तुलसीपुर–घोराही सडक खण्ड चार लेनको रूपमा विस्तार गर्ने जिम्मा ‘दिवा वन्दना भगवती जेभी बानेश्वर काठमाडौं’ ले पाउने निश्चित भएको छ।
शुक्रबार सडक विभाग अन्तर्गतको मदन भण्डारी निर्देशनालयले उक्त निर्माण कम्पनीको नाममा पत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक गरेसँगै सुनिश्चितता भएको हो।
‘दिवा वन्दना भगवती जेभी बानेश्वर काठमाडौं’ चारमध्ये सबभन्दा कम कबोल अंकमा काम गर्ने इच्छा जाहेर गरेको थियो। उसले जम्मा दुई अर्ब ५२ करोड ३७ लाख बढीमा सडक खण्ड विस्तारको काम गर्ने कबोल गरेको थियो।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको झन्डै २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न तीन अर्ब ९९ करोड रुपैयाँको बोलपत्र निर्देशनालयले फागुन १ गते आह्वान गरेको थियो।
जसमा पाँच जना निर्माण व्यवसायीले बोलपत्र पेस गरेका थिए।
ठेक्का हालेका पाँच जनामध्ये चार जना निर्माण व्यवसायीमात्रै प्राविधिक प्रस्तावमा सफल भएका थिए। जसमा रौतहट/खानी जेभी प्राइभेट लिमिटेड, त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आहिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवन र दिवा/बन्दना भगवती जेभी काठमाडौं थिए। ती चार जना बोलपत्र दाताहरूको आर्थिक प्रस्ताव यही सोमबार खोलिएको थियो।
सबभन्दा कम लागतमा सडक विस्तारको काम गर्ने कबोल गरेको दिवा/बन्दना भगवती जेभी काठमाडौंले काम पाउने निश्चित प्राय: भएको हो।
सडक डिभिजन दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर विष्टका अनुसार शुक्रबार दिवा/बन्दना भगवती जेभी काठमाडौंको पत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनि भएपछि अब सात दिनको समय प्रदान गरिएको हुन्छ।
त्यो समयमा निर्माण कम्पनीका बारेमा कसैलाई केही गुनासो वा कैफियत भए त्यसविरूद्ध निवेदन वा उजुरी दिन सक्छन्। त्यो म्याद असार १२ गतेसम्म रहने छ।
त्यो एक हप्ताको अवधिमा निर्माण कम्पनीका विरूद्धमा कतैबाट पनि कुनै गुनासो नआएको खण्डमा निर्देशनालयले असार १३ गतेपछि सडक निर्माण गर्ने जिम्मेवारी दिन सम्झौताका लागि बोलाउने छ। निर्देशनालय र निर्माण कम्पनीका बारेमा सम्झौता भइसके पनि बर्खा लागिसकेको हुँदा वर्षापछि मात्रै सडक विस्तारको काम उसले थाल्ने अवस्था देखिएको छ।