चालु आर्थिक वर्षमा आम सर्वसाधारणले गर्ने उपभोग, बजार उत्पादन र आयात बढेको देखिएको छ। आयात मात्रै १३ प्रतिशतले बढेको छ।
सरकारले संकलन गर्ने राजस्वले आन्तरिक उत्पादन र उपभोग बढेको देखाएको छ। आर्थिक क्रियाकलाप तथा कारोबारमा आधारित राजस्व संकलन बढेको छ।
चालु वर्षमा विदेशबाट वस्तु आयातको कारण भन्सार विन्दुमा उठाइने शुल्क (भन्सार महसुल) १४ प्रतिशतले बढेको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) को वृद्धिदर पनि १० प्रतिशत छ। यसमा पनि उत्पादन, बिक्री र सेवामा लाग्ने भ्याट करिब १४ प्रतिशतले बढेको छ।
त्यस्तै, अन्तशुल्कको वृद्धिदर १९ प्रतिशतभन्दा माथि छ। अन्तशुल्कमा आयातको क्रममा उठाइने शुल्क २४.६८ प्रतिशतले बढेको छ। त्यस्तै, आन्तरिक उत्पादनको क्रममा संकलन गरिने अन्तशुल्क १८ प्रतिशतले बढेको छ।
उल्लेखित सबै राजस्व उत्पादन वा कारोबारको आधारमा संकलन हुने हो। यसले आर्थिक क्रियाकलाप तथा उपभोग र उत्पादनमा बढोत्तरी आएको संकेत गर्छ।
चार्टर अकाउन्टेन्ट शेषमणि दाहालले भने, 'समग्रमा, आर्थिक गतिविधिहरू बढ्न थालेको कुरा यी तथ्यांकहरूले पुष्टि गर्छन्। गत वर्ष करका दरहरूमा ठूलो परिवर्तन नगरिएको अवस्थामा पनि यो वृद्धि सकारात्मक मान्न सकिन्छ।'
तर, भन्सार महसुल, भ्याट तथा अन्तशुल्कको वृद्धिदरको तुलनामा आयकरको वृद्धिदर भने निकै कम देखिएको छ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा समग्र आयकर ४.३ प्रतिशतले मात्रै बढेको छ। यो व्यक्ति वा निकायले गरेको नाफाका आधारमा तिर्ने कर हो।
सामान्यतया कारोबारमा आधारित राजस्वको तुलनामा यस्तो राजस्व कम बढ्नुले आम्दानीमा अपेक्षित सुधार नभएको वा नाफामा कमी आएको संकेत गर्छ।
आन्तरिक राजस्व विभागका अनुसार बैंक ब्याजबाट बाहेक हुने आयमा ८ प्रतिशतको वृद्धिदर देखिए पनि ब्याजबाट हुने आम्दानीमा लाग्ने कर १७ प्रतिशतले घटेको छ। यसै कारण समग्र आयकर नै ४ प्रतिशतमा खुम्चिएको छ।
औसत रूपमा कारोबारमा आधारित राजस्व १४ प्रतिशतले बढ्दा पनि आयकर ४ प्रतिशतको वृद्धिदरमै सीमित रहनुका तीनवटा कारण देखाउँछन् सिए दाहाल।
एक, बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा छ। ब्याज कम भएपछि सर्वसाधारण तथा निकायहरूको यस्तो आम्दानी घटेको छ र यसको प्रभाव आयकरमा देखिएको हो।
दुई, अघिल्लो वर्षको तुलनामा आय बढे पनि विगतमा भएको घाटा पूर्तिले पनि यसमा प्रभाव देखिएको छ। विगतमा बढी तिरिएको कर यो वर्षको आयबाट तिर्नुपर्ने करमा मिलान भएको कारण पनि कर कम देखिन सक्छ।
तीन, सामान्यतया आयकर बढी मात्रामा असारमा संकलन हुने गर्छ। असारअघि अघिल्लो वर्षको चैत र पुस महिनामा अनुमानको आधारमा कर बुझाइएको हुन्छ भने असारमा करिब यथार्थ आयको आधारमा बुझाइन्छ। यसले कारोबार बढेको आधारमा असारमा कर बढ्न सक्ने संकेत गर्छ।
सरकारको लक्ष्यभन्दा दुई खर्ब कम राजस्व
सरकारले गत आर्थिक वर्षमा जेठसम्म (११ महिना)को अवधिमा नौ खर्ब ३९ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।
चालु वर्षको ११ महिना, अर्थात् जेठ मसान्तसम्म भने १२ खर्ब ३४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो।
अर्थ मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा समग्र राजस्व ८७ अर्ब रूपैयाँले बढ्दा पनि लक्ष्यको तुलनामा दुई खर्ब आठ अर्ब १८ करोड रूपैयाँ कम राजस्व संकलन भएको छ।
अर्थ मन्त्रालयले बजेटको आकार ठूलो बनाउने क्रममा पछिल्ला वर्षहरूमा अत्यधिक राजस्व संकलन हुने आकलन गरेर लक्ष्य तोक्ने गरेको छ।
जस्तो कि जेठ महिनासम्म भन्सार महसुल अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले बढी, अर्थात् दुई खर्ब ७९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य लिइएको थियो।
तर, यो अवधिमा दुई खर्ब ७ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ। विगतका कुनै पनि आर्थिक वर्षमा ५४ प्रतिशतले भन्सार महसुल बढेको थिएन।
मूल्य अभिवृद्धि कर संकलन अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढेर जेठसम्म तीन खर्ब ४५ अर्ब रूपैयाँ पुग्ने आकलन गरिएको थियो। यथार्थमा भने तीन खर्ब दुई अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।
अन्तशुल्क ३२ प्रतिशतले बढेर जेठसम्म एक खर्ब ७८ अर्ब संकलन हुने लक्ष्य राखिएको थियो। करिब २० प्रतिशतले मात्र बढ्दा पनि एक खर्ब ६१ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।
लक्ष्य र प्राप्तिबीच सबैभन्दा ठूलो अन्तर भने आयकरमा देखिएको छ। जेठसम्म अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले आयकर बढेर तीन खर्ब १६ अर्ब रूपैयाँ उठ्ने लक्ष्य राखिएको थियो। यथार्थमा भने चार प्रतिशतले मात्रै बढेर दुई खर्ब ४२ अर्ब संकलन भएको छ।
अन्य कर र गैरकरसहित चालु वर्षको ११ महिनामा १० खर्ब २६ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष यसै समयमा नौ खर्ब ३४ अर्ब रूपैयाँ राजस्व उठेको थियो।
तर, सरकारले जेठसम्म अघिल्लो वर्षको भन्दा ३१ प्रतिशत बढी, १२ खर्ब ३४ अर्ब संकलन हुने लक्ष्य राखेको थियो।
विगतमा कुनै पनि आर्थिक वर्षमा ३१ प्रतिशतभन्दा माथिको राजस्व वृद्धि भएको थिएन।
चालु वर्षमा ९ प्रतिशतभन्दा माथिको राजस्व संकलन भएर पनि लक्ष्य र प्राप्तिबीच ठूलो अन्तर देखिएको छ।