सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका हकवालालाई दिने आर्थिक सहायता रकम बढाउने निर्णय गरेको छ।
गत असोजमा बसेको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौं संशोधनलाई स्वीकृत गर्दै आर्थिक सहायता रकम बढाउने निर्णय गरेको हो।
हाल वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको छ।
मृतकका हकवालालाई दिइँदै आएको आर्थिक सहायता ज्यादै न्यून भएका कारण समय सापेक्ष बनाउन बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरूले बताउँदै आएका छन्।
सहायता रकमसम्बन्धी निर्णय धेरै पुरानो भएको र अहिलेको अवस्थामा कम भएकाले बढाउने निर्णय गरिएको उल्लेख छ।
यसअघि २०८० साउनमा नै श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको बैठकले आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो।
त्यसबेला मन्त्रालयका तत्कालीन सचिव केवल प्रसाद भण्डारीले बोर्डले दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति पनि ज्यादै न्यून भएका कारण बढाउने निर्णय भएको बताएका थिए।
बोर्डबाट २०६५ सालदेखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई आर्थिक सहायता दिन थालिएको हो।
सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४/७५ देखि बढाएर ७ लाख रूपैयाँ पुर्याइएको थियो।
बोर्डले कामका शिलशिलामा अंगभंग भएका तथा बिरामीलाई समेत आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।
बोर्डका निर्देशक टिकाराम ढकालले अंगभंग वा रोगको प्रकृति हेरेर बिरामी वा घाइते व्यक्तिलाई बोर्डले २५ हजारदेखि सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको बताए।
वैदेशिक रोजगारीका क्रममा कसैको ज्यान गए शव नेपाल झिकाउने तथा शवलाई घाटसम्म पुर्याउन पनि बोर्डले सहयोग गर्दै आएको छ।
यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
आर्थिक सहायता बढाएसँगै कल्याणकारी कोषमा श्रमिकले जम्मा गर्नुपर्ने रकम पनि बढाउने कुरा उठिरहेको छ। यसमा आलोचना खेप्नुपर्ने डरले मन्त्रालयले कुनै निर्णय लिइसकेको छैन।
बढाएर १० लाख पुर्याउने निर्णय गरिएको आर्थिक सहायता रकम कहिलेदेखि लागू हुन्छ त? हामीले यस विषयमा बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र निर्देशक टिकाराम ढकालसँग कुरा गरेका छौं।
कार्यकारी निर्देशक उप्रेतीले मन्त्रिपरिषदबाट निर्णय भइसकेको भनेर अनौपचारिक जानकारी भए पनि मन्त्रालयबाट औपचारिक जानकारी नआएको बताए।
'मन्त्रालयबाट पत्र आइसकेको छैन। अब कहिलेदेखि लागू गर्ने भन्ने विषयमा पनि अहिल्यै भन्न सकिँदैन,' उनले भने।
बोर्डका निर्देशक ढकालले राजपत्रमा सूचना प्रकाशित भइसकेपछि लागू हुने बताए।
'राजपत्रमा सूचना मन्त्रालयले प्रकाशित गर्ने हो। कहिले हुन्छ यस विषयमा जानकारी आएको छैन,' उनले भने।
वैदेशिक रोजगारीका क्रममा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाउने तथा अंगभंग भएर फर्कने गरेका छन्।
पछिल्लो तथ्यांक हेर्दा वार्षिक एक हजारभन्दा धेरैले विभिन्न मुलुकमा ज्यान गुमाउने गरेका छन्। पाँच सयको हाराहारीमा अंगभंग भएर फर्कनु परेको अवस्था छ।
बोर्डकाअनुसार मृत्यु हुनेमा धेरैजसो प्राकृतिक कारण देखाइएको पाइन्छ। त्यस्तै आत्महत्या, दुर्घटना, हर्टअट्याक जस्ता कारण पनि मृत्यु हुने गरेको उल्लेख गरिएको छ।
काम गर्ने क्रममा तथा सडक दुर्घटनालगायत कारण अंगभंग भएर फर्कने गरेका छन्। त्यस्तैगरी, मिर्गौला, मुटुरोग लगायत दीर्घकालीन रोगका सिकार भएर समेत थुप्रै युवाहरू फर्कने गरेका छन्।