बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको काम अहिले धमाधम भइरहेको छ।
प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत ६ अर्ब १८ करोड ७५ लाख रूपैयाँको लागतमा भवन निर्माण काम सुरू गरिएको हो। लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको आयोजना अन्तर्गत अगाडि बढाइरहेको भवनको शिलान्यास गत भदौ १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग २०८० पुस २६ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।
ठेक्का सम्झौता गरेको आठ महिनापछि मात्र भवन निर्माणको शिलान्यास गरिएको थियो। शिलान्यास गरिएको पाँच महिना अवधिमा १३ प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।
प्राधिकरणका साइड इन्चार्ज शंकर सुवेदीले पुरानो भवन भत्काएर स्थान सम्याउन नै ठेक्का सम्झौतापछिको सात/आठ महिना लागे पनि अहिले भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए।
'पुरानो भवनमा अस्पताल सञ्चालन भइरहेकाले त्यहाँका बेड र उपकरणहरू अन्यत्र स्थानान्तरण गरेर भवन भत्काउन केही समय लाग्यो। अहिले कामको प्रगति कार्यतालिका अनुसार नै भइरहेको छ,' सुवेदीले भने।
![lumbini-hospital3-1739202027.jpg](https://www.setopati.com/uploads/posts/lumbini-hospital3-1739202027.jpg)
सम्झौता अनुसार १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म बनिसक्नुपर्ने छ। काम पूरा गर्न चिसो मौसममा समेत बिहान सात बजेदेखि राती १० बजेसम्म काम गरिरहेको सुवेदीले बताए। चिसो घटेपछि चौबीसै घण्टा काम गर्ने योजना रहेको उनको भनाइ छ।
अहिले दैनिक २१० जना कामदार काममा खटिएका छन्। निर्माणाधीन भवनको प्राविधिक जिम्मेवारी लिएको काठमाडौं युनिभर्सिटी अन्तर्गतको युनिकन्सर्न कन्सल्टेन्सीमार्फत २० जना प्राविधिकले कामको अनुगमन गरिरहेका छन्।
अहिलेलाई यो भवन पाँच हजार आठ सय वर्गमिटर हाराहारी क्षेत्रफलमा बन्नेछ। हाल जमिनमुनि ७८५ वटा पाइलिङ (जमिनमा मेसिनले प्वाल पारेर पिलर गाड्ने काम) सकेर 'बेस' को काम भइरहेको छ। मुख्य भवनमा डबल बेसमेन्ट (जमिनको सतहभन्दा दुई तलामुनि) हुनेछ। दुवैमा गाडी पार्किङ क्षेत्र हुनेछ।
अहिले काम भइरहेको भाग सबभन्दा तल्लो बेसमेन्ट हो। यसका लागि छड बुन्ने, बिच्छ्याउने, पिलर उठाउने र भुइँ ढलान गर्ने काममा २१० जना कामदार खटिएका छन्।
यो भवनको सबभन्दा माथि हेलिप्याड हुनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सी आउजाउ गर्न मिल्ने लिफ्ट बन्नेछ। बेसमेन्टको कामसँगै लिफ्टका लागि पिलर उठाउने काम पनि भइरहेको छ।
नयाँ भवन बनेपछि ओपिडी, इमर्जेन्सी सेवा यहीँबाट प्रदान हुनेछ। त्यस्तै ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने अस्पतालले जनाएको छ।
हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा भवनका सेवा नयाँ भवनमा सारिनेछ। पुराना भवन डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ।
त्यस्तै अहिले बनिरहेको भवनको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै भवन निर्माण हुनेछ। त्यसको पनि जग खन्ने काम भइरहेको साइड इन्चार्ज सुवेदीले जानकारी दिए। यो भवन पाँचतले र सिंगल बेसमेन्टको हुनेछ।
भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ८० करोड रूपैयाँ बजेट बिनियोजन गरेको थियो। यसमध्ये निर्माण कम्पनीलाई पेस्कीसहित डेढ अर्ब रूपैयाँ जति भुक्तानी भइसकेको छ। भौतिक प्रगति १३ प्रतिशत भइसक्दा रकम भुक्तानी ६ प्रतिशत हाराहारी भएको सुवेदीले जानकारी दिए।
हाल अस्पताल भएकै ठाउँमा काम भइरहेकाले धूलो, धुँवा र ध्वनीको असर नहोस् भन्नेमा सचेत रहेको उनको भनाइ छ।
'निर्माणको काम गर्दा अलिअलि धूलो उड्ने र आवाज आउने भइहाल्छ। तर पनि नियन्त्रणको पूरा प्रयास गरेका छौं। नियमित पानी छर्किएका छौं। अस्पताल भएकाले प्रदूषण कम गर्नेमा हामी सचेत छौं,' उनले भने।
![lumbini-hospital1-1739202026.jpg](https://www.setopati.com/uploads/posts/lumbini-hospital1-1739202026.jpg)
![lumbini-hospital2-1739202026.jpg](https://www.setopati.com/uploads/posts/lumbini-hospital2-1739202026.jpg)
१९६७ फागुन १५ गते ६ शैय्याबाट सेवा सुरू गरिएको यो अस्पतालको पुरानो भवन २०१६ सालमा बनेको थियो। जीर्ण भएको भवन भत्काएर अत्याधुनिक सेवासुविधा सहित नयाँ बनाउन लागिएको हो।
यसअघि लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलले २०७६ सालमा सरकारको 'ड्रिम प्रोजेक्ट' रूपमा अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढाएका थिए। त्यति बेला डिपिआर तयार भए पनि ठेक्का प्रक्रिया अगाडि नबढ्दै उनी सरकारबाट बाहिरिए।
त्यसपछि कुलप्रसाद केसी नेतृत्वको सरकारले टेन्डर आह्वान गरे। तर आर्थिक चलखेल भएको समाचार बाहिरिएपछि टेन्डर प्रक्रिया स्थगित भएको थियो।
यो कुल ६ बिघा १२ कट्ठा जमिनमा सञ्चालित ११४ वर्ष पुरानो यो अस्पताल बुटवल उपमहानगरपालिका वडा नम्बर ९, सिद्धार्थ र महेन्द्र राजमार्गको पश्चिमतर्फ छ। निर्माण पूरा भएपछि यो प्रदेशकै अब्बल अस्पताल हुनेछ।
यसअघि यहाँ संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैले पनि करोडौं लगानी गरी अरू भवन निर्माण गरिसकेका छन्। पछिल्लो पाँच वर्षयता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोड रूपैयाँ लागतमा भौतिक संरचना बनेका छन्। त्यस्तै अस्पताल विकास समितिले इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पतालभित्रको सडक र पर्खाल निर्माण लगायतमा ३५ करोड रूपैयाँभन्दा बढी लगानी गरेको छ।
यो अस्पताल तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको पालामा बिक्रम सम्वत् १९६७ फागुन १५ गते दुई जना भारतीय चिकित्सक ल्याएर सुरू गरिएको थियो। लुम्बिनी क्षेत्रकै पुरानो र ठूलो यो अस्पताल पहिले सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीमा थियो।
यो ३१ वर्ष फूलबारीमै रह्यो। १९९८ सालमा हाल रक्तसञ्चार गृह रहेको स्थानमा सारियो। पछि फेरि, २०१६ सालमा हालको स्थानमा भवन बनाएर सारिएको हो। ६ शय्याबाट सुरू यो अस्पताललाई २०२४ सालमा ५० शय्याको बनाएर लुम्बिनी अञ्चल अस्पताल नाम दिइयो। २०५० सालमा एक सय शय्या पुर्याइयो।
२०७५ माघमा लुम्बिनी प्रदेश सरकार मातहत आएपछि यसको नाम लुम्बिनी प्रादेशिक अस्पताल भएको हो। त्यसपछि शय्या संख्या ५२४ पुर्याइएको छ। यहाँ दैनिक दुई हजारभन्दा धेरै बिरामी आउँछन्। सामान्य अवस्थामै ८० प्रतिशत बढी शय्या भरिएका हुन्छन्।
अस्पतालले सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको छ। तर बिरामीको अत्यधिक चापका कारण बेड थपिएको अस्पतालले जनाएको छ।
![lumbini-hospital7-1739202028.jpg](https://www.setopati.com/uploads/posts/lumbini-hospital7-1739202028.jpg)
![lumbini-hospital8-1739202028.jpg](https://www.setopati.com/uploads/posts/lumbini-hospital8-1739202028.jpg)
अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार यो अस्पतालले लुम्बिनी र अन्य प्रदेशका समेत गरी ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। वर्ष २०८०/८१ मा यहाँको ओपिडीमार्फत साढे ३ लाख हाराहारी बिरामीले सेवा लिएका थिए भने २७ हजार जना भर्ना भएका थिए। पछिल्ला तीन वर्षयता बर्सेनि ५० हजार हाराहारीमा ओपिडी सेवा लिनेको संख्या बढिरहेको छ। इमरजेन्सी र प्रसूति सेवामा पनि संख्या बढिरहेको छ।
हाल अस्पतालबाट ल्याब सेवासहित डायलाइसिस, प्लास्टिक सर्जरी, ग्यास्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियू, एनआइसियू, बर्थिङ सेन्टर, आँखा रोग, हाडजोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, मनोरोग लगायत विशिष्टिकृत सेवा सञ्चालन भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए।
अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ, १५७ पारामेडिक्स, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगी र सफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन्।