काठमाडौं, तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरू भएको ६ वर्ष नाघिसकेको छ। यो अवधिमा भौतिक प्रगति भने २७.१९ प्रतिशत मात्रै छ।
आर्थिक वर्ष २०८०⁄८१ असोज मसान्तसम्मको वित्तीय प्रगति (मोबिलाइजेसन समेत) २९.३२ प्रतिशत छ। ७०.९७७ किलोमिटर यो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको छ। सरकारले २०७४ वैशाख २१ गते मन्त्रीपरिषदबाट निर्णय गरी सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिएको हो। यो आयोजना २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई हस्तान्तरण भएको थियो।
२०७४ मंसिरबाट सेनाले द्रुतमार्गको ट्रयाक निर्माण सुरू गरेको हो। आयोजनाको डिपिआर सुसङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ फर्मबाट २०७५ चैत ५ गते तयार भएको थियो। उक्त डिपिआर २०७६ भदौ १ गते सरकारले स्वीकृत गरेको थियो।
२०७७ जेठ २ गते आयोजनाको कोरियाली कम्पनी युसन जेभीसँग सम्झौता गरिएको थियो। २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिला आइसिबी सम्झौता भयो। सोही वर्ष जेठ ३१ गतेबाट निर्माण सुरू भएको हो।
यो आयोजना २०८१ मंसिरसम्ममा पूरा गर्नुपर्ने भनिएको थियो। तर तोकिएको अवधिमा काम नसकिने भएपछि २०८० वैशाख ५ गते दुई वर्ष म्याद थप गरियो। थप म्याद अनुसार २०८३ चैत मसान्तसम्ममा आयोजना सक्नुपर्नेछ। तर प्रगति विवरण हेर्दा थप गरिएको अवधिमा पनि निर्माण पूरा हुने अवस्था देखिँदैन। काम कछुवा गतिमा भइरहेकाे छ।
सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी आयोजना तोकिएकै अवधिमा पूरा हुने दाबी गर्छन्। ‘अझै समय छ। काम भइरहेको छ। कतै अवरोध भएन भने तोकिएकै अवधिमा आयोजना पूरा हुन्छ,’ उनले सेतोपाटीसँग भने।
अहिले सेनाले यो काम विभिन्न खण्ड छुट्याएर गरिरहेको छ। द्रुतमार्ग, पुल, सुरूङलगायत छुट्टाछुट्टै ठेक्का दिइएको छ। केही खण्डको ठेक्का व्यवस्थापन नै हुन सकेको छैन। सेनाका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा छन्।
सेना प्रवक्ता भण्डारी ठेक्का लागिसकेका खण्डहरूमा निरन्तर काम भइरहेको बताउँछन्। ‘ठेक्का लागिसकेका ठाउँमा कुनै समस्या छैन। काम भइरहेको छ,’ उनले भने।
उनका अनुसार आयोजनाको ११ वटा क्लस्टर अन्तर्गत १३ वटा प्याकेज छन्। यी प्याकेज मध्ये १ देखि ७ नम्बरसम्मका प्याकेजहरू निर्माणाधिन छन्।
द्रुतमार्ग सिस्नेरी तथा मख्खुबेसी खण्ड अन्तर्गत पर्ने प्याकेज ८ (क) ९ (क) र ९ (ख) र मख्खुबेसी तथा सिस्नेरी खण्डको प्याकेज ८(क), ९(क) र ९(ख) को बोलपत्र खुला गरी मूल्यांकन भइरहेको उनले बताए। द्रुतमार्ग मख्खुबेशी खण्डमा पर्ने प्याकेज ८(ख) को गत कात्तिक १२ गते पुनः बोलपत्र आह्वान गरिएको थियो। यो मूल्यांकन प्रक्रियामा रहेको सेनाको भनाइ छ।
प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरू बिन्दु निर्धारण गरिएको छ। सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान भएपछि मात्रै खरिद प्रक्रिया सुरू गरिने सेनाले बताएको छ। आयोजनाको अधिग्रहण गर्नुपर्ने कुल १५ हजार चार सय १६ रोपनी जग्गामा ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ। यो खोकना क्षेत्रको हो।
