बाढी–पहिरोका कारण देशभरका विभिन्न १४ वटा राजमार्गका ४२ स्थानमा क्षति पुगेर अवरूद्ध रहेकोमा अहिले केही सडक मर्मत भइसकेको सडक विभागले जनाएको छ।
यो समाचार तयार पार्दासम्म १२ वटा राजमार्गका ३४ स्थानमा सडक अवरूद्ध रहेको विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार बिपी राजमार्गको भकुन्डेबेसी–नेपालथोक सडक खण्ड बन्द छ। यो खण्डको विभिन्न स्थानमा करिब दुई किलोमिटर लम्बाई सडक क्षतिग्रस्त छ।
बर्दिबास-नेपालथोक खण्डमा पनि क्षति पुगेकोमा अहिले बनाएर बर्दिबास–नेपालथोक खण्डमा यातायात खुलेको छ।
धुलिखेलबाट–भकुन्डेबेसीतर्फ २१ किलोमिटर सडक पनि खोलिसकिएको छ।
भकुन्डेबेसी–नेपालथोक खण्ड नयाँ ट्र्याक खोल्नुपर्ने देखिएकाले अझै केही समय लाग्ने श्रेष्ठले बताए।
त्यस्तै, कान्ति लोकपथ (हेटौंडा-काठमाडौं) का केही स्थानमा पनि सडक अवरूद्ध छ।
यो खण्डको हेटौंडा ठिंगन खण्ड, ४० किमिमा यातायात सुरू भइसकेको विभागले जनाएको छ।
बगुवा पुल बागमती दायाँ एप्रोच सडक क्षतिग्रस्त छ। ठिंगन बागमती एक किलोमिटर खण्डमा काम भइरहेको विभागको भनाइ छ।
यसैको छपेली टीकाभैरव खण्ड २२ किमिसम्म सडकमा क्षति पुगेकाले काम भइरहेको उल्लेख छ।
अरनिको राजमार्ग १०८ किमि (लार्चा पुल) सम्म यातायात सञ्चालन रहेको विभागले जनाएको छ। खाग्डोलमा बेलिब्रिज बगाएका कारण लार्चादेखि लिपिनसम्म यातायात सेवा अवरूद्ध छ।
त्यसैगरी मेची राजमार्ग, कालीगण्डकी करिडोर लगायतमा विभिन्न स्थानमा सडक अवरूद्ध रहेको उल्लेख छ।
बाढी–पहिरोका कारण गल्छी त्रिशूली बेत्रावती धुन्चे रसुवागढी खण्डमा पनि क्षति पुगेको थियो। यो सडकको विभिन्न खण्डमा भएको अवरोध खुलाएर यातायात सञ्चालन गरिसकिएको छ।
विभिन्न सात वटा पुल र तीन वटा बेलिब्रिज गरी १० वटा पुलमा क्षति पुगेको विभागले जनाएको छ।
सुनकोशीमा रहेको खुर्कोटस्थित पुल बाढीले बगाएको छ। सुनकोशीकै फोक्सिङटार, सिन्धुरेटार पुल पनि बगाएको छ।
अरनिको राजमार्गमा लिपिङ खोला पुल, इलाम माइपोखरी सडक खण्डको राते खोला पुल, झापाको एउटा खोलाको पुल, कान्ति राजपथको एउटा पुल गरी सात वटा पुल क्षति भएको विभागले जनाएको छ।
त्यस्तै, मेची राजमार्ग हेवाखोला, अरनिको राजमार्गमा लार्चा खोला लगायत तीन वटा बेलिब्रिज बगाएको विभागले जनाएको छ।
क्षति भएका पुल र सडक बनाउन दुई अर्ब बढी लाग्ने
बाढी तथा पहिरोका कारण क्षति पुगेका सडक तथा पुल पुनर्निर्माणका लागि दुई अर्ब ५२ करोड रूपैयाँ लाग्ने भएको छ।
कुल २१ हजार पाँच सय मिटर सडकमा क्षति पुगेको र यो मर्मतका लागि एक अर्ब ५० करोड बढी लागत लाग्ने विभागले जनाएको छ।
त्यस्तै ४१० मिटर पुलमा क्षति पुगेको र निर्माणका लागि ८२ करोड लागत लाग्ने विभागको भनाइ छ। बेलिब्रिजका लागि पनि २० करोड बढी लागत लाग्ने अनुमान छ।
दसैंको मुखैमा लामो दुरीका अधिकांश सडकहरू अवरूद्ध भएपछि दसैंमा खुल्छन् कि खुल्दैनन् भन्ने चिन्ता बढेको छ।
हामीले यस विषयमा पनि सडक विभागका प्रवक्ता श्रेष्ठसँग कुरा गरेका छौं। श्रेष्ठले सकेसम्म वैकल्पिक सडक प्रयोग गरेर यात्रुहरूलाई आवतजावत गर्न व्यवस्था मिलाउने गरी काम भइरहेको बताए।
'कतिपय सडक पूरै भत्किएका छन्। यस्तो अवस्थामा तत्काल सडक बनाउन सकिने अवस्था छैन। बिपी राजमार्गका विभिन्न स्थानमा खोलाको बगरबाटै गाडी चलाउन सकिन्छ कि भनेर पनि हेरिरहेका छौं। कतिपय ठाउँमा अफरोडको व्यवस्था गर्न सकिन्छ कि भन्ने छ,' उनले भने।