जहाजबाट ओर्लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अघि बढ्दा आगमन कक्षको प्रवेशद्वारमा ठूलो सुनौलो अक्षरमा लेखिएको छ, 'वेलकम टू नेपाल।'
दायाँबायाँ भित्तामा परम्परागत कला-संस्कृति झल्किने तस्बिर छन्। भित्र छिरेपछि गौतम बुद्धको प्रतिमाले थप आकर्षित गर्छ।
वरपर कलात्मक आँखी झ्यालहरू। नेपालको मौलिक संस्कृति र आधुनिकता झल्काउने थुप्रै चिजबिज। सर्वोच्च शिखर सगरमाथादेखि विविध संस्कृति सम्पदाको तस्बिरले यात्रुको ध्यान खिच्छ। गमलामा सजाइएका फूलले थप मोहित बनाउँछ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिनानुदिन स्वरूप बदल्दै गएको छ।
विदेशबाट आएकाहरूलाई नेपालको समग्र संस्कृति परम्परा झल्को दिने गरी विमानस्थललाई बुटिक बनाउँदै लगिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।
'हामीसँग तीनवटा प्याकेज थिए। त्यसमध्ये दुइटा प्याकेजको काम सकिएको छ। तेस्रो प्याकेजको काम भइरहेको छ,' उनले सेतोपाटीसँग भने।
महाप्रबन्धक तिवारीका अनुसार पहिलो प्याकेजमा आन्तरिकतर्फ विमानस्थल 'रिनोभेसन' गर्नुपर्ने थियो। जसअन्तर्गत फ्लोरिङ तथा सिलिङ बुटिक बनाउने काम सकिएको छ।
दोस्रो प्याकेजअन्तर्गत अन्तर्राष्ट्रियतर्फको आगमन कक्षलाई बुटिक बनाउने काम पनि सकिएको छ।
तेस्रो प्याकेजअन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनल भवनको विस्तारसहित भवन बाहिर छानो 'क्यानोपी' राख्ने काम पनि करिब अन्तिम चरणमा पुगेको उनले बताए।
आगामी कात्तिकभित्र तेस्रो प्याकेजको काम पनि सकिने महाप्रबन्धक तिवारीको भनाइ छ। तर तेस्रो प्याकेज सकिनेबित्तिकै बुटिक बनाउने कामले पूर्णता भने नपाउने उनी बताउँछन्।
'यी प्याकेजमा सबै कुरा समेटिएका छैनन्,' उनले भने, 'जुन बुटिक हामीले खोजेका हौं, त्यसका लागि अझै थुप्रै काम गर्न बाँकी छ।'
पुरानो योजना सकिएपछि साजसज्जासँगै पूर्वाधार थपिने उल्लेख गरिएको छ।
'विमानस्थलको चेकिङ र अराइभल क्षेत्र पनि हामी विस्तार गर्दैछौं। विस्तारपछि खुला हुन्छ। जसले यात्रु आवागमन सहज हुन्छ,' उनले भने।
अहिले यहाँ झोलाहरू लिने ठाउँ साँघुरो छ। यसलाई पनि फराकिलो बनाइने उनले बताए। त्यस्तै विमानस्थल परिसरमा रहेका पसललाई पनि बुटिकका रूपमा निर्माण गरिनेछ। अन्तर्राष्ट्रिय टर्मिनल अगाडि रहेको वाटर फाउन्टेन (पानीको फोहरा) क्षेत्रलाई पनि बुटिक बनाउने योजना रहेको उनको भनाइ छ।
'यसमा परम्परागत शैलीका ढुंगेधारा, आकर्षक वाटर फाउन्टेन, फूल-बिरूवा लगायत रहने छ,' तिवारीले भने।
विमानस्थलले नयाँ प्याकेजका लागि बजेट प्रस्ताव गरेको छ। तर राजनीतिक अस्थिरताका कारण लामो समयदेखि प्रक्रिया अगाडि बढ्न सकेको छैन। बजेट स्वीकृत भएर आएपछि टेन्डर प्रक्रियामा जाने र नयाँ प्याकेजमार्फत विमानस्थललाई थप आकर्षक स्वरूप दिने उनले बताए।
विमानस्थलमा प्राचीनता झल्किने कलाकृतिसँगै व्यवहार पनि नेपालीपन झल्कने हुनुपर्नेछ। सोहीअनुसार जनशक्ति परिचालन गर्ने विमानस्थलको योजना छ। यसबाट नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन हुने विश्वास विमानस्थलको छ।
विमानस्थललाई बुटिकका रूपमा विकास गर्ने योजना २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आएको हो। यो योजनाका लागि कुल कुल सात करोड ५३ लाख रूपैयाँ बजेट छुट्याइएको थियो। बुटिक योजनाअन्तर्गत खर्च पारदर्शी र व्यवस्थित बनाउन छुट्टै कार्यविधि तय गरिएको थियो। तर महालेखापरीक्षण कार्यालयको ५८ औं प्रतिवेदनले भने पारदर्शितामाथि प्रश्न उठाएको छ।
नागरिक उड्डयन प्राधिकरणले बुटिक एयरपोर्ट शीर्षकमा अन्य खर्च पनि गरेको प्रतिवेदनले औंल्याएको छ। खर्चको एकीकृत विवरण तयार नपारेको औंल्याउँदै खर्च विवरण माग पनि गरेको छ।
माग गरिएका विवरण संकलन गरेर पठाइने महाप्रबन्धक तिवारीले बताए।
'हामी सुरूदेखिका सबै विवरण संकलन गरिरहेका छौं,' उनले भने।
चालु आर्थिक वर्ष भने विमानस्थल विस्तारका काममा बढी केन्द्रित हुने उनले बताए।
'एयरपोर्ट साँघुरो हुँदै गयो। अहिले कोभिड महामारी कायमै भएकाले समस्या नदेखिएको हो। अवस्था सामान्य हुनेबित्तिकै यात्रुको चाप बढ्छ,' तिवारीले भने, 'यात्रु तथा उडानको चाप बढ्दा आइपर्ने समस्या हल गर्न पूर्वतयारी गर्छौं।'
प्रतिघण्टा १३ सय ४० यात्रुलाई सेवा दिने गरी निर्मित त्रिभुवन विमानस्थलमा यात्रुको चाप अहिले दोब्बर बढी भइसकेको छ। त्यसैले विमानस्थलमा भौतिक क्षमता अभिवृद्धि आवश्यक रहेको औंल्याइएको छ। नियमित सेवा व्यवस्थित बनाउन विस्तारको काममा जोड दिइएको र यो वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको तिवारीले जानकारी दिए।
'डिपार्चर हल विस्तार हुँदैछ। क्षमता अभिवृद्धि गरिरहेका छौं। आन्तरिकतर्फको पार्किङ पनि विस्तार गर्ने हाम्रो योजना छ,' उनले भने।
विस्तारका लागि आवश्यक ठाउँ पनि भएकाले अप्ठ्यारो नहुने उनले बताए। महामारीबीच पनि विमानस्थलले सेवासँगै पूर्वाधार निर्माण, साजसज्जा लगायत काममा निरन्तरता दिएको थियो। त्योसँगै विमानस्थलका गुरु योजना अनुसारका कार्यक्रम कार्यान्वयन हुँदै जाने उनको भनाइ छ।
तर कोरोनाका कारण विमानस्थलको स्तरोन्नतिमा आवश्यक स्रोत कमी भएको महाप्रबन्धक तिवारीले बताए।
'कोरोनाले गर्दा ७० प्रतिशत राजश्व गुमाइराखेका छौं। सामान्य अवस्थामा वर्षमा १२ अर्ब कमाइ हुन्थ्यो, अहिले तीन अर्ब मुश्किलले हुन्छ,' उनले भने।
आयस्रोत कम हुँदा विमानस्थल स्तरोन्नति तथा पूर्वाधार विकासमा चुनौती थपिएको उनले बताए।
'सरकारबाट ठूल्ठूला प्रोजेक्टका लागि मात्रै बजेट आउँछ। मर्मतसम्भारका लागि विमानस्थल आफैंले व्यवस्थापन गर्ने हो। हाम्रो राजश्व घटेकाले काम गर्छु भनेर कस्सिए पनि अप्ठ्यारो पर्ने देखिएको छ,' तिवारीले भने।
सबै तस्बिर सौजन्यः प्रतापबाबु तिवारी