बाँकेको कोहलपुरमा ३८ वर्षीय गजेन्द्र शाहीले 'कोहलपुर डेन्टल हस्पिटल प्रालि' चलाएको १५ वर्ष भयो। हस्पिटलको साइन बोर्डमा 'कोहलपुर नगरपालिका–११, गोलपार्क न्युरोड, बाँके' ठेगाना लेखाएका छन्। हस्पिटल रहेको तीनतले भवन उनकै हो।
यो हस्पिटलको सम्मुख पाँच करोड ५३ लाख रूपैयाँ लागतमा साततले 'कोहलपुर भ्यु–टावर' बनेको छ।
कोहलपुरको गौरवको योजना भनिए पनि यो भ्यु–टावर निर्माणको औचित्य साबित हुन नसकेको गजेन्द्रको भनाइ छ।
'यो भ्यु–टावरमा गरेको खर्च बालुवामा पानी खन्याएजस्तै भएको छ। त्यति ठूलो गरेर पनि नगरपालिकाले कुनै उपलब्धि हासिल गर्न सकेको छैन,' उनले भने।
आसपासमा भ्यु–टावरभन्दा अग्ला होटल र भवन छन्।
गजेन्द्रका अनुसार भ्यु–टावर नामको संरचना बनेको ठाउँमा 'गोलपार्क' भनिने खुला चौर थियो। स्थानीय मानिसहरू साँझबिहान खुला चौरमा टहल्न आउँथे। मानिस आउन बन्द भयो।
कोहलपुरमा सवारी साधनको चाप बढ्दो क्रममा छ। गोलपार्कमा भ्यु–टावरको साटो अत्याधुनिक पार्किङ स्थल बनाएको भए राम्रो हुन्थ्यो भन्ने गजेन्द्रलाई लाग्छ।
भ्यु–टावर बनेपछि आसपासमा खुला पार्किङ बढेको छ। त्यसले दुर्घटनाको सम्भावना बढाएको उनले बताए।
'अब गोलपार्कमा बाँकी रहेको खुला जग्गामा बोटबिरूवा लगाएर, पानीको फोहोरा बनाएर सौन्दर्यीकरण गर्नु बुद्धिमानी हुनेछ,' उनले भने।
भ्यु–टावरनजिकै २२ वर्षीय केदार केसीको पनि पसल छ। उनले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट बिबिएस तहको पढाइ पूरा गरेका छन्।
भ्यु–टावरको कुरा गर्नासाथ उनले निराशाजनक प्रतिक्रिया जनाए, 'बिनाकामको भ्यु–टावर!'
केदारको पसल आसपासमा भेटिएका ४५ वर्षीया नारायणी केसी, २८ वर्षीया श्रुति शाह र ३५ वर्षीया सुशीला केसीले पनि भ्यु–टावर बनेकोमा असन्तुष्टि प्रकट गरे।
'यो भन्दा त पहिलेकै गोलपार्क ठीक थियो। खुला चौर त थियो! फुर्सदमा मान्छे जम्मा हुने, गफिने ठाउँ थियो,' नारायणीले भनिन्।
उनको विचारमा भ्यु–टावर बनाउनुभन्दा बरू काँक्रेबिहारको जस्तै चिटिक्कको सानो मन्दिर बनाएको भए राम्रो हुने थियो। खुला चौर नै रहन दिएको भए मान्छे जम्मा हुने र व्यायाम गर्ने राम्रो ठाउँ हुने थियो।
आसपासमा रहेका 'ट्री टप होटल' र 'म्याक्स होटल' का भवन भ्यु–टावरभन्दा अग्ला छन्। यस कारण पनि भ्यु–टावर ओझेलमा परेको उनको तर्क छ।
उनले भनिन्, 'पहिला गोलपार्क छँदा साँझबिहान मानिसहरू घुम्न जान्थे। अहिले सबै बन्द भयो।'
भ्यु–टावर बनेपछि गोलपार्क पर्खालले घेरिएको छ। मान्छे सहजै भित्र जान नपाएपछि र टावरमा चढ्ने पनि कोही नभएपछि गोलपार्क परिसर झारपातले ढाकिएको छ।
सुशीलाको विचारमा भ्यु–टावरको साटो ठूलो व्यापारिक भवन बनाएको भए हुन्थ्यो। खुलै छाडेको भए पनि हुन्थ्यो।
उनका अनुसार साढे पाँच करोड रूपैयाँभन्दा बढी खर्च गरेर बनाएको भ्यु–टावरबाट नगरपालिकाले हालसम्म एक रूपैयाँ पनि उठाउन सकेको छैन। उनको घर भ्यु–टावरनजिकै छ तर आजसम्म एक पटक पनि त्यसमा चढेकी छैनन्।
