दुई दिनमै सुनको मूल्य तोलामा तीन हजार ९ सय रूपैयाँ बढेको छ।
सरकारले सुनको भन्सार दर परिवर्तन गरेपछि तोलामै ४ हजार ९ सय ७२ रूपैयाँ बढी मूल्य तिनुपर्ने अवस्था आएको हो।
जेठ १५ गतेसम्म व्यवसायीले एक केजी सुन किन्दा भन्सार शुल्क ८ लाख ५० हजार रूपैयाँ तिर्ने गरेका थिए। बुधबार भने सोही परिमाण सुन किन्दा १२ लाख ७५ हजार रूपैयाँ तिरेका छन्।
जेठ १५ गते अघिसम्म सरकारले सुनमा मूल्यको आधारमा नभई परिमाणको आधारमा भन्सार लगाउँदै आएको थियो।
सरकारले यसअघि प्रति १० ग्राम सुनमा ८ हजार ५ सय रूपैयाँ भन्सार दर तोकेको थियो। अब भने प्रति केजी सुनको मूल्य जति पर्छ त्यसको १५ प्रतिशत भन्सार दर लाग्ने व्यवस्था गरेको छ।
मूल्य घट्दा भन्सारबापत तिर्नुपर्ने रकम पनि घट्छ भने मूल्य बढ्दा भन्सार बापत तिर्नुपर्ने रकम पनि बढ्छ।
सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए।
'जेठ १५ सम्म हामीले प्रति केजी सुनमा ८ लाख ५० हजार रूपैयाँ भन्सार तिरिरहेका थियौं,' उनले भने, 'बुधबार भने प्रति किलो सुनको १२ लाख ७५ हजार रूपैयाँ तिरेका छौं।'
जेठ १५ गतेसम्म प्रतितोला (११.६६ ग्राम) सुनमा ९ हजार ९ सय ४५ रूपैयाँ भन्सार लागेकोमा व्यवसायीहरूका अनुसार अहिले १४ हजार ९ सय १७ रूपैयाँ तिर्नुपरेको छ।
यसरी सुनको मूल्य बढ्दा उपभोक्ताको खरिद गर्ने क्षमता घट्ने उनी बताउँछन्।
'सुनको मूल्य बढी भएपछि अधिकांशले सुन किन्न सक्दैनन्,' उनले भने, 'उपभोक्ताको माग घटेपछि हाम्रो व्यवसाय कसरी चल्छ?'
सुनको कारोबार घट्दा यसमा आश्रित कालिगढ पनि पलायन हुने अवस्था आउने उनको भनाइ छ।
सरकारको यो व्यवस्थाले सुन बजारलाई नियन्त्रण गर्न खोजिएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए।
'एकैपटक यति धेरै मूल्य बढाउनु भनेको बजार नियन्त्रण गर्न खोज्नु नै हो,' उनले भने।
सरकारको यो व्यवस्थाले संविधानले दिएको सम्पत्तिको हकको हनन भएको उनको भनाइ छ।
सरकारको यो नीति विभेदकारी भएको समेत उनले दाबी गरे।
'विदेशबाट फर्कदा महिलाले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार लाग्दैन तर पुरूषले २५ ग्रामभन्दा बढी ल्यायो भने भन्सार लाग्छ,' उनले भने।
उनका अनुसार सरकारको यो व्यवस्थाले अन्य देशमा भन्दा यहाँ प्रतितोला सुन १५ हजारभन्दा बढीले महँगो पर्छ। त्यसले यहाँको बजार घट्न थाल्छ।
'अहिलेसम्म विदेशमा बस्ने नेपालीहरूले यहाँका गरगहना लैजाने गरेका थिए,' उनले भने, 'अब विदेशमै किन्छन्।'
सरकारको यो निर्णयले अनौपचारिक क्षेत्र हाबी हुन गई सरकारी राजस्वमा समेत असर पर्ने उनले बताए।
सरकारले यो निर्णय नसच्याए व्यवसायी आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ।
जेठ १५ गते (सोमबार) प्रतितोला सुनको मूल्य एक लाख ८ हजार रूपैयाँ थियो भने बुधबार एक लाख १२ हजार रूपैयाँ छ।