चालु आर्थिक वर्षमा भन्सार विभागले विदेशी वस्तुको आयातबाट ४ खर्ब ४० अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ।
यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढी हो, जतिबेला ३ खर्ब ८६ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।
यसवर्ष आन्तरिक राजस्व औसत ९ प्रतिशतले बढेको छ भने भन्सार राजस्व वृद्धिदर त्योभन्दा निकै माथि छ।
समग्र आयात १३ प्रतिशतले बढ्दा राजस्व १४ प्रतिशतले बढेको हो। यसरी बढेको राजस्वमा १५ वटा वस्तु तथा पदार्थको योगदान ४७ प्रतिशतभन्दा बढी रहेको छ।
यी १५ वटा वस्तुको आयातबाट २ खर्ब ७ अर्ब रूपैयाँ भन्सार राजस्व संकलन भएको छ।
विशेषगरी विद्युतीय जीप, कार र भ्यानका साथै मोटरसाइकलको आयातमा भएको तीव्र वृद्धिले भन्सार राजस्व बढाउन मद्दत पुगेको देखिन्छ।
सरकारले विद्युतीय गाडी र पेट्रोलियम गाडीबीचको भन्सार दस्तुरमा ठूलो अन्तर गरेपछि प्रयोगकर्ता विद्युतीय गाडीतर्फ आकर्षित भएका छन्।
चालु आर्थिक वर्षमा विद्युतीय जीप, कार र भ्यानको आयातबाट १९ अर्ब ६० करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको छ। यस अवधिमा ३१ अर्ब ६१ करोड रूपैयाँ बराबरका यस्ता गाडी आयात गरिएका छन्।
गत वर्ष यसै अवधिमा ३० अर्ब रूपैयाँ बराबरका विद्युतीय जीप, कार र भ्यानको आयातबाट १३ अर्ब ३६ करोड रूपैयाँ भन्सार राजस्व उठेको थियो।
पाँच वर्षअघिसम्म भन्सार राजस्वमा विद्युतीय जीप, कार र भ्यानको हिस्सा नगन्य रहेकोमा अहिले भने यसले पेट्रोलियम गाडीलाई समेत उछिनेको देखिएको छ।
चालु वर्षमा ६ अर्ब ११ करोड रूपैयाँ मूल्यका पेट्रोलियम जीप, कार र भ्यान आयात गर्दा १५ अर्ब ३६ करोड रूपैयाँ राजस्व संकलन भएको छ। यो वर्ष पेट्रोलियम जीप, कार र भ्यानको आयात र राजस्व दुवै २० प्रतिशतले बढेको छ।
हाल नेपालमा आयात भइरहेका गाडीहरूमा औसतमा पेट्रोलियम जीप, कार र भ्यानमा २५१ प्रतिशत राजस्व लाग्छ।
अर्थात्, १ करोड रूपैयाँ बराबरको यस्तो गाडी आयात गर्दा भन्सार महसुल, अन्तशुल्क, पूर्वाधार कर, अन्य विभिन्न किसिमका दस्तुर र भ्याट गरेर २ करोड ५१ लाख रूपैयाँ राजस्व तिर्नुपर्छ, जसले गर्दा राजस्वसहितको आयात लागत मूल्य ३ करोड ५१ लाख रूपैयाँ पुग्छ।
यस्तै, विद्युतीय गाडीको आयातमा भने ६२ प्रतिशत भन्सार राजस्व लाग्छ। अर्थात्, १ करोड रूपैयाँ बराबरको विद्युतीय गाडी आयात गर्दा ६२ लाख रूपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ भने राजस्वसहितको आयात मूल्य १ करोड ६२ लाख रूपैयाँ पर्छ।
यो वर्ष अर्धतयारी (अनअसेम्बल) तथा तयारी मोटरसाइकलको आयात पनि उल्लेख्य बढेको छ, जसको प्रभाव राजस्वमा देखिएको छ।
