ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने गरी बुटवलमा अत्याधुनिक सुविधा सम्पन्न ढुवानीग्राम निर्माण हुने भएको छ।
बुटवल वडा नं. १२ मा निर्माण हुने ढुवानीग्रामका लागि उपमहानगरपालिका र रुपन्देही परिवहन प्रा. लिबीच गत पुस ७ गते नै सम्झौता भइसकेको छ।
बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा निर्माण हुनेगरी माघ २५ गते कार्यपालिका बैठकले निर्णय गरेको थियो। गुरुयोजना अनुसार करिब २४ करोडको लागतमा निर्माण सम्पन्न हुने ढुवानीग्राममा ४९ सेडहरु निर्माण हुनेछन्।
प्रति सेड २६ लाख ३२ हजार ३ सय २० का दरले ४९ सेडको मात्रै १२ करोड ८९ लाख ८३ हजार ६ सय ८० रुपैयाँ लागत पर्नेछ। ढुवानीग्राम निर्माण पछि बुटवलका चोक र गल्लीमा अव्यवस्थित रुपमा रहेका ढुवानीका साधन सोही क्षेत्रमा स्थानान्तरण हुने उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बताए। अहिले व्यस्त बजारभित्रै ढुवानीका साधन राखिँदा सडक समेत अस्तव्यस्त हुने गरेको छ।
रुपन्देही परिवहन कम्पनीले १ वर्ष भित्रै सेडहरु निर्माण गर्ने सम्झौतामा उल्लेख छ। सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने ढुवानीग्राम १५ वर्षपछि उपमहानगरपालिकालाई हस्तान्त्रण गर्ने बताइएको छ।
एकहजार ५ सय ५० वर्गफुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडको मासिक बहाल प्रति वर्गफुट २ रुपैयाँका दरले ३ हजार १ सय हुने छ भने बहाल रकम प्रत्येक २ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने हुने छ।
ढुवानीग्राममा पहुँचमार्ग, ढल तथा नाली, बिजुली र खानेपानी, शौचालय, तारबार लगायतका संरचनाहरु उपमहानगरपालिकाले निर्माण गर्ने छ। त्यस्तै पार्किङ स्थल, व्यवसायिक भवन सहितको २ वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत संम्भार पसल, प्रतिक्षालय, बाथरुम सहितका शौचालय, अफिस, प्रहरी चौकी समेत रहनेछन्।