लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ।
बुधबार बसेको प्रदेश सभाको छैटौं अधिवेशनको सत्रौ बैठकले उक्त बजेट पारित गरेको हो।
सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
बुधबारको सत्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए।
सभामुख तुलाराम घर्ती मगरले मन्त्री कार्कीले प्रस्तुत गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।
पारित भएको बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ कुल बजेटको ३० दशमलव ८८ प्रतिशत र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ कुल बजेटको ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ।
यसअघि बुधबार बसेको सोह्रौं बैठकमा समूहगत छलफल भएको थियो। सोही बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले बजेटमाथि उठेका प्रश्नहरूको जबाफ दिएका थिए।
मुख्यमन्त्री आचार्यले बजेट कुनै हावादारी आधारमा नभई वैज्ञानिक विश्लेषण, आवश्यकता र औचित्यमाथि आधारित भएर ल्याइएको दाबी गरे।
उनले छुटेका योजनाहरू समेट्दै सरकार अघि बढ्ने भन्दै नमिलेका विषयहरूलाई मिलाउने समेत बताएका थिए।