | ११ अर्ब |
२०८०/८१ | एक लाख ३४ हजार | १५ अर्ब ६० करोड |
२०८१/८२ (पहिलो चार महिना) | ६८ हजार ५४० | आठ अर्ब १० करोड |
पछिल्लो चार महिनामा नयाँ बाइक आयातमा सुधार
चालु वर्षको पहिलो चार महिनामा मोटरसाइकल/स्कुटर आयातमा सुधार देखिएको छ।
नेपालका लागि बजाज मोटरसाइकलका आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीका बजार प्रमुख अमितराज चालिसेका अनुसार कोभिडपछि लगातार घटेको व्यापार अहिले बढ्दो क्रममा छ।
'कोभिडपछि दुई-तीन वर्ष व्यापार निकै सुस्त थियो। अहिले सुधार देखिएको छ,' उनले भने।
यो वर्ष बजाजको बिक्री २५ प्रतिशतले बढेको पनि उनले जानकारी दिए।
चालु वर्षको साउन, भदौ र असोजमा ६८ हजार नयाँ मोटरसाइकल/स्कुटर आयात भएको तथ्यांक छ। जबकि गत वर्ष यही अवधिमा ४२ हजार ११३ वटा मात्र आयात भएको थियो।
नयाँ र पुराना दुवै प्रकारका मोटरसाइकल/ स्कुटर बेच्दै आएको 'तपाईंको बजार' का सञ्चालक सुशील संग्रौलाले नयाँ दुईपांग्रेको माग अपेक्षा गरे अनुसार बढ्न अझै समय लाग्ने बताए।
'अझै पनि नयाँ बाइकमा माग बढेको देखिँदैन। तर विगतमा बिक्री अत्यधिक कम भएकामा अहिले केही सुधार भने देखिएको छ,' उनले भने।