आइतबार ललितपुर महानगरपालिका ३ धोबीघाटस्थित नयाँ बाटो रिङरोडमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्कियो। उक्त दुर्घटनामा चन्द्रमणि मुडवडी र पत्रकार गोविन्द शर्माले ज्यान गुमाए।
त्यस्तै, गत चैत २२ गते सातदोबाटो हुँदै बल्खुतिर गइरहेको १ घ ५३३ नम्बरको जनक शिक्षा सामग्री केन्द्रको किताब बोकेको ट्रक बा ७ च २१३१ नम्बरको टाटा मोबाइल भ्यानमाथि पल्टियो।
दुर्घटनामा परी भ्यानमा सवार दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पाको मृत्यु भयो। कलंकी-कोटेश्वर सडकखण्डमा दुर्घटना नौलो कुरो होइन। दुर्घटनाको कारकमध्ये तीव्र गति प्रमुख हो।
छिमेकी मुलुक चीनले सडक फराकिलो र चिल्लो बनाइदियो तर सडक फराकिलो र चिल्लोमात्र भएन यसले धेरै जनधनको क्षति समेत गरिरहेको छ। उपत्यका ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा १ सय ६६, आर्थिक वर्ष २०७३/७४ मा १ सय ८२, आर्थिक वर्ष २०७४/७५ मा १ सय ६८ र आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म २ सय ११ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन्।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म तीव्र गतिमामात्र १ सय ६७ जना कारबाहीमा परे। दुर्घटना घटाउन ट्राफिक प्रहरी महाशाखाले अभियाननै चलाएर तीव्र गतिमा नियन्त्रण गर्न तयारी सुरू गरेको छ। महाशाखाले चक्रपथको कलंकी–कोटेश्वर खण्डको गतिको सीमा तोकेको हो।
यस खण्डको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा, सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र सवारी चलाउन पाइने उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख बसन्त पन्तले जानकारी दिए। तीव्र गतिका कारण धेरै दुर्घटना हुने त्यसलाई न्यूनीकरण गर्ने र सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न नयाँ प्रविधिको स्पिड लेजर गनको प्रयोगमा ल्याएको प्रहरी नायब उपरीक्षक रामबाबु रानाले जानकारी दिए।
‘यस लेजर स्पिड गनले स्पिड, स्थान, समयलगायतको डिटेल जानकारी फोटोसहित दिन्छ,’ रानाले सेतोपाटीसँग भने।
उनका अनुसार लेजर स्पिड गनले १ सय ५० मिटरको दूरीसम्म भएको सवारीसाधनको गति पत्ता लगाउन सक्छ। अहिले ट्राफिक प्रहरीसँग यस्ता ३ ओटा लेजर स्पिड गन रहेका छन्।
हिजोबाट सुरू गरिएको यस अभियान अन्तर्गत सोमबारसम्म जानकारी र सचेत गराइने र त्यसपछि कारबाही प्रक्रियामा जाने रानाले जानकारी दिए। सवारी तीव्र गतिमा चलाएको पाइएमा यातायात व्यवस्था ऐन अनुसार ५ सयदेखि १५ सयसम्म जरिवाना हुने उनले बताए।
ट्राफिक प्रहरीसँग पहिले पनि यस्तै काम गर्ने ‘स्पिड राडार गन’ थियो तर त्यसले सवारीको गति पत्ता लगाए पनि प्रमाण भने हुँदैनथ्यो।