सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आवेदन खुलाएको ८ दिनमा नै नागरिक बचतपत्रको बिक्री बन्द गरेको छ।
बचतपत्र भनेको आन्तरिक ऋण उठाउने एउटा औजार हो। मुख्यतया विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल्स बेचेर सरकारले आन्तरिक ऋण उठाउँछ।
कात्तिक २५ गते एक महिनाको अधिकतम समय दिएर सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे २ अर्ब रूपैयाँको ऋणपत्रको लागि आवेदन खुला गरेको थियो।
तर, मंसिर ४ गते दिउँसो ११ बजे नै (आठ दिनको अवधि) साढे २ अर्ब रूपैयाँकै ऋणपत्र बिक्री भएको कार्यालयले जनाएको छ।
सरकारलाई ऋण दिँदा पाइने ब्याज वाणिज्य बैंकहरूले दिने औसत ब्याजभन्दा बढी छ।
अहिले वाणिज्य बैंकहरूको औसत ब्याजदर ५.५ प्रतिशत मात्र छ। जबकि नागरिक बचतपत्रमा ६.५ प्रतिशत ब्याज दिइएको छ। सरकारले यस्तो ब्याज ६६ महिनामा दिन्छ।