डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरू गरेका छन्।
अहिले सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले किस्ता तिरेका हुन्।
तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरू गरेका थिए। तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको थप महसुलको कुल ३ करोड ७७ लाख रूपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रूपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो।
सम्राटले चार किस्ता बुझाएपछि गत वैशाखबाट किस्ता बुझाउन छाडेको थियो। एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रूपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको प्राधिकरणले जनाएको छ।
स्वीकृत किस्ता सुविधा बमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनुपर्नेमा सात किस्ता मात्र बुझाएको छ।
बाँकी चार किस्ताको ५३ लाख ९६ हजार रूपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उक्त रकम तिरी बाँकी किस्ता नियमित रूपमा तिर्ने बताएको प्राधिकरण, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए।
यसैगरी, रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रूपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो। रोल्पाले पनि ६ किस्तापछि तिर्न छाडेको थियो।
पाँच किस्ताको १७ लाख ७० हजार रूपैयाँ एकैपल्ट तिरी नियमित किस्ता तिर्ने अवस्थामा पुगेको प्राधिकरणले जनाएको हो।
अब रोल्पा सिमेन्टले १७ किस्ता तिर्न बाँकी छ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज १२ किस्ताको १ लाख २३ हजार रूपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ।