ग्वार्को ओभरपासको काम साउनमा पनि नसकिने भएको छ।
यसअघि गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले असारभित्र सबै काम सकेर आगामी साउनदेखि गाडी गुड्न पाउने बताएका थिए।
ओभरपास निर्माण गरिरहेको कम्पनी आशिष समानान्तर रेलिगेयर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले पनि गत वैशाखमा सेतोपाटीसँग कुरा गर्दै धमाधम काम भइरहेको र असारसम्म मुख्य काम सकेर साउनदेखि गाडी गुड्ने व्यवस्था मिलाउने बताएका थिए।
तर, पछिल्लो प्रगति विवरण हेर्दा साउनमा गाडी गुड्न पाउने अवस्था देखिँदैन। गुणस्तर अनुसन्धान केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जन पनि साउनमा गाडी गुडाउन नसकिने बताउँछन्।
महर्जनका अनुसार अहिले ओभरपासको ओभरहेड ब्रिजको काम ९५ प्रतिशत सकिएको छ। ब्रिजको दायाँबायाँको काम बाँकी छ। त्यस्तै पहुँच सडकको काम ८० प्रतिशत सकिएको छ। अब २० प्रतिशत बाँकी छ।
'जतिसक्दो साउनभित्र काम सक्ने गरी काम भइरहेको हो। तर झरीका कारण काममा अवरोध आउँदा ढिलाइ भयो,' उनले भने।
झरीको समयमा ग्राभेल गरेर कम्पाक्सन गर्नुपर्ने काममा लगभग २० दिन अवरोध हुँदा लक्षित अवधिमा गाडी गुडाउन नसकिएको उनको भनाइ छ। अब आगामी दसैंदेखि गाडी गुडाउने योजना भएको उनले बताए।
अहिले स्लोप बनाउने लगायत काम भइरहेको उनले बताए। ढलान, फिनिसिङ लगायत काम बाँकी छ। ट्राफिक लाइटहरू हाल्ने, पेन्टिङहरू गर्ने, सडकपेटी बनाउने लगायत कामहरू पनि बाँकी छन्। समग्रमा आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत नाघेको सिडिई महर्जन बताउँछन्।
यो आयोजना निर्माणको काम २०८० फागुन १२ गतेभित्र सकिसक्नु पर्ने थियो। तर त्यो अवधिमा सकिएन। सुरूको डिजाइन परिवर्तन गर्नुपरेकै कारण तोकिएको अवधिमा निर्माण नसकिएको निर्माण कम्पनीको भनाइ छ।
त्यसबेला सुरूको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो। ओभरपास निर्माण स्थलको माटो कमजोर भएका कारण सुरूको डिजाइन परिवर्तन गर्नु परेको उल्लेख गरिएको थियो।
अहिले आयोजनाको निर्माण अवधि थप गरिएको छ। निर्माण कम्पनीले माग गरेअनुसार १० महिना अवधि थप गरेको सिडिई महर्जनले बताए।
यो आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको हो। इपिसी मोडल भनेको ठेकेदार आफैँले डिजाइन गर्ने उसैले निर्माण गर्ने हो।
इपिसी मोडलमा विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुनुपर्छ। यस्तो आयोजनाको काम तोकिएको अवधिमा नसकिँदा म्याद थप गर्नुपर्ने उपयुक्त कारण नभए सरकारले निर्माण कम्पनीलाई हर्जना तिराएर काम गर्न लगाउने व्यवस्था थियो।
सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनले भने म्याद सकिएका तर खरिद सम्झौता अनुसार काम चालु रहेका खरिद सम्झौतामा डिजाइन परिवर्तन लगायत विभिन्न कारण तोकिएको अवधिमा काम नसकिएका वा सकिने आधार नदेखिएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेको छ।
सो व्यवस्था अनुसार १० महिना म्याद थप गरिएको सिडिई महर्जनले बताए।
'१० महिना म्याद थप हुँदा अब २०८१ पुससम्म निर्माण सक्नुपर्ने छ। मुख्य काम लगभग सकिन लागेको छ। फिनिसिङ लगायत काम बाँकी हो। काम सक्न पुससम्म लाग्दैन निर्माण कम्पनीले जतिसक्दो छिटो गर्न बल गरिरहेको छ,' उनले भने।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो।
निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो।
यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहन्छ। चक्रपथ सडकको फास्ट ट्रयाकमा यस्तो स्लोप रहन्छ।
ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने छ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास सरकारको छ। ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने उल्लेख गरिएको छ।
सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो ओभरपास १७ करोड ६ लाख रूपैयाँमा ठेक्का लागेको हो। निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ।