ओमनबाट आउने नेपाली कामदारको मागपत्रमा समस्या देखिएको छ। समस्या देखिएपछि कामदार पठाउन झन्झटिलो हुदैँ आएको म्यानपावर व्यवसायीहरुले बताएका छन् ।
ओमनले पठाउने गरेको मागपत्रमा हप्ताको ५ दिन काम र अनिवार्य रुपमा ९ घन्टासम्म काम गर्नुपर्ने उल्लेख छ। तर श्रम विभागले भने मागपत्रमा हप्तामा ६ दिन काम र ८ घन्टा दैनिक हुनुपर्ने भन्दै त्यसलाई स्वीकार गरिरहेको छैन् ।
यस विषयलाई लिएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले ओमनस्थित नेपाली राजदुत शर्मिला पराजुलीलाई मस्कटमा भेटेर समस्या सुनाएका छन् ।
यस विषयमा बुझेर सहजीकरण गर्ने आश्वासन राजदुत पराजुलीले दिएको गुरुङले बताए। ओमनसँग हुन लागेको श्रम सम्झौता रोकिनु प्रति गुरुङले चासो व्यक्त गरेका थिए
राजदुत पराजुलीले श्रम सम्झौता अन्तिम चरणमा पुगेको त्यसका विषयमा गृहकार्य भइरहेको बताएकी छिन् ।
गुरुङसँगको भेटमा राजदुत पराजुलीले ओमनमा अवैध तरिकाबाट हाउसमेड कामदार भित्रिएको र त्यसमा केही म्यानपावरहरुकै सम्लग्नता देखिएको बताएकी थिईन्।
गुरुङले भने म्यानपावरका आडमा अवैध तरिकाबाट हाउस मेड तस्करी गर्ने म्यानपावरलाई कारबाहीको सिफारिस गर्न राजदुत पराजुलीको ध्यानाकर्षण गराएका थिए। ओमनमा अहिले ४० हजार नेपाली कामदार छन् ।