भ्रष्टाचार नियन्त्रणका लागि समाजका सबै पक्ष एकै ठाउँमा उभिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। नेपाल चार्टर्ड एकान्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रममा उनीहरुले माथिल्लो तहसम्मको भ्रष्टाचार नियन्त्रणमा सबैले कानुनको परिपालना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे। प्रविधिको उपलब्धता र नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि उनले बताए।
‘नयाँ वित्तीय उपकरणबारे लेखापरीक्षकहरु जानकार हुनुपर्छ,’ उनले भने।
अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने बताए। ‘सरकार भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्,’ उनले भने।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिचाँई मन्त्री वर्षमान पुन अनन्तले भ्रष्टाचार र जालसाँजी नियन्त्रणका लागि समाजका सबै पक्षले काम गर्नुपर्ने बताए। उनले लेखापरीक्षण व्यवसाय र समाजलाई अनुशासित बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। ‘केही मान्छेहरु व्यावसायिक इमानदारितामा नरहँदा सबैलाई प्रश्न उठाइने गरिएको छ,’ उनले भने, ‘खुला समाजमा आफूले गलत नगर्ने र प्रश्नदेखि नडराउने परिस्थिति बन्नुपर्छ।‘
मन्त्री पुनले भ्रष्टाचार समाजको विकास र सामाजिक रुपान्तरणका लागि चुनौतिपूर्ण रहेको बताए। नेपाली समाज परिवर्तनको चरणमा रहेको भन्दै पुराना प्रवृत्ति समाजमा अझै कायम रहेकाले पुरानै जोखिमहरु पनि बाँकी नै रहेको उल्लेख गरे।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुरमा घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट्स संसेथाको भूमिका महत्वपूर्ण हुने बताए। उनले लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने पनि उल्लेख गरे।
लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए। ‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने।
यसैगरी महालेखापरीक्षक टंकमणि शर्मा दंगालले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए। अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रिकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे।
अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको देखिएको उल्लेख गरे। यसैगरी अन्तर्राष्ट्रिय तहमै सम्पत्ती शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने उल्लेख गरे।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ व्यावसायिक संस्थाहरुको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए। उनले नियमनकारी निकायहरुको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता रहेको पनि औंल्याए।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेशा र व्यवसायमा नैतिकता क्षयीकरण देखिएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे। उनले आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए।
‘व्यावसायिक नैतिकता प्रवर्द्धन गर्ने र हरेक व्यावसायिक व्यक्ति र संस्थालाई नैतिकताको सीमामा राख्ने गरी हामीले काम गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसैका लागि छलफल आवश्यक परेकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। यो कार्यक्रमबाट प्राप्त हुने सुझाव र सल्लाह हामी सरकार र अन्य सरोकारवाला निकायलाई पनि प्रस्तुत गर्नेछौँ।‘
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले नेपालमा आर्थिक, सामाजिक, प्रशासनिक तथा कानुनी र राजनीतिक कारणहरुले भ्रष्टाचार बढाउन सहयोग गरिरहेको बताए। ‘नेपालमा आफूले फाइदा लिनका लागि काम ढिलो गर्ने गरेको देखिएको छ,’ उनले भने, ‘संसारभर ग्लोबल कूल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म घुसबापत प्रयोग हुने गरेको देखिएको छ।‘ भ्रष्टाचारले मानिसहरुलाई गरिब बनाउने र उनीहरुको जीवनस्तरसमेत कमजोर बनाउने अध्ययनले देखाएको श्रेष्ठले बताए।
भ्रष्टाचारले काम अड्काउन र ढिलो गराउन सिकाउने श्रेष्ठको टिप्पणी छ। यसैगरी भ्रष्टाचारकै कारण पूर्वाधार संरचनाहरुको क्षमता कमजोर हुने गरेको पनि उनले बताए। ‘मानव विकासमा पनि यसले असर गरेको छ,’ उनले भने, ‘सामान्य मानिसहरुले आफ्नो कामको लागत बढाउनुपर्ने हुन्छ।‘ भ्रष्टाचार बढ्दै जाँदा समाजमा पैसा खर्च गर्न सक्नेले मात्रै काम गर्न सक्ने वातावरण तयार गर्ने श्रेष्ठको टिप्पणी छ।
