नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिएको छ।
लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार अभिनन्दन गरेको हो।
राष्ट्रसेवामा समर्पित योगदान, दुरदृष्टि र कुशल नेतृत्वकर्ताका कारण घिसिङ सम्पूर्ण नेपाली जनताको जीवनमा उज्यालो ल्याउने प्रेरणादायी व्यक्तित्व भएको समितिले जनाएको छ।
नागरिक समाजका अगुवा एवम् कार्यक्रममा प्रमुख अतिथि नारायणबहादुर खपाङीले विकट चेपाङ बस्ती लगायत देशभरी नै करिब शतप्रतिशत विद्युतीकरण गर्न र निरन्तर घाटामा रहेको संस्थालाई नाफामा परिणत गर्न घिसिङ सफल भएको बताए।
देशभित्र विद्युत खपत गरी बढी भएको बिजुली भारत र बंगलादेशसम्म निर्यातको ढोका खोली देशको अर्थतन्त्र चलायमान बनाउन घिसिङले उल्लेख्य योगदान गरेको उनको भनाइ छ।
नागरिक अभिनन्द मूल समितिका संयोजक धनबहादुर मिक्चनले घिसिङको अथक प्रयास, इमान्दारिता र जनउत्तरदायी नेतृत्वले राज्यको सेवा प्रवाहमा नयाँपन स्थापित भएको बताए।
घिसिङको अभिनन्दन केबल व्यक्तिको सम्मान मात्र नभइ त्यो निष्ठा, पारदर्शिता र प्रतिबद्धताप्रतिको श्रद्धा भएको उनले उल्लेख गरे।
कार्यक्रममा घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको बताए।
जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको उनले गुनासो गरे।
अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उनले उल्लेख गरे।
'लोडसेडिङको अँध्यारो हटेको छ तर अझै धेरै क्षेत्रमा अँध्यारो छ त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रूपमा करिब सात खर्ब रूपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रूपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्यासजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ।'