श्रुतिलाई पनि खुला पार्क नै छाडेको भए उकुसमुकुस गर्मीमा मान्छेहरू साँझबिहान जम्मा हुने थिए, रमाइलो गर्ने थिए भन्ने लाग्छ।
भन्छिन्, 'बजारबीचको गोलपार्क खुला रहन दिएको भए सबैलाई काम लाग्ने थियो। काम नलाग्ने भ्यु–टावर बनाएर एउटा खुला ठाउँ मासियो।'
आफू पनि भ्यु–टावरमा नचढेको उनले बताइन्।

त्यहीँ भेटिए बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँका ६४ वर्षीय गंगाबहादुर क्षेत्री। भ्यु–टावर नजिकै उनको एउटा घडेरी छ।
'यहाँका मान्छे भ्यु–टावर काम लागेन भन्छन्। नजिकै मेडिकल कलेज छ। बरू बोटबिरूवा रोपेर सुन्दर बगैंचा बनाएको भए राम्रो हुन्थ्यो भन्ने मलाई पनि लाग्छ,' उनले भने, 'बनिसक्यो, अब नगरपालिकाले यसको उपयोग गर्ने योजना बनाउनुपर्छ। भ्यु–टावरबाट आम्दानी लिनुपर्छ।'
भ्यु–टावरनजिकै नेपालगञ्ज मेडिकल कलेज छ।
कोहलपुर नगरपालिकाका इन्जिनियर प्रवीण बस्नेतका अनुसार नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर लुटबहादुर रावतको कार्यकालमा २०७६ सालमा निर्माण सुरू भएको थियो।
यसलाई कोहलपुर विकासको गुरूयोजना मानिएको थियो।
दुई वर्षमा एक तला अन्डर ग्राउन्ड र ११ तलाको भ्यु–टावर बनाउन पाँच करोड ८८ लाख रूपैयाँमा ठेक्का दिएकोमा चार वर्षमा (२०८० सालमा) ३५ लाख रूपैयाँ लागत घटाएर सात तलाको बनाइयो।
हाल टावरको माथिल्लो तलामा पुगेर खुला आँखाले अवलोकन गर्नेबाहेक अन्य कुनै सुविधा छैन।
नगरपालिकाले वार्षिक २४ लाख रूपैयाँमा भ्यु–टावर ठेक्का लगाउन हालसम्म ६ पटक टेन्डर आह्वान गर्यो। ठेक्का पाउने व्यक्तिले पूरै संरचना उपयोग गर्न पाउने र चियाखाजाका लागि रेस्टुरेन्ट खोल्न पाउने भनिएको थियो तर कसैले पनि टेन्डरमा भाग लिएनन्।
नगरपालिकाका प्रवक्ता नेमबहादुर आलेमगरका अनुसार भ्यु–टावर परिसर सौन्दर्यीकरण गरेर व्यवसायीलाई १५ वर्षका लागि लिजमा दिन प्रयास भइरहेको छ। यसै अनुसार रङरोगनसहित सौन्दर्यीकरणको काम हुँदै छ।
'गौरवको योजना भनेर बनाइएको भ्यु–टावर बेकारको जस्तो हुन थाल्यो। मान्छे आउनै छोडे,' उनले भने, 'त्यत्रो लगानी परेको छ, अब केही सौन्दर्यीकरण गरेर भए पनि मान्छे आकर्षित गर्ने उपाय खोज्नुपर्छ भन्ने सल्लाह भएको छ।'
पटक पटक टेन्डर आह्वान गर्दा पनि कसैले चासो नदेखाएको र भ्यु–टावर चढ्नमा मान्छेको रूचि नदेखिएकाले अनावश्यक वस्तुमा लगानी भएछ भन्ने अनुभूति भएको उनले बताए।
टेन्डर कसैले पनि चासो नदेखाएपछि नगरपालिका आफैले नगर प्रहरी राखेर २०८० माघदेखि सर्वसाधारणका लागि प्रतिव्यक्ति ७५ रूपैयाँ शुल्कमा प्रवेश खुला गरेको थियो।
नगर प्रहरीका प्रमुख वीरबहादुर थापाका अनुसार सुरूसुरूमा राम्रै संख्यामा युवाहरू अवलोकनका लागि आउँथे तर बिस्तारै कम हुँदै गयो।
उनले भने, 'हावाहुरीले भ्यु–टावरका जम्मै सिसा फुटे, असुरक्षित भयो। लिफ्ट पनि बिग्रियो। बढीजसो युवाहरू लिफ्ट चढ्न आउँथे। लिफ्ट बिग्रिएपछि आउनै छाडे।'
हाल भ्यु–टावर मर्मत भइरहेको छ। सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ। लिफ्टसहित सबै मर्मतकार्य सकिएपछि लिजमा दिने नगरपालिकाको तयारी छ।