४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरू नभएसम्म बढी विद्युत माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत केही कटौती हुने देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
हिउँदयाम सुरू भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
चिसोका कारण यही समयमा विद्युतको माग बढ्ने तर नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ।
हिउँदयामको विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत आयात गर्नु पर्दछ।
यसवर्ष सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताए।
घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको बताए।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो।
आगामी पुस १० गतेभित्र विद्युत उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत सम्भार भइरहेको प्राधिकरणको भनाइ छ।
विद्युत माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६५४ मेगावाटसम्म विद्युत आयात अनुमति दिएको छ।
तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ।
त्यसपछि २०८१ चैत ३ देखि २०८२ असार १६ (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत आयात गर्न समेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए।
घिसिङले भने, 'पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत केही कटौती गर्नुपर्ने अवस्था छ।'
गत शुक्रबार बिहान ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत आपूर्ति प्रभावित भएको थियो। उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत आपूर्ति नियमित भएको छ।
यसैगरी, दर्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ। उक्त लाइनको मर्मत भइरहेको प्राधिकरणले जनाएको छ।