२०८२ जेठ महिनासम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ।
यसमध्ये विदेशी मुद्रामा ल्याइएको ऋण १३ खर्ब ८२ अर्ब रूपैयाँ बराबरको छ। आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब रूपैयाँ छ।
फागुन महिनामा २६ खर्ब ७६ अर्ब रूपैयाँ रहेको यो ऋण सावाँ भुक्तानी र विदेशी मुद्राको विनिमयदर परिवर्तनका कारण तीव्र उतारचढाव देखिएको छ।
केही उदाहरण,
जेठ महिनामा सरकारले २३ अर्ब ३६ करोड १० लाख रूपैयाँ ऋण उठायो। सोही महिनामा १५ अर्ब ९३ करोड ८२ लाख रूपैयाँ सावाँ भुक्तानी गरियो।
लिएको ऋणबाट तिरेको ऋण घटाउँदा जेठमा ७ अर्ब ४२ करोड २८ लाख रूपैयाँ मात्रै ऋण थपिनुपर्ने हो।
तर, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो महिनामा सरकारको ऋण ३२ अर्ब २५ करोड ७१ लाख रूपैयाँले बढेको छ।
वैशाख महिनामा २४ अर्ब ७३ करोड रूपैयाँ ऋण उठाइएकोमा ४७ अर्ब ६९ करोड रूपैयाँ सावाँ भुक्तानी गरिएको थियो।
तिरेको ऋणबाट लिएको ऋण घटाउँदा वैशाखमा २२ अर्ब ९५ करोड रूपैयाँ ऋण घट्नुपर्ने हो। तर, सरकारी तथ्यांकमा यो महिनामा ४४ अर्ब ४६ करोड रूपैयाँले ऋण घटेको देखिन्छ।
फागुनसम्म सरकारको कुल ऋण २६ खर्ब ७६ अर्ब रूपैयाँ थियो। पछिल्ला तीन महिना (चैत, वैशाख, जेठ) मा ७९ अर्ब ५६ करोड रूपैयाँ ऋण उठाइयो।
यही अवधिमा उठाएकोभन्दा २८ अर्ब ११ करोड रूपैयाँ बढी अर्थात् १ खर्ब ७ अर्ब ६७ करोड रूपैयाँ सावाँ भुक्तानी गरियो। तर, यी तीन महिनामा जम्मा २१ अर्ब ३७ करोड रूपैयाँ मात्रै ऋण घटेको छ।
यी तथ्यांकले लिएको र तिरेको ऋणबीचको हिसाब मिलेको देखिँदैन।
पछिल्लो ६ महिनाको महिनागत ऋणको हिसाब

यो ठूलो अन्तर देखिनुमा नेपाली मुद्राको तुलनामा विदेशी मुद्रामा आएको परिवर्तनको प्रभाव रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निर्देशक प्रकाश पुडासैनी बताउँछन्।
'वैशाख महिनामा नेपालले ऋण लिएको मुद्रा पहिलेभन्दा कमजोर हुँदा करिब २२ अर्ब रूपैयाँ (२१ अर्ब ९० करोड) नाफा भएको थियो,' उनले भने।
अर्थात्, चैतको तुलनामा वैशाखमा मुद्राको परिवर्तनले नेपालले नेपाली रूपैयाँमा २२ अर्ब कम तिरे पुग्ने अवस्था थियो।
तर, जेठ महिनामा वैशाखको तुलनामा यी मुद्रा बलियो भए। फलस्वरूप २४ अर्ब ८३ करोड रूपैयाँ अतिरिक्त तिर्नुपर्ने देखियो।

यो ठूलो परिवर्तनको कारण के हो ?
यो विषयमा हामीले निर्देशक पुडासैनीसँग जिज्ञासा राखेका थियौं। उनको भनाइमा, 'यो परिवर्तन अमेरिकी डलर र स्पेसल ड्रइङ राइट (एसडिआर) मा आएको उतारचढावको प्रभाव हो। यसमा मुख्य भूमिका डलरकै हुन्छ।'
एसडिआर पाँच देशका मुद्रा (अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र बेलायती पाउन्ड) को औसत मूल्यमा आधारित कृत्रिम मुद्रा हो, जसमा डलरको हिस्सा ४१ प्रतिशत छ। नेपालको कुल वैदेशिक ऋणको ७५ प्रतिशत एसडिआर र १७ प्रतिशत अमेरिकी डलरमा छ।
चालु आर्थिक वर्षको ११ महिनामा एसडिआरको मूल्यवृद्धिका कारण ६० अर्ब रूपैयाँ वैदेशिक ऋणको भार बढेको छ।
डलरको मूल्यवृद्धिले ८ अर्ब रूपैयाँ थप भार परेको छ। अन्य मुद्राको मूल्यवृद्धिले समेत ७३ अर्ब रूपैयाँको अतिरिक्त भार थपिएको छ। डलर र एसडिआर बाहेक अन्य ८ वटा मुद्रामा नेपालले वैदेशिक ऋण लिएको छ।
पछिल्लो १२ महिनाको अन्तिम दिन १ एसडिआर वा डलरको तुलनामा नेपाली मुद्रा:
२०८१
|
महिना
|
डलर
|
एसडिआर
|
|
असार ३१
|
१३३.९६
|
१७७.८
|
|
साउन ३१
|
१३४.६२
|
१८०.१
|
|
भदौ ३१
|
१३४.५३
|
१८१.८
|
|
असोज ३१
|
१३४.७७
|
१७९.९
|
|
कात्तिक ३०
|
१३५.३४
|
१७७.९
|
|
मंसिर ३०
|
१३५.९७
|
१७८.३
|
|
पुस २९
|
१३७.८५
|
१७८.१
|
|
माघ ३०
|
१३९.२३
|
१८१.६
|
|
फागुन २९
|
१३९.८४
|
१८६.१
|
|
चैत ३१
|
१३७.९७
|
१८६.६
|
२०८२
|
|
|
|
|
वैशाख ३१
|
१३६.८४
|
१८४.८
|
|
जेठ ३१
|
१३७.२७
|
१८७.२
|
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हरेक महिना ऋणको हिसाब निकाल्छ। महिनाको अन्तिम दिन सम्बन्धित मुद्रामा लिइएको ऋण र नेपाली मुद्राको विनिमयदरको उतारचढावलाई आधार मानेर हिसाब गरिन्छ।
यद्यपि, सार्वजनिक ऋण सम्बन्धित मुद्रामै भुक्तानी हुन्छ र एकैपटक सबै ऋण तिरिँदैन। यो विभिन्न किस्तामा भुक्तानी हुन्छ।