११ महिनाको अवधिमा १५ अर्ब ६७ करोड रूपैयाँ बराबरका अनअसेम्बल मोटरसाइकल आयात भएका छन्। यस्ता मोटरसाइकलको आयातबाट १४ अर्ब ६० करोड रूपैयाँ राजस्व संकलन भएको छ।
अघिल्लो वर्ष यसै समयमा ९ अर्ब ८ करोड रूपैयाँको आयातबाट ८ अर्ब ३६ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।
यो वर्ष अनअसेम्बल मोटरसाइकलको आयात ७२ प्रतिशत र राजस्व ७४ प्रतिशतले बढेको छ। अनअसेम्बल मोटरसाइकलमा ९३ प्रतिशत राजस्व लाग्ने गरेको छ।
यो वर्ष तयारी मोटरसाइकलको आयात १० प्रतिशत र राजस्व १२ प्रतिशतले बढेको छ। ११ महिनाको अवधिमा ५ अर्ब ६६ करोड रूपैयाँका तयारी मोटरसाइकलको आयातमा ७ अर्ब रूपैयाँ बराबरको राजस्व संकलन भएको छ। तयारी मोटरसाइकलमा औसतमा १२४ प्रतिशत राजस्व लाग्ने गरेको छ।
चालु वर्षको ११ महिनामा सबैभन्दा धेरै राजस्व योगदान गर्ने १५ वटा वस्तुको कुल आयात मूल्य ६ खर्ब १२ करोड रूपैयाँ छ। समग्र आयातमा यी वस्तुको हिस्सा ३७ प्रतिशत रहेको छ।
राजस्वमा सबैभन्दा धेरै योगदान गर्ने वस्तुहरू
|
आयतित वस्तुको नाम
|
राजस्व बाहेक आयात मूल्य
|
राजस्व रकम
|
आयातमा लाग्ने औसत
राजस्व प्रतिशत
|
|
डिजेल
|
एक खर्ब १५ अर्ब
|
५२ अर्ब ३३ करोड
|
४५
|
|
पेट्रोल
|
५८ अर्ब ५८ करोड
|
३८ अर्ब ५८ करोड
|
६६
|
|
विद्युतबाट सञ्चालित जीप कार र भ्यानहरू
|
३१ अर्ब ६१ करोड
|
१९ अर्ब ६० करोड
|
६२
|
|
जीप कार र भ्यानहरू
|
६ अर्ब ११ करोड
|
१५ अर्ब ३६ करोड
|
२५१
|
|
मोटर साइकल (अन एसेम्बल्ड)
|
१५ अर्ब ६७ करोड
|
१४ अर्ब ६० करोड
|
९३
|
|
तयारी कपडा
|
३७ अर्ब ९२ करोड
|
१३ अर्ब २३ करोड
|
३५
|
|
एलपी ग्यास
|
५७ अर्ब ३६ करोड
|
१० अर्ब ६९ करोड
|
१९
|
|
शुद्ध फलाम
|
४५ अर्ब ७१ करोड
|
७ अर्ब ७ करोड
|
१५
|
|
मोटर साइकल
|
५ अर्ब ६५ करोड
|
६ अर्ब ९९ करोड
|
१२४
|
|
मोबाइल टेलिफोन
|
३३ अर्ब ८९ करोड
|
६ अर्ब ३१ करोड
|
१९
|
|
डन्डीको कच्चा पदार्थ (एचआरसिट)
|
३६ अर्ब ४ करोड
|
५ अर्ब ४० करोड
|
१५
|
|
दाना
|
२५ अर्ब २८ करोड
|
४ अर्ब ७६ करोड
|
१९
|
|
कोइला
|
२० अर्ब
|
४ अर्ब ४७ करोड
|
२२
|
|
सूर्यमुखीको कच्चा तेल
|
२६ अर्ब ८७ करोड
|
३ अर्ब ८५ करोड
|
१४
|
|
भटमासको कच्चा तेल
|
९५ अर्ब ७२ करोड
|
३ अर्ब ६४ करोड
|
४
|
सरकारले सवारीसाधन, मदिरा, चुरोट लगायतका वस्तुहरूमा उच्च भन्सार राजस्व लगाउने गरेको छ।
सिगारको आयातमा ४७७ प्रतिशतसम्म राजस्व लाग्ने गरेको छ।
यस्तो आयातमा सरकारले प्रतिहजार खिल्ली बराबर ९ हजार भन्सार महसुल, प्रतिखिल्ली ३१ रूपैयाँ अन्तशुल्क, ६० पैसा स्वास्थ्य जोखिम कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेको छ।