अमेरिकाले चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानहरूमा रेसिप्रोकल (पारस्परिक) भन्सार दर नलगाउने भएपछि आइफोन बनाउने एप्पल कम्पनीका लागि ठूलो संकट टरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च रेसिप्रोकल महसुल लगाउने घोषणा गरेका थिए। त्यसपछि पटक-पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका थिए। जसका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको थियो। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएका थिए।
एप्पलको सबभन्दा कमाइ हुने आइफोन मात्रै नभएर आइप्याड र म्याकबुकहरू मुख्यतः चीनमै बन्छन्।
ब्लुमबर्गका अनुसार करिब ८७ प्रतिशत आइफोन, ८० प्रतिशत आइप्याड र ६० प्रतिशत म्याकबुक चीनमा बन्छन्। त्यसैले चीनसँग ट्रम्पले व्यापार युद्ध चर्काएपछि अप्रिल २ देखि अहिलेसम्म एप्पल कम्पनीको सेयरको भाउ ११ प्रतिशतले झरेको छ।
एप्पल कम्पनीले भन्सारका कारण बढेको लागत उपभोक्तामाथि थोपरेको भए महँगो मोडलको आइफोनको मूल्य अमेरिकी उपभोक्ताका लागि करिब २,५०० डलर पुग्न सक्ने हुन्थ्यो।
हाल आइफोन १६ प्रो म्याक्स मोडलको १ टिबी स्टोरेज भएको फोनको रकम अमेरिकामा करिब १,६०० डलर पर्छ।
यस्तोमा अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सूचना जारी स्मार्टफोन, कम्युटर लगायतका इलेक्ट्रोनिक सामानहरूमा भन्सार छुट दिने निर्णयले एप्पललाई राहत भएको छ।
विभागको सो निर्णय अनुसार त्यस्ता सामानमा १० प्रतिशत विश्वव्यापी भन्सार पनि नलाग्ने भएको छ। तर दोस्रो कार्यकालको सुरूमा १० प्रतिशतको दरले दुईपटक गरेर बढाएको २० प्रतिशत दर भने लाग्नेछ।
यो नयाँ निर्णयपछि एप्पलको सेयरको भाउ सोमबार बजार खुलेपछि केही बढ्ने अनुमान गरिएको छ।
चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्सलाई रेसिप्रोकल भन्सारमा छुट नदिएको भए एप्पलले हतारमै आफ्ना सबै कारखाना भारत लगायत देशमा सार्नुपर्ने हुन्थ्यो। अहिले पनि भारतमा एप्पलले आइफोन बनाउन सुरू गरिसकेको छ। तर उत्पादन बढाएर चीनमा बनिरहेको संख्यामा बनाउन छोटो समयमा असम्भव प्राय: हुन्थ्यो।
ट्रम्पले रेसिप्रोकल भन्सारमा छुट दिएकाले चीनसँगको चर्कंदो व्यापार युद्धबाट जोगिन एप्पलले बिस्तारै आफ्ना कारखाना चीनबाहिर सार्न पाउनेछ।
सबभन्दा मुख्य कुरा यो वर्षको अन्त्यतिर एप्पलले बजारमा ल्याउन लागेको आइफोन १७ को उत्पादन पनि रेसिप्रोकल भन्सारका कारण प्रभावित हुने खतरा थियो।
एप्पलले आइफोन १७ मुख्यतः चीनमै बनाउने सोचेको छ। यस्तोमा केही महिनामै भारत वा अन्यत्र उत्पादन गरेर आइफोन १७ बजारमा ल्याउन मुश्किल हुने थियो। हतार हतारमा चीनबाहिर उत्पादन सार्नु पर्ने हुँदा लागत पनि बढ्ने हुन्थ्यो।
उसो त एप्पल कम्पनीलाई फाइदा हुनेगरी ट्रम्पले पछिल्लो निर्णय लिएको भनेर केहीले आलोचना पनि गरेका छन्। तर आइफोनमा चीनलाई लगाइरहेको रेसिप्रोकल भन्सार दर लागेको भए एप्पलमाथि अन्याय हुने थियो।
किनभने आइफोनको मुख्य प्रतिस्पर्धी सामसुङ फोन बनाउने दक्षिण कोरियालाई लगाएको उच्च रेसिप्रोकल भन्सार ट्रम्पले ९० दिनका लागि फिर्ता लिएका थिए। त्यसको सट्टा सबै देशलाई लगाएको १० प्रतिशत भन्सार दर मात्रै दक्षिण कोरियालाई लगाएका थिए।
यस्तोमा चीनमा बनेका आइफोनमा १४५ प्रतिशत भन्सार लगाइरहेको भए दक्षिण कोरियाली कम्पनी सामसुङलाई अमेरिकी कम्पनी एप्पलको तुलनामा अमेरिकी बजार ज्यादा फाइदाजनक हुने थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)