ललितपुर महानगरपालिका भवनअगाडि थोरै खाली ठाउँमा खुला आकाशमुनि एक युवक जुत्ता मर्मत गर्ने काम गर्छन्। उनी हुन् रौतहटका प्रकाश राम।
केही महिनाअघिसम्म बिहान छ बजेतिर आउँथे र बेलुका साँझ परेपछि फर्किन्थे। आजकाल बिहान आउने समय उही छ, तर बेलुका फर्किन समय अलिक पर धकेलिएको छ। आठ बजेपछि मात्रै फर्किन्छन्। उनको कामको समय कम्तीमा दुई घन्टा बढेको छ।
उनी कामका लागि बस्ने चोकमा ललितपुर महानगरले 'हाइ-मास्ट लाइट' बत्ती राखेको छ। एलइडी बल्ब भएको हाइ-मास्ट बत्तीबाट अत्यन्तै कम विद्युत शक्तिमा बढी उज्यालो प्राप्त हुन्छ।
रातमा काम गर्न प्रकाशलाई यो प्रकाश पर्याप्त भएको छ। सम्झाँझै घर फर्किनुभन्दा अलिक अबेरसम्म काम गर्नु उचित ठानेर उनी कम्तीमा आठ बजेसम्म बस्न थालेका हुन्।
'लाइट (बत्ती) नहुँदा छिट्टै फर्किन्थेँ। ग्राहक आए पनि भोलि आउनू भनेर फर्काउँथे। आजकाल त राति आठ बजेसम्म बस्छु। ग्राहक आए भने अझै ढिलोसम्म पनि बस्छु,' उनले भने, 'दिउँसो जत्तिकै उज्यालो हुन्छ भन्दा पनि हुन्छ। राति शीतल पनि हुन्छ।'
बिहान काम राम्रो चल्छ। बिहान स्कुल–कलेज जाने विद्यार्थीहरू हुन्छन्। तिनले काम दिन्छन्। करिब ११ बजेतिर खाना खान कोठामा जान्छन्। केही बेर आराम गरेर फर्किन्छन् र काममा बस्छन्।
कामको समय बढ्दा प्रकाशको आम्दानी पनि बढेको छ।
'थोरै भए पनि आम्दानी बढेको छ। खाली बस्नुपरेको छैन,' उनले भने।
सडक पेटीमा सानै भए पनि उनको पेसा राम्ररी चलेको छ। उनी कामबाट सन्तुष्ट देखिन्छन्। सडकमा जुत्ता सिएरै परिवारको खर्च चलेको छ। उनको कमाइ भन्नु जुत्ताचप्पल सिएर आउने पैसा नै हो।
उनले पैदल यात्रुलाई पनि सजिलो भएको देखेका छन्।
'सडकमा बत्ती हुँदा जेब्राक्रसिङमा बाटो काट्नेलाई पनि सजिलो भएको छ। अँध्यारोमा बाटो काट्दा गाडीको बत्तीले आँखा खान्थ्यो। अहिले गाडीको बत्तीभन्दा सडकको बत्ती उज्यालो छ,' उनले भने।
यहाँ राखिएको बत्तीले सुविधा भएको बताउँछिन् ललितपुरकी स्थायी बासिन्दा सपना श्रेष्ठ पनि। ग्वार्कोमा उनको व्यवसाय छ। महानगरपालिकाले चोकमा चहकिलो बत्ती राखेपछि उनलाई पनि काममा सजिलो भएको छ। सुरक्षाको अनुभूति पनि भएको छ।
उनी पनि राति अलिक अबेर व्यवसाय बन्द गरेर घर जान्छिन्। घर जान केही बेर भित्री गल्ली हिँड्नु पर्छ। यस्तो चहकिलो बत्ती भित्री सडक र गल्लीमा पनि राख्नुपर्छ भन्ने उनलाई लागेको छ।
'राति गल्लीको बाटो हिँडेर घर पुग्नुपर्छ। बत्ती नहुँदा ढुक्क भएर हिँड्न सकिँदैन। मनमा डर लाग्छ,' उनी भन्छिन्, 'गल्लीमा असुरक्षा हुन्छ, चोरी हुन्छ, शारीरिक हिंसा पनि हुन्छ। गल्लीमा हिँड्नेलाई बढी खतरा छ। यस्तो उज्यालो गल्लीमा पनि हुनुपर्ने हो।'
पाटनका गल्लीभित्र चहकिला बत्ती राख्न महानगरलाई सपनाको सुझाव छ। यसो भयो भने बाटो हिँड्नेलाई सुरक्षाको अनुभव हुन्छ, अपराध हुँदैन भन्ने उनलाई लागेको छ।
ललितपुरका ट्राफिक प्रहरी निरीक्षक प्रह्लाद सिलवालका अनुसार ललितपुर महानगरपालिकाले हाइ-मास्ट बत्ती राखेपछि ट्राफिक व्यवस्थापनमा पनि सहज भएको छ। सडक दुर्घटना पनि कम भएको उनको अनुभव छ।
'सडकमा कडा उज्यालो दिन बत्ती राखेपछि पैदल यात्रुहरूलाई सहज भएको छ। सवारी साधनको गति पनि कम भएको छ। सडक दुर्घटना पनि कम भएको छ। बाटो काट्न सजिलो भएको छ,' उनले भने, 'महानगरभित्रका गल्लीहरूमा पनि यस्तै बत्ती राख्न आग्रह गरेका छौं।'
गल्लीमा सामाजिक अपराध बढी हुन्छ। ट्राफिक दुर्घटना पनि हुन्छ। यसकारण गल्लीमा चहकिला बत्ती राख्नु आवश्यक छ। यसो भयो भने सामाजिक अपराध निकै घट्छ, यात्रुले सुरक्षित अनुभव गर्छन् भन्ने उनको विश्वास छ।
ललितपुर महानगरका इलेक्ट्रोनिक इन्जिनियर सञ्जय खड्काका अनुसार महानगरभित्रका सडकमा १४ सय वटा स्मार्ट बत्ती र ठूला चोकमा १२ वटा हाइ-मास्ट बत्ती राखिएको छ।
नेपाल विद्युत प्राधिकरणको सहयोगमा महानगरले यी बत्ती राखिएको हो। महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत बजेट बेहोरेको उनले बताए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पोखरामा हाइ-मास्ट बत्ती जडानपछि गरिएको कार्यक्रममा ललितपुर महानगरबाट देशका सबै सहरमा उज्यालो अभियान चलाएको बताएका थिए। ललितपुरका मेयर चिरिबाबु महर्जनले बजेट विनियोजन गरेर स्मार्ट सडक बत्ती राख्न अनुरोध गरेको र त्यसपछि प्राधिकरणले उज्यालो सहरको कार्यक्रम ल्याएको उनले बताएका थिए।
इन्जिनियर सञ्जय खड्काका अनुसार अहिले ललितपुरको एकान्तकुना र सातदोबाटोतिर सडकमा स्मार्ट बत्ती र चक्रपथभित्रका मुख्य चोकमा १६ मिटर अग्लो खम्बामा हाइ-मास्ट बत्ती राखिएको छ।
बत्ती बाल्ने, निभाउने र व्यवस्थापनका अन्य काम महानगरले गर्छ। यी बत्ती मोबाइल एपबाट एकैपटक बाल्न र निभाउन मिल्छ। एपबाटै हाइ-मास्ट बत्तीको चहक बढाउन र घटाउन पनि सकिन्छ। यो काम इन्जिनियर खड्काले नै सम्हालेका छन्।
'बेलुका अँध्यारो हुँदै गएपछि बत्ती अन (बाल्ने काम) गर्ने र बिहान सात बजे अफ (नभाउने काम) गर्ने गरिन्छ,' खड्काले भने, 'राति १२ बजेदेखि बिहान ४ बजेसम्म लाइट ६० प्रतिशत चहकिलो बनाइन्छ। बेलुका र बिहानको समय शतप्रतिशत चहकिलो बनाइन्छ।'
बेलुका र बिहान चाँडै हिँड्नेहरूको सुविधा ध्यानमा राखेर बत्ती शतप्रतिशत चहकिलो बनाउने गरेको उनले बताए। स्थानीय बासिन्दाले नै बाल्न र निभाउन मिल्ने सामान्य बत्ती पनि जडान गरिएका छन्।
'फुटपाथ व्यवसायी, पैदल यात्रु, वृद्ध व्यक्ति सबैको सुविधाका लागि चोकहरूमा अत्याधुनिक बत्ती राखका हौं,' उनले भने, 'बत्ती राखेपछि सडक दुर्घटना कम भएको छ।'
यी बत्ती जडान भएदेखि पाँच वर्षसम्म बल्नेछन्। मर्मतको जिम्मा ठेकदार कम्पनीलाई नै दिएको छ।
ललितपुरलाई 'उज्यालो महानगर' बनाउने अभियान अन्तर्गत अत्याधुनिक बत्ती जडानको काम गरिएको महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले बताए। थप सडक बत्ती जाडन गर्न चालु आर्थिक वर्षमा पनि नगरस्तरीय र वडास्तरीय बजेट छुट्ट्याइएको छ।
चालु आर्थिक वर्षमा भित्री सडक र गल्लीमा पनि गुणस्तरीय बत्ती जडान गर्ने योजना महानगरको छ।