सरकारले तोकिएको समयभन्दा पहिले नै नागरिकबाट दुई अर्ब रूपैयाँ ऋण प्राप्त गरेको छ।
गत मंसिर १२ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पुस १६ गतेसम्मको समय दिएर नेपाली नागरिक र गैरआवसीय नेपाली समेतको लागि दुई अर्ब रूपैयाँ (नागरिक बचतपत्र) र वैदेशिक रोजगारीमा गएको नागरिक तथा उसको परिवारलाई केन्द्रित गरेर थप ५० करोड रूपैयाँ (वैदेशिक रोजगार बचतपत्र) ऋण मागेको थियो।
तर, सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले तोकिएको समयभन्दा १० दिन अगावै नै नागरिक बचतपत्रको लागि आवेदन बन्द गरेको छ। अर्थात् 'नागरिक बचतपत्र २०८६ क' नाम दिइएको बचतपत्रमा ऋण दिन नमिल्ने भएको छ।
'हामीले मागे बराबरको रकम पहिलेनै पूरा भएपछि आवेदन बन्द गरेका छौँ,' सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रवक्ता प्रकाश पुडासैनीले भने।
कार्यालयका अनुसार करिब पाँच सय जनाले दुई अर्ब रूपैयाँ ऋण उपलब्ध गराउने भएका हुन्।
सरकारले गर्ने सार्वजनिक खर्चमा पैसा नपुग्ने अवस्थामा विभिन्न शैलीबाट ऋण उठाएको हुन्छ। जसमध्ये निश्चित रकम बचतपत्र बेचेर उठाउने गर्छ।
बचतपत्र भनेको आन्तरिक ऋण उठाउने एउटा औजार हो। मुख्यत: विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल्स बेचेर सरकारले आन्तरिक ऋण उठाउँछ। तोकिएको समयपछि सावाँ र ब्याज फिर्ता गर्छ।
विगतमा वर्षहरूमा नागरिक बचतपत्रमा कम आकर्षण देखिने गरेकोमा यो वर्ष भने तोकिएको समयभन्दा पहिलै नै मागे बराबरको ऋण नागरिकले दिएका हुन्।
पहिले आवेदन दिनेबाट नै ऋण लिने व्यवस्थाका कारण तोकिए बराबरको ऋण प्राप्त भएपछि आवेदन दिन नमिल्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
विगतमा वर्षहरूमा यसरी तोकिएको समयभन्दा अघि मागेको बराबर ऋण उठाउन मुस्किल नै पर्ने गरेको थियो। यसअघि गत वैशाखमा ८ प्रतिशत ब्याजमा नागरिक बचतपत्रबाट पाँच अर्ब रूपैयाँ ऋण माग गरिएकोमा ३६ करोड ९८ लाख रूपैयाँ मात्रै सरकारलाई ऋण दिइएको थियो।
त्यस्तै २०८५ वैशाखमा १० प्रतिशत ब्याज दिने गरी दुई अर्ब ८२ करोड ऋण माग गरिएकोमा १८ करोड २८ लाख रूपैयाँ मात्रै प्राप्त भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ सालमा खुलाइएको नागरिक बचतपत्र '२०८२ क' मा तोकिए मागे बराबरको ऋण प्राप्त भएको थियो। अन्यथा ४० देखि ५० प्रतिशत मात्रै ऋण प्राप्त हुने गरेको थियो।
यो पटक सरकारले ७.५ प्रतिशत ब्याज उपलब्ध गराउने गरी ऋण मागेकोमा १० दिन अगावै रकम प्राप्त भएको हो।
अहिलेको ब्याज वाणिज्य बैंकहरूले दिनेभन्दा एक प्रतिशत बढी भए पनि सरकारले दिने ब्याजमा भने विगत १० वर्ष यताकै कम छ।
कुन वर्ष कति ब्याज?
नागरिक बचतपत्र |
ऋणपत्रको नाम | बचतपत्र बिक्री रकम | दिइएको ब्याजदर |
२०८२ | एक खर्ब ६० करोड ५२ लाख | ९ प्रतिशत |
२०८२ क | दुई अर्ब | ९ प्रतिशत |
२०८३ | एक अर्ब ९५ करोड ३९ लाख | ९ प्रतिशत |
२०८३ क | ९६ करोड ३९ लाख | १० प्रतिशत |
२०८४ | एक अर्ब ८६ करोड | ११ प्रतिशत |
२०८४ क | दुई अर्ब १७ करोड ८५ लाख | ११.५ प्रतिशत |
२०८५ | १८ करोड २८ लाख | १० प्रतिशत |
२०८६ | ३६ करोड ९८ लाख | ८ प्रतिशत |
२०८६ क | दुई अर्ब | ७.५ प्रतिशत |
यो पटककलाई नागरिक बचत पत्रको ब्रिक्री बन्द भए पनि वैदेशिक रोजगार बचतपत्रको बिक्री भने अझै खुला छ। वैदेशिक रोजगार बचतपत्रको लागि सरकारले वाणिज्य बैंकको अहिलेको औसतभन्दा दुई प्रतिशत बढी ब्याजदर दिइएको छ।
अहिले वाणिज्य बैंकको औसत ब्याजदर ६.५ प्रतिशत छ। तर वैदेशिक रोजगार बचतपत्र किनेर सरकारलाई ऋण दिँदा भने ८.५ प्रतिशत ब्याज दिइएको छ। यस्तो ऋण वैदेशिक रोजगारीमा भएका नागरिक, उसको परिवार तथा गैर आवसीय नेपालीले दिन सक्छन्। सरकारले यस्तो ऋण ५० करोड रूपैयाँ माग गरेकोमा अहिलेसम्म दुई करोड रूपैयाँ मात्रै प्राप्त गरेको छ।
सरकारलाई ऋण दिएर हामीलाई के फाइदा हुन्छ?
यसका मुख्य तीन फाइदा छन्:
पहिलो, सरकारलाई ऋण दिँदा पाइने ब्याज वाणिज्य बैंकहरूले दिने औसत ब्याजभन्दा बढी हो।
अहिले वाणिज्य बैंकहरूको औसत ब्याजदर ६.५ प्रतिशत मात्र छ। जबकि नागरिक बचतपत्र किन्दा ७.५ प्रतिशत ब्याज पाइन्छ। वैदेशिक रोजगार बचतपत्रको ब्याजदर ८.५ प्रतिशत छ। सरकारले यस्तो ब्याज ६/६ महिनामा दिन्छ।
दोस्रो, यस्तो बचतपत्रले अप्ठ्यारो पर्दा नगद पैसा बराबर नै काम गर्छ।
यदि तुरून्तै पैसा चाहियो भने यो बचतपत्रलाई चेकका रूपमा प्रयोग गर्न सकिन्छ। बैंकले बचतपत्र लिएर त्यसमा लेखिएको पैसा तुरून्तै तिर्नुपर्छ।
भोलि बैंकको ब्याज बढेको खण्डमा पनि सरकारसँग किनेको बचतपत्र बैंकलाई बेचेर पैसा जम्मा गर्न सकिन्छ। बैंकहरूले यस्तो बचतपत्र किन्दिनँ भन्न पाउँदैन।
तेस्रो, यस्तो बचतपत्र धितो राखेर बैंकबाट ऋण लिन पनि सकिन्छ।
व्यक्तिले सरकारले यसरी आह्वान गरेको समयमा न्यूनतम १० हजार रूपैयाँदेखि अधिकतम मागे बराबरको (सबै) रकम सरकारलाई ऋण दिन सक्छ।
कसरी किन्ने बचतपत्र?
यदि पहिलोपटक यस्तो बचतपत्र किनिँदै छ भने 'इन्भेष्टर डट डम्स डट जिओभी डट एनपी' लगइन गरेर आफ्नो प्रोफाइल बनाउनुपर्छ। त्यसमा आफ्ना विवरणहरू तयार गरेपछि आफूलाई पायक पर्ने वाणिज्य बैंक छान्नुपर्छ।
बैंकहरूले विवरण जाँच गरेर प्रोफाइल स्वीकृत गर्छन्। त्यसपछि आफ्नै खाताबाट अनलाइन आवेदन दिन सकिन्छ।
बचतपत्र भनेको सरकारका लागि आमजनतासँग ऋण लिने औजार भए पनि आमजनताका लागि यो लगानीको एउटा भरपर्दो क्षेत्र नै हो।