चालू आर्थिक वर्ष २०७८/०७९को साउनदेखि पुससम्ममा विभिन्न देशहरूबाट ३५ लाख ६४ हजार वटा मोबाइल सेट भित्रिएका छन्। सो परिमाणको मोबाइल आयातको लागि देशबाट २५ अर्ब ६२ करोड रूपैयाँ बाहिरिएको छ।
गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा १ लाख सेट फोन कम आयात भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण चिप सेट अभाव भएकाले फोन आयात कम भएको मोबाइल इम्पोर्ट एसोसिएसनका अध्यक्ष दीपक मल्हात्राले जानकारी दिए।
गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा करिब २० अर्ब ६३ करोड रूपैयाँको ३६ लाख ६४ हजार वटा मोबाइल सेट भित्रिएको विभागको तथ्यांक छ। सोही अवधिमा ३० लाख २० हजार वटा मोबाइल सेट चीनबाट भित्रिएका थिए।
साउनदेखि पुससम्मा आयात भएकामध्ये ८४ प्रतिशत चिनियाँ फोन छन्। चीनबाट मात्रै २० अर्ब रूपैयाँ बराबरको २७ लाख वटा सेट आयात भएको भन्सार विभागले जनाएको छ।
ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल फोन सेवाको उपयोग तीव्र रूपमा भइरहेको छ।
मोबाइल इम्पोर्ट व्यवसायी संघका अध्यक्ष मल्होत्रा अधिकांश ब्राण्डेड मोबाइल चीनमा उत्पादन भएर संसारभरि नै बिक्री वितरण हुने गरेको जानकारी दिए। एप्पल, सामसङजस्ता अमेरिकी र कोरियन मोबाइल पनि चीनबाट आयात हुने गरेको उनको भनाइ छ।
चीनपछि भारतबाट धेरै मोबाइल आयात हुने गरेको पाइन्छ। भारतबाट साउनदेखि पुससम्ममा करिब ९ अर्ब ५० करोड रूपैयाँ बराबरको ६ लाख ८७ हजार वटा मोबाइल सेट आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भारतबाट ४ लाख ६० हजार वटा मोबाइल सेट भित्रिएका थिए।
भारतपछि भियतनाम तेस्रो स्थानमा छ। चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा भियतनामबाट झण्डै १ लाख ६१ हजार मोबाइल सेट आयात भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा भियतनामबाट एक लाख ८० हजार वटा मोबाइल सेट आयात भएको छ।
त्यसैगरी, ११ हजार ८ सय वटा मोबाइल सेट अन्य देशबाट आयात भएको तथ्यांकमा उल्लेख छ।
अधिकांश बहुराष्ट्रिय मोबाइल कम्पनीले चीन, भियतनाम र भारतजस्ता प्राविधिक श्रम शक्ति सस्तो भएको देशमा उत्पादन केन्द्र खोलेको मल्होत्रा बताउँछन्। फलस्वरूप, ती देशबाट सबैभन्दा बढी मोबाइल सेट आयात भएको हो।
दक्षिण एशियाको चाहना अनुरूपका मोडलहरू ती देशमा बन्ने भएकाले पनि मोबाइल बढी आयात हुने गरेको उनको ठम्याइ छ। साथै, ती देशबाट नेपालमा यहाँ व्यापार गर्न सहज पनि छ।
‘चीनमा सबै किसिमका मोबाइल बन्ने र तुलनात्मक रूपमा सस्तो पनि भएकाले बढी आयात हुने गरेको छ,’ उलने भने।
सबैभन्दा महंगा र ब्राण्डेड मोबाइल हङकङ, दुबई, थाइल्याण्ड अमेरिका तथा युरोपेली मूलुकबाट आउने गरेका छन्। तीमध्ये व्यक्तिगत प्रयोगका लागि आउने भएकाले भन्सार विभागको तथ्यांकमा उपलब्ध छैन।
गत र चालू आर्थिक वर्षको ६ महिनामा भित्रिएका मोबाइल सेटको तथ्यांकः
देश | आव २०७७/०७८ | आव ०७८/०७९ |
सेट(संख्या) | मूल्य(हजारमा) | सेट (संख्या) | मूल्य (हजारमा) |
चीन | ३०,२०,५८० | १३४,०१,५०६ | २७,०३,२९० | १५०,०४,९०० |
भारत | ४,६०,५२० | ६४,४४,३४८ | ६८७,५३७ | ९५,०७,५५३ |
भियतनाम | १,८०,५४० | ६४८,९९० | १,६१,८०६ | ७८९,५८० |
स्रोतः भन्सार विभाग