म्यानपावर व्यवसायी रोहन गुरूङले नाम चलेका अस्पतालमा स्वास्थ्य परीक्षण (फुलबडी चेकअप) गराउँदा समेत पाँच हजार रूपैयाँ नपर्ने स्वास्थ्य परीक्षण शुल्क बढाएर सरकारले श्रमिकमाथि आर्थिक भार थुपारेको आरोप लगाएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै केही मेडिकल संस्था (क्लिनिक) लाई फाइदा पुग्ने गरी सरकारले शुल्क तोकेको आरोप लगाएका हुन्।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मन्त्री स्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क ९ हजार ५ सय रूपैयाँ तोकेका थिए।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलले विभिन्न किसिमका परीक्षण थप गर्नुपर्ने सुझाव दिएको थियो।
परीक्षण शीर्षक थपेसँगै मन्त्रालयले शुल्क समेत बढाउने निर्णय गरेको थियो।
बढाइएको शुल्क मेडिकलहरूले मंसिर १० गतेदेखि लागू गरेको सूचना निकालेका छन्। म्यानपावर व्यवसायी गुरूङले भने श्रमिक माथि आर्थिक भार थप्ने उक्त निर्णय तत्काल खारेज हुनुपर्ने बताएका छन्।
मेडिकल व्यवसायीहरू भने अहिले बढाइएको शुल्क समेत कम भएको बताइरहेका छन्।
विभिन्न ३४ किसिमका परीक्षण गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले तोकेको दररेटभन्दा कम शुल्क मन्त्रालयले तोकिदिएको उनीहरूको भनाइ छ।
श्रमिकहरूको स्वास्थ्य मन्त्रालयको दररेटअनुसार १२ हजार भन्दा धेरै शुल्क लिन पाउनेमा मन्त्रालयले ९ हजार ५ सय रूपैयाँ मात्रै तोकिदिएको व्यवसायीहरू बताउँछन्।