दाङमा तोकिएको समयअगावै निर्माण सम्पन्न गरेपछि एक निर्माण व्यवसायीलाई सम्मान गरिएको छ। दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वारखोला पुल निमार्ण तोकिएको समयभन्दा करिब ८ महिना अगाडि नै सम्पन्न गरेपछि रसुवा कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई विजौरी उद्योग वाणिज्य संघले सम्मान गरेको हो।
समयमै काम सम्पन्न गरेर उदाहरणीय व्यक्ति बनेको भन्दै बिहीबार सम्मान गरिएको सघं अध्यक्ष मुक्तिबहादुर वलीले बताए।
रसुवा कन्ट्रक्सनले जसरी सबै निर्माण व्यवसायीले समयमै विकास निमार्णका काम गर्न सके विकास निमार्णले फड्को मार्नेछ,’ उनले भने।
कार्यक्रममा रसुवा कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठले रसुवा कन्ट्रक्सनले आफूले जिम्मा लिएको काम समयमै सम्पन्न गर्नुपर्छ भन्ने जिम्वारीका साथ काम गर्ने गरेको बताए ।
रसुवा कन्ट्रक्सनले जिम्मा लिएको काम सबै ठाँउमा समयमै सक्ने गरेको उनले जानकारी दिए।
उक्त पुल निर्माणका लागि विस २०७४ साल असारमा सम्झौता भएको थियो। २०७७ असारमा निर्माण सक्नेगरी उक्त कम्पनीले जिम्मा पाएको थियो।
उक्त कम्पनीले दाङमै २ पुल सम्झौता समय अगावै सम्पन्न गरेको छ।
घोराही-तुलसीपुर सडकखण्डमा करिब ८ महिनाअगाडि २२० मिटर लामो पुल र ग्वारखोलामै अर्का पुल करिब १४ महिनाअगाडि निर्माणसम्पन भइसकेको छ।