यो वर्ष नेपालबाट ऐतिहासिक निर्यात भएको छ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ७८ प्रतिशतले निर्यात बढेर दुई खर्ब ४७ अर्ब रूपैयाँ बराबरको पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ३९ अर्ब रूपैयाँको कुल निर्यात भएको थियो।
विगतका कुनै पनि आर्थिक वर्ष कुल निर्यातमा यो दरको वृद्धि देखिएको थिएन। चालु वर्षको अघिल्लो महिनाहरू सरह अन्तिम महिना अर्थात् असारमा पनि याे गति कायम रहेमा यो वर्षभरीकाे निर्यात करिब दोब्बरले बढ्ने देखिएको छ। यो तथ्यांकमा यस्ताे बढाेत्तरी देखिदा गत वर्ष सर्वाधिक निर्यात भएका केही वस्तुको निर्यात यो वर्ष भने निकै घटेको छ।
आर्थिक वर्ष २०५२/५३ यता नेपालको निर्यात अत्यधिक बढाउँन वनस्पति घ्यु-तेलको योगदान महत्त्वपूर्ण देखिन्छ। यो वर्ष पनि भटमास र सूर्यमुखी तेल निर्यात अत्यधिक बढेकै कारण कुल निर्यातमा उल्लेखनीय वृद्धि भएको हो।
गत वर्ष भने वनस्पति तेलको निर्यात उल्लेखनीय घटेको थियो। तर यसै समयमा फलाम, स्टिल, सिमेन्ट, प्लाइउड लगायतका वस्तुको निर्यात उल्लेखनीय बढेको कारण निर्यातको नेपालको साख जोगाउन सहयोग पुगेको थियो।
यो वर्ष फलाम, स्टिल, क्लिंकर, प्लाइउड लगायतका वस्तुको निर्यात घटेको छ। भन्सार विभागका अधिकारीहरूको अनुसार गत वर्ष समग्र निर्यातमा ३७ प्रतिशत हिस्सा ओगटेका २० वस्तुको निर्यात यो वर्ष घटेर १६ प्रतिशतमा झरेको छ।
अघिल्लो वर्ष ११ महिनामा यी २० वस्तुको निर्यात ५२ अर्ब २७ करोड रूपैयाँ बराबरको भएकोमा यो वर्ष ४० अर्ब ११ करोड रूपैयाँ बराबरको मात्रै भएको छ।
फलामे पाताको निर्यात अघिल्लो वर्षको तुलनामा एक अर्ब १६ करोड रूपैयाँले घटेर ९ अर्ब ९ करोड रूपैयाँको मात्रै भएको छ।
सिमेन्टको अर्धतयारी कच्चा पदार्थ क्लिंकरको निर्यात पनि एक अर्ब १५ करोड रूपैयाँले घटेर ६६ करोड रूपैयाँको मात्रै निर्यात भएको छ।
जिआई वायरको निर्यात ४९ करोड रूपैयाँले घटेर ११ करोड रूपैयाँ बराबरको मात्रै भएको छ।
फलाम वा स्पातका पाइपको निर्यात ३३ करोड रूपैयाँले घटेर ४१ करोड रूपैयाँ बराबरको मात्रै भएको छ।
फलफूलको जुसको निर्यात ६८ करोड रूपैयाँले घटेर ७ अर्ब २५ करोड रूपैयाँ बराबरको भएको छ।
भारतीय भन्सार सुविधाको कारण भटमास र सूर्यमुखी तेलको निर्यात उल्लेखनीय बढ्दा त्यस्तै सुविधा पाएको पाम तेलको निर्यात भने यो वर्ष अत्यधिक घटेको छ।
यो वर्ष सबैभन्दा धेरै निर्यात घट्ने सूचीमा नै पाम तेल रहेको छ। यस्तो निर्यात चार अर्ब ३२ करोड रूपैयाँले घटेर एक अर्ब ९९ करोड रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