समाजबाट भ्रष्टाचार नहट्ने हो भने त्यसले आन्तरिक तथा बाह्य लगानीलाई अवरोध गर्ने उनको टिप्पणी छ। भ्रष्टाचारले राजस्व क्षयीकरण गर्दै अन्तत: मुलुकको आर्थिक वृद्धिदर नै कमजोर बनाउने उनले बताए। ‘विश्वव्यापी रुपमा नै भ्रष्टाचारले आर्थिक कृयाकलाप कमजोर बनाउँदै अन्तत: आर्थिक वृद्धिदर कमजोर बनाएको छ,’ श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै भने।
योजना आयोगकै अर्का पूर्वउपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अधिकार हनन् हुनेदेखि विधिको शासन खलल पुर्याउन भ्रष्टाचारले काम गरेको टिप्पणी गरे। उनले लेखापालदेखि लेखापरीक्षकसम्म यसमा जिम्मेवार रहने गरेको भन्दै शुद्धीकरण आवश्यक रहेको औँल्याए।
क्षेत्रीले सार्वजनिक खर्च र त्यसको सुधारका लागि सरकारले गरेको काम अझै पर्याप्त नभएको बताए। ‘विकास आयोजना सुरु गर्नुअघि नै नीतिगत भ्रष्टाचार बढिरहेको छ,’ उनले भने, ‘जुन ठाउँमा महालेखाको आँखा पुग्दैन त्यहाँबाट काम लगाउने प्रवृत्ति बढेको देखिएको छ।‘
छलफल सत्रमा सहभागी हुँदै अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले गलत काम र भ्रष्टाचार विरुद्ध सरकार निर्मम ढंगबाट अघि बढ्ने प्रतिवद्धता व्यक्ति गरे। ढुंगानाले यसका लागि समाजका सबै पक्षको सहयोग आवश्यक पर्ने बताए।
‘राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनका लागि केही तत्व छन्। त्यसमा पारदर्शिता सबैभन्दा महत्वपूर्ण विषय हो,’ ढुंगानाले भने, ‘गलत गतिविधि बढ्दाखेरी अर्थतन्त्रमा खराब असर पर्छ। समाकालीन विश्वमा यसलाई निरकाकरण गरिनुपर्छ भन्ने मान्यता छन्। हाम्रो प्रतिबद्धता पनि छ।‘
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै काम समयमा नहुनु झन् ठूलो भ्रष्टाचार भएङ्को टिप्पणी गरे। ‘निजी क्षेत्रको पनि भ्रष्टाचार बढाउनमा सहयोगी भूमिका छ भन्ने कुरा आयो,’ उनले भने, ‘वास्तविकता के हो भने कुनै पनि काम समयमा भएन भने त्यो झन् ठूलो भ्रष्टाचार हो जस्तो लाग्छ।‘
सचिव ढुंगानाले ढकालको यो सवालको तत्काल जवाफ दिए। उनले भने, ‘अर्थ मन्त्रालय र मातहतका निकायबाट अहिलेसम्म कुनै काम रोकिएको छैन, कुनै काम कतै रोकिएको भए जानकारी दिनुस् तत्काल अघि बढ्छ।‘
ढकालले अनुगमनकारी निकायको भूमिका धेरै भएका कारण कर्मचारीहरु सही निर्णय गर्न पनि कर्मचारीहरु डराउने अवस्था रहेको बताए। ‘उसको स्वार्थ केही हुन्न तर पनि समाज र मिडियाका डरले गर्न डराउँछ,’ उनले भने, ‘ऊ त्यस्ता अनुगमनकारी निकाय र मिडियासँग डराउने अवस्था छ।‘
यसैगरी नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष गोविन्द बन्दीले कुनै पनि व्यवसायमा त्यसभित्र रहेका १/२ जना व्यक्तिका कारण सिंगो व्यावसायिकतामा प्रश्न उठेको बताए। ‘कुनै व्यवसाय कानुनभन्दा माथि हुन सक्दैन,’ उनले भने, ‘अहिले भ्रष्टाचार नियन्त्रण ठूलो चुनौति हो। सबै सरोकारवाला निकायले जिम्मेवारीपूर्वक सोच्न जरुरी छ।‘
नेपाल इन्जिनियरिङ परिषदका प्रकाशभक्त उपाध्यायले पूर्वाधार विकास गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। मुलुक समृद्ध हुँदै गएपछि जनताको आयस्तर बढ्ने र त्यसले साना भ्रष्टाचार नियन्त्रण गर्दै अघि बढ्न सकिने उल्लेख गरे।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष मदनकुरमा शर्माले कुनै पनि व्यवासयमा रहेका व्यक्तिले कुनको परिपालना नगरी आफ्नो हित मात्रै हेर्दा भ्रष्टाचार हुने गरेको उल्लेख गरे। चार्टर्ड एकाउन्टेन्टहरुले कानुनको परिपालना नभएको अवस्थामा चुप लागेर बस्न नहुने शर्माले बताए।
कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष श्रेष्ठ, चार्टरड एकाउन्टेन्ट अनलराज भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव प्रदीप कुमार कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसन कोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रड डिटेक्सन नाम कोर्सअन्तर्गत तालिम दिएका ४० जनालाई प्रमाणपत्र दिएको थियो।