कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशभर आवतवाजावत ठप्प छ। यसले देशको अर्थतन्त्रलाई नै प्रभाव पारेको छ। लकडाउनको कारण मानिसले बाहिर आवत जावत गर्न नपाउँदा नगद कारोबार मात्र होइन अनलाइन कारोबार पनि नभएको व्यवसायीहरू बताउँछन्।
मान्छेहरु घरभित्र बस्दा नगदको तुलनामा अनलाइन माध्यमबाट भुक्तानी भइरहेको धेरैको अनुमान छ। धेरैको अनुमान विपरित अनलाइन माध्यमका बारोबार पनि खुम्चिएका छन्।
दैनिक उपभोग्य वस्तु बाहेकको कारोबारमै रोक लागेको अवस्थामा समग्र कारोबार घटेको व्यवसायीहरुले बताएका छन्।
इन्टरनेट वा फोनको माध्यमबाट भुक्तानी हुनेमध्येको एक माध्यम हो मोबाइल वालेट। लकडाउन अवधिमा यसबाट हुने कारोबार घटेको छ।
लकडाउनले पहिलेको तुलनामा कारोबार झण्डै ५० प्रतिशतले घटेको खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले बताए। लकडाउनले प्लेन टिकट, मुभी, इकमर्श लगायतका सबै कारोबार बन्द भएकाले कारोबार घटेको हुनसक्ने उनको अनुमान छ।
‘लकडाउनको कारण केही राहत पाइन्छ की भन्ने आशाले होला उपभोत्ताले बिजुलीको बिल पनि तिरेका छैनन्,’ उनले भने।
घरमा भएपछि इन्टरनेटबाटै फोन गर्ने भएकाले मोबाइल रिचार्जमा पनि कमी आएको उनले बताए।
उनका अनुसार टिभी र इन्टरनेटको कारोबार भने पहिलेको तुलनामा बढेको छ। योसँगै नयाँ प्रयोगकर्ता पनि थपिएको उनले बताए।
आइएमइ पे का सिइओ विकास नाहाटा पनि इन्टरनेट तथा टिभी, मोबाइल रिचार्जको कारोबार बढेपनि समग्रमा कारोबार घटेको बताउँछन्।
‘इन्टरनेटको पैसा तिरेन भने कम्पनीले इन्टरनेट काटिदिने भएकाले उपभोक्ताले इन्टरनेटको पैसा तिरेका छन्, अन्य कारोबार भने ठप्पै भएको छ,’ उनले भने।
उनका अनुसार आइएमइ पेका प्रयोगकर्ता भने दिनप्रतिदिन बढ्दै गएका छन्। आइएमई पे को वालेटमा पैसा राख्दा कम्पनीले ४ प्रतिशत ब्याज दिने गरेकाले पनि प्रयोगकर्ता बढेको हुन सक्ने उनको अनुमान छ।
लकडाउनको बेला अत्यावश्यक काम इन्टरनेटको बिल तिर्ने, अनलाइनबाट खाद्य सामाग्री किन्ने लगायतको कारोबार बढेको सेलपेका प्रबन्ध निर्देशक प्रवन प्रधानले बताए।