गत वर्षको तुलनामा निर्यात घटेका २० वस्तु:
रकम करोडमा
|
निर्यात हुने वस्तु
|
गत वर्षको निर्यात रकम
|
यो वर्षको निर्यात रकम
|
घटेको रकम
|
प्रशोधित पाम तेल
|
६३२
|
१९९
|
-४३२
|
फलामे पाता
|
१०२६
|
९१०
|
-११६
|
सिमेन्ट क्लिङकर
|
१८२
|
६७
|
-११५
|
फलफूलको जुस
|
७९३
|
७२५
|
-६८
|
अदुवा, सुठो
|
१०९
|
५४
|
-५५
|
जिआई वायर
|
६०
|
११
|
-४९
|
तयारी कपडा
|
७७२
|
७२७
|
-४५
|
बोरा झोला जुटको
|
२०६
|
१७१
|
-३५
|
धातुका अन्य अवशेष
|
३५
|
०
|
-३५
|
सेनिटरी प्याड , बेबी न्यापकिन,डाइपर
|
६७
|
३४
|
-३४
|
फलाम वा इस्पातका पाइप
|
७४
|
४१
|
-३३
|
लिड सिसा
|
११८
|
८८
|
-३०
|
जडीबुटी
|
२१०
|
१८१
|
-२८
|
अलैँची
|
७४६
|
७१९
|
-२७
|
हस्तकलाका रंगिन चित्रहरू
|
४२
|
१९
|
-२२
|
प्लाष्टिकका -बोतल
|
३५
|
१३
|
-२१
|
हवाइजहाजको इन्जिन
|
२२
|
२
|
-१९
|
कर्न फ्लेक्स, प्राउन, चिउरा, बुलगर आदि
|
३०
|
१२
|
-१७
|
चोकर, भुस
|
४०
|
२३
|
-१७
|
गहुको पीठो
|
३२
|
१५
|
-१७
|
किन घट्यो यी वस्तुको निर्यात?
सबैभन्दा धेरै घटेको पाम तेलको निर्यातको क्रममा भने नेपालको भन्सार दरबन्दीमा दुविधाको कारणले समस्या भएको व्यवसायीहरू बताउने गरेका छन्।
आयात गरिएको कच्चा पदार्थ र निर्यात गर्ने क्रमको वस्तुको एउटै भन्सार संकेत (हार्मोनाइज कोड) भएको भन्दै पछिल्लो डेढ वर्षदेखि निर्यातमा समस्या देखिएको हो।
अन्य वस्तुको हकमा भने निर्यात मूल्य घट्नुमा दुई वटा कारण देखिएका छन्। उल्लेखित अधिकांश वस्तुहरू भारतमा निर्यात हुने हुन्।
यी अधिकांश वस्तुको भारतीय गुणस्तर चिह्न प्राप्त गरेपछि मात्रै भारतमा निर्यात हुन्छ। तर गत असोज महिनादेखि चैत महिनासम्म यस्तो चिह्न प्राप्त गरेका उद्योगकहरूको नवीकरणमा ढिलाइ गरिएको थियो।
चैतमा अधिकांश उत्पादनको भारतीय गुणस्तर चिह्न नवीकरण गरिएपछि पछिल्लो महिना भने सुधार देखिएको छ।
यस्तै, अघिल्लो वर्षको तुलनामा बजार मूल्य घटेको कारण पनि यसको असर देखिएको छ।
जस्तो चालु वर्षमा फलामे पाताको निर्यात परिमाणात्मक रूपमा १ प्रतिशतले घटेको छ। तर मूल्यको हिसाबले भने ११ प्रतिशतले घटेको छ।
सिमेन्ट क्लिंकरको निर्यात मूल्यको हिसाबले ६३ प्रतिशतले घटे पनि परिमाणात्मक रूपमा २ प्रतिशतले मात्रै घटेको छ।
त्यस्तै, जडिबुटीको निर्यात परिमाणात्मक रूपमा ५४ प्रतिशतले बढेर पनि मूल्यको हिसाबले १३ प्रतिशतले घटेको छ।