हरेक महिना वस्तु निर्यातको ग्राफ निरन्तर उकालो लागेको छ। कात्तिक महिनाबाट निर्यात उल्लेखनीय रूपमा बढ्न थालेको हो।
महिनागत निर्यातका हिसाबले माघ महिनामा अहिलेसम्मकै उच्च वृद्धिदर छ। गत वर्ष माघ महिनामा ११ अर्ब ८६ करोड रूपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको थियो।
यो वर्ष माघ महिनामा करिब २९ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो १४१ प्रतिशतको वृद्धिदर हो।
समग्रमा चालु वर्षको सात महिनामा एक खर्ब २७ अर्ब बढीको वस्तु निर्यात भएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो।
अघिल्ला साढे दुई वर्ष आयात निर्यात दुवै प्रकारको अन्तर्राष्ट्रिय व्यापारमा ह्रास आएको थियो। यो वर्ष आयात पनि १० प्रतिशतले बढेको छ। यसले बजारको माग क्रमश: बढ्दो क्रममा रहेको देखाउँछ।
तर, निर्यात तथ्यांकलाई भने कतिले अपत्यारिलो मानेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सार्वजनिक मञ्चबाट नै निर्यात तथ्यांक सही नभएको बताउने गरेका छन्।
नेपालले गर्ने अन्तर्राष्ट्रिय वस्तु व्यापारमा निर्यातको हिस्सा निकै कम छ। यो वर्ष आयात १० र निर्यात ४६ प्रतिशतले बढेको छ। तर, एक रूपैयाँ बराबरको निर्यात गर्दा नौ रूपैयाँभन्दा धेरैको आयातित सामानको तथ्यांक छ।
'हाम्रो निर्यातको जुन आँकडा देखिएको छ। त्यो पनि सत्य होइन, नक्कली आँकडा हो,' आठौं चेम्बर एक्स्पोको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए। त्यसअघि अघि उनले नेपालले अन्तर्राष्ट्रिय व्यापार नै गर्न नसेकको व्याख्या पनि गरेको थिए।
उनले देशको लागि निर्यात मात्रै व्यापार हुने बताएका थिए।
'व्यापारीका लागि आयात पनि व्यापार हुन सक्ला राष्ट्रको लागि भने आयात व्यापार होइन, उपभोग गर्न किनेको वस्तुलाई व्यापार भनिँदैन। व्यापारको लागि त सामान बेच्नै पर्छ,' प्रधानमन्त्री ओलीले भनेका थिए।
प्रधानमन्त्रीले भने जस्तै आयातको तुलनामा नेपालको निर्यात निकै कम मात्रामा छ।
तर, अहिले भएको निर्यात पनि किन नक्कली आँकडा भनियो होला त?
प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन नै नहुने तथा कम उत्पादन हुने वस्तुको पनि अधिक मात्रामा निर्यात भएको तथ्यांकलाई केलाएर नक्कली आँकडा भनेका छन्। यो वर्ष निर्यातमा भटमास र सूर्यमुखी तेलको हिस्सा सबभन्दा बढी छ।
एक खर्ब २७ अर्बको निर्यात हुनेमा ३९ अर्ब अर्थात् ३० प्रतिशत हिस्सा भटमास र सूर्यमुखी तेलको मात्रै छ।
खाने तेल आयातमा पनि उच्च आयात हुने वस्तुमा पर्छन्। यो वर्ष भटमास र सूर्यमुखीको कच्चा तेल ५५ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।
भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेन लगायतका देशबाट किनिएको छ।
रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ।
सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेन लगायतका देशबाट किनिन्छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ।
विगतका वर्षहरूमा यसै गरी पाम तेलको पनि आयात निर्यात हुने गरेको थियो। यो वर्ष भने पामको निर्यात खस्किएको छ।
भटमास र सूर्यमुखी तेलको केही मात्रा नेपालमा उत्पादन भए पनि पाम भने नेपालमा उत्पादन नै हुँदैन।
आयात गरिएको वस्तुलाई ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरी भन्सार संकेत (एचएस कोर्ड) अर्को हुने गरी निर्यात गर्न सकिने व्यवस्था गरिएको छ।
व्यापारीहरूले यही नियमको पालना गरेर यस्ता सामानको आयात निर्यात गर्ने गरेको बताएका छन्। नेपालमा २५ वटा खाने तेल उद्योगहरू सञ्चालन छन्। यी उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरेर भारतमा निर्यात गर्ने गरेका छन्।
नेपालबाट धेरै निर्यात हुने १० वस्तु
-भटमासको तेल प्रशोधित- ३२ अर्ब ४१ करोड रूपैयाँ बराबरको
-सेन्थेटिक यार्न- आठ अर्ब १० करोड रूपैयाँ बराबरको
-सुर्यमुखीको प्रशोधित तेल- ६ अर्ब ५७ करोड रूपैयाँ बराबरको
-ऊनी गलैँचा कार्पेट- ६ अर्ब ४६ करोड ८७ लाख रूपैयाँ बराबरको
-अलैँची- पाँच अर्ब ३९ करोड रूपैयाँ बराबरको
-प्लाइउड- पाँच अर्ब ५ करोड रूपैयाँ बराबरको
-तयारी कपडा- चार अर्ब ९३ करोड रूपैयाँ बराबरको
-फलामे पाता- चार अर्ब ८९ करोड रूपैयाँ बराबरको
- फलफूलको जुस- तीन अर्ब ९६ करोड रूपैयाँ बराबरको
-चिया- तीन अर्ब ४० करोड रूपैयाँ बराबरको