पियोर इनर्जी लिमिटेडले सोल पावरमा २६ प्रतिशत सेयर लगानी गरेको छ। पियोर इनर्जीले सोल पावरको प्रतिकित्ता सय रूपैयाँ अंकित मूल्यका २ लाख ६० हजार कित्ता खरिद गरेको हो।
सोल पावरले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ। कन्चनपुरमा १५ मेगावाटको कृष्णपुर सोलार परियोजना, बर्दियामा २५ मेगावाटको भुरिगाउँ–१ सोलार परियोजना, बाँकेमा ३० मेगावाटको न्यू नेपालगन्ज सोलार परियोजना, नवलपरासीमा १५–१५ मेगावाटको परासी सोलार परियोजना र सुनवल सोलार परियोजना छन्।
नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन २०२४–२५ अनुसार सोल पावर अन्तर्गतका पाँचवटै परियोजनाको गत जेठ २९ गते विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ।
त्यस्तै, पियोरले हाल बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन्। गोल्यान समूह अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने सोलार कम्पनी हो।
पियोर इनर्जीले आर्थिक वर्ष २०८१/८२ मा ३ करोड १९ लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख रूपैयाँ पुगेको छ।
त्यस्तै, १ करोड ५१ लाख रूपैयाँ अन्य आम्दानी गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनी १ करोड ७५ लाख ८० हजार रूपैयाँ खुद घाटामा थियो।
नेपाल विद्युत प्राधिकरण र पियोर इनर्जीबीच २०७८ मंसिर १२ मा विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) भएको थियो। २०८० पुस ११ बाट पियोरले सौर्य उर्जाको व्यापारिक उत्पादन सुरु गरेको थियो।
कम्पनीको वार्षिक वित्तीय विवरणले विद्युत बिक्रीबाट हुने आम्दानी बढेको कारण कम्पनी नाफामा गएको देखाउँछ।
गत वैशाखमा आईपिओ निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रूपैयाँ छ। यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.७० रूपैयाँ र प्रतिसेयर नेटवर्थ १००.४८ रूपैयाँ छ।