भक्तपुरको कमलविनायकबाट नगरकोट जाने १७ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम २०७० सालमा सुरू भएको थियो। दुई वर्षमा पूरा गर्ने भनिएको यो सडकको काम नौ वर्ष बितिसक्दा पनि सकिएको छैन।
बेलैमा निर्माण सम्पन्न नभएर आक्रोशित स्थानीयले बिहीबार सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो रिस पोखेका छन्।
मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली बिहीबार सडक अनुगमनका लागि नगरकोट पुगेको थियो। त्यही बेला स्थानीयले 'जुनसुकै मन्त्री फेरिए पनि सडकको हालत नफेरिएको' भन्दै आक्रोश पोखेका हुन्।
'नौ वर्ष भइसक्यो, हामीले कति धुलो खानु? धुलो खाएरै रोगले मर्नु?' एक स्थानीयले मन्त्री श्रेष्ठसँग भनिन्।
नगरकोटको बास्तोला गाउँका एक स्थानीय त मन्त्रीको गाडी रोक्न बाटैमा बसेका थिए। उनले बेलैमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा सरकारले संरक्षण गरेको आरोप लगाए।
यो सडकको निर्माण ठेक्का शैलुङ कन्स्ट्रक्सनले पाएको छ, जसका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी हुन्।
'प्रचण्डको घरबेटी भनेर सरकारले अहिलेसम्म ठेकेदारलाई कारबाही गरेको छैन। तपाईंहरू काम नगर्ने ठेकेदारलाई कहिलेसम्म संरक्षण गरिरहनुहुन्छ? कारबाही किन गर्नुहुन्न?' सडक किनार उभिएका एक वृद्ध मन्त्रीको गाडी नजिक आएपछि ठूलो स्वरमा कराए।
ठेकेदारले लामो समयदेखि सडक नबनाउँदा आफूहरूले सास्ती झेल्नुपरेको यहाँका स्थानीयको गुनासो छ।
'यो सडकले हामीलाई बसिनसक्नु भइसकेको छ। धुलोले वरिपरि केही देखिँदैन। मन्त्री आउने भएपछि चाहिँ सडकमा रातारात पानी खन्याउने काम गरियो, रातारात अलकत्रा पोखियो,' एक स्थानीयले भने।
सडक अनुगमनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले दुई वर्षमा सक्नुपर्ने सडक नौ वर्षसम्म नसकिनु लज्जास्पद भएको स्वीकार गरेका छन्।
'२०७२ सालमै सक्नुपर्ने, सात वर्ष बितिसक्यो,' उनले भने, 'जनता आक्रोशित हुनु स्वाभाविक हो। हामी पनि यो कामबाट सन्तुष्ट छैनौं। काम नगर्ने ठेकेदारलाई संरक्षण गर्दैनौं।'
उनले सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे ठेकेदारसँग थप छलफल गर्ने र तोकिएको समयमा काम पूरा नभए ठेक्का तोड्ने बाचा पनि स्थानीयसँग गरे।
'अब हामी सबै सच्चिनुपर्छ। फागुन मसान्तसम्म यो सडकको काम सक्नुपर्ने थियो। क्रसर उद्योगको समस्याका कारण सामग्री नपाउँदा केही समय काम भएन,' उनले भने, 'अब महिना होइन, दिनगन्ती हुनुपर्यो। केही दिनभित्रै काम सक्नुपर्यो।'
भारतीय राजदूत श्रीवास्तवले गुणस्तरीय निर्माण गरेर मात्रै सडक हस्तान्तरण गर्न आग्रह गरे। एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार गर्न थालिएको यो सडकको लागत २८ करोड रूपैयाँ छ।
शैलुङ कन्स्ट्रक्सनले सन् २०१४ मा सडक निर्माणको ठेक्का पाएयता पटक–पटक म्याद थप्दै आएको छ। ठेकेदारको लापरबाहीकै कारण सडक किनार लगाइएको नालीको पर्खाल भत्किएको छ भने यसअघि गरिएको कालोपत्रे ठाउँठाउँमा उक्किएका छन्। यसले सडकभरि जतासुकै खाल्डाखुल्डी छन्।
