नेपालमा मोबाइल प्रयोगकर्ताको सङ्ख्या बढेसँगै आयातमा लगातार वृद्धि हुँदै गएको छ।
आर्थिक वर्ष २०७४/७५ मा विभिन्न देशहरूबाट ६२ लाख २३ हजार ६ सय ६५ ओटा मोबाइल सेट भित्रिएका छन्। सो परिमाणको मोबाइल आयातको लागि देशबाट झन्डै २५ अर्ब रूपैयाँ बाहिरिएको छ।
सो आवमा आयात भएकामध्ये ८७ प्रतिशत चिनियाँ फोन छ। चीनबाट मात्रै २० अर्ब रूपैयाँ बराबरको ५४ लाख १३ हजार ९ सय २० वटा सेट आयात भएको भन्सार विभागले जनाएको छ।
आव २०७३/७४ मा करिब २३ अर्ब रूपैयाँको ५९ लाख ५४ हजार ५ सय ३८ ओटा मोबाइल सेट भित्रिएको विभागको तथ्याङ्क छ। सोही अवधिमा ५२ लाख ४१ हजार ५ सय ७८ ओटा मोबाइल सेट चीनबाट भित्रिएका थिए।
देश | आव २०७३/०७४ | आव २०७४/०७५ |
| सेट सङ्ख्या | मूल्य (रुपैयाँमा) | सेट सङ्ख्या | मूल्य (रुपैयाँमा) |
चीन | ५२४१५७८ | १७४२६२१७ | ५४१३९२० | १९७२०५३५ |
भियतनाम | ४२८०४३ | ४६७४७५१ | ५१०७९६ | ४७२२७०८ |
भारत | २७४६८० | ४६८०९९ | २९५८५० | ३८८६१९ |
स्रोत भन्सार विभाग
ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि सेवाको उपयोग तीव्र रूपमा भइरहेको छ। मोबाइल व्यवसायी संघका अध्यक्ष पुरूषोत्तम वस्नेत अधिकांश ब्राण्डेड मोबाइल चीनमा उत्पादन भएर संसारभरि नै बिक्री वितरण हुने गरेको बताउँछन्। एप्पल सामसुङ जस्ता अमेरिकी र कोरियन मोबाइल पनि चीनबाट आयात हुने गरेको उनको भनाइ छ।
चीनपछि भियतनामबाट धेरै मोबाइल आयात हुने गरेको पाइन्छ। भियतनामबाट आव २०७४/७५ मा करिब ५ अर्ब रूपैयाँ बराबरको ५ लाख १० हजार ७ सय ९६ वटा मोबाइल सेट आयात भएको छ। आव २०७३/०७४ मा सोही देशबाट ४ लाख २८ हजार ४३ वटा मोबाइल सेट भित्रिएका थिए।
भियतनामपछि भारत तेस्रो स्थानमा छ। २०७४/७५ भारतबाट झण्डै ३ लाख मोबाइल सेट आयात भएको छ भने आव २०७३/७४ मा २ लाख ७४ हजार ६ सय ८० वटा मोबाइल सेट आयात भएको छ। त्यसैगरी, ३ हजार ९९ मोबाइल सेट अन्य देशबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ।
अधिकांश बहुर्राष्ट्रिय मोबाइल कम्पनीले चीन, भियतनाम र भारतजस्ता प्राविधिक श्रमशक्ति सस्तो भएको देशमा उत्पादन केन्द्र खोलेको वस्नेत बताउँछन्। फलस्वरूप, ती देशबाट सबैभन्दा बढी मोबाइल सेट आयात भएको हो।
दक्षिण एसियाको चाहना अनुरूपका मोडलहरू ती देशमा बन्ने भएकाले पनि मोबाइल बढी आयात हुने गरेको उनको ठम्याइ छ। ‘चीनमा सबै किसिमका मोबाइल बन्ने र तुलनात्मक रूपमा सस्तो पनि भएकाले बढी आयात हुने गरेको छ,’ उलने भने।
सबैभन्दा महँगा र ब्राण्डेड मोबाइल हङकङ, दुबई, थाइल्याण्ड अमेरिका तथा युरोपेली मूलुकबाट आउने गरेका छन्। तिमध्ये व्यक्तिगत प्रयोगका लागि आउने भएकाले भन्सार विभागको तथ्याङ्कमा उपलब्ध छैन। विभागका तथ्याङ्क अधिकृत राम वाग्लेका अनुसार ती देशबाट आउने मोबाइल सेट रोजगारी तथा भ्रमणमा गएका व्यक्तिबाट आउने भएकाले विभागमा यसको तथ्याङ्क हुँदैन।
दूरसञ्चार सेवा विस्तार र नयाँ प्रविधिको उपयोगको तीव्र चाहनाका बीचमा मोबाइल सेटको आयात बढ्नु सामान्य भएको नेपाल दूरसञ्चचार प्राधिकारणका प्रवक्ता मीन प्रसाद अर्याल बताउँछन्। उनको भनाइमा शत प्रतिशत जनसङ्ख्यामा दूरसञ्चार सेवा नपुगे पनि कुल जनसङ्ख्याको ९८ प्रतिशत जनसङ्ख्या र ६८ प्रतिशत भूगोलमा यसको पहुँच छ।