लामो समयदेखि स्थानीयको अवरोध तथा मुआब्जा विवादका कारण खोकना क्षेत्रमा जग्गा अधिग्रहण हुन सकेको छैन। यो क्षेत्रको विवाद टुंगोमा पुर्याउनका लागि काम भइरहेको सेना प्रवक्ता भण्डारीको भनाई छ। ‘यो खण्डको मुआब्जा विवाद टुंग्याउनका लागि उपप्रधानमन्त्रीको अध्यक्षतामा समिति बनेको छ। समितिमा विज्ञ र सम्बन्धित अधिकारीहरू पनि छन्। विश्वास गरौं विवाद छिट्टै टुंगिन्छ,’उनले भने। अन्य क्षेत्रमा काम गर्दागर्दै विवाद टुंगिए आयोजना पूरा हुन सहज हुने उनको भनाइ छ।
यो आयोजनामा निर्माण हुने ६ वटा सुरूङ मध्ये तीनवटाको ३.१५३ किलोमिटर खनिएको छ। यी तीन वटा सुरूङको लम्बाई ६.४१५ किलोमिटर छ।महादोवटार सुरूङमार्गको जम्मा लम्बाई ३.३५५ किमी मध्ये १.४९० किमी निर्माण भएको छ। धेद्रे सुरूङमार्गको जम्मा लम्बाई १.६३ किमी मध्ये ८०६ मिटर सुरूङ खनिएको छ। लेनडाँडा सुरूङको जम्मा लम्बाई १.४३ किमी मध्ये ८५७ मिटर खनिएको सेनाले जनाएको छ। सुरूमा यो आयोजनामा तीन वटा सुरूङ रहने गरी डिजाइन गरिएको थियो। पछि डिजाइन परिवर्तन गरी ६ वटा सुरूङ बनाइने भएको हो।
आयोजना अन्तर्गतका पुलमध्ये हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज १ देखि ५ सम्मका ४५ वटा पुलहरूको डिजाइन सकिएको छ। पुलका लागि एक हजार ७ सय ६८ वटा पाइलहरू निर्माण गर्नुपर्नेमा एक हजार एक सय ७५ वटा पाइल निर्माण गरिएको छ। आयोजना निर्माणका क्रममा काटिएका रूखको सट्टा एक अनुपात २५ का दरले ७ लाख १६ हजार एक सय ५० बिरूवा रोप्नुपर्नेछ। ६ लाख ६५ हजार २८५ बिरूवा रोप्ने काम सकिएको उनले बताए।
कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको यो आयोजनामा प्रस्थान विन्दु खोकना रहनेछ। अन्तिम विन्द् निजगढ रहनेछ। फास्ट ट्र्याकमा बन्ने सडकको चौडाई पहाडी भूभागमा २५ मिटर रहनेछ। तराई भूभागमा २७ मिटर रहनेछ।
सुरूङमार्गको कुल लम्बाई १०.०५५ किमी रहनेछ। जसमा देबीचौर सुरूङ १ किमी रहनेछ। सिसौटार सुरूङ ३.३९ किमी, चन्द्राम भीर सुरूङ २.२५ किमी, महावेदवडाँडा सुरूङ ३.३३५ किमी, धेद्रे १.६३० किमी र लेनडाँडा सुरूङ १.४३० किमी रहनेछ। आयोजनामा ८९ वटा पुलहरूको रहनेछन्। दुइटा विश्रामस्थल रहनेछन।
आयोजना सिलान्यास २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। यसलाई राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको आयोजनाका रूपमा अघि बढाइएको छ। सरकारले मन्त्रीपरिषदबाट निर्णय गर्दै २०७४ वैशाख २९ गतेदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको हो। यो आयोजनाको लागत अनुमान दुई खर्ब गरिएको छ।
यो द्रुतमार्गले काठमाडौं, ललितपुर, मकवानपुर र बारा लगायत जिल्ला जिल्ला जोड्छ। द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट करिब एक घन्टामा निजगढ (बारा) पुगिनेछ। यो सडकमार्फत अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास सरकारको छ।
याे पनि, फास्ट-ट्र्याकको डिजाइन परिवर्तन गरिँदै, तीनवटा सुरूङ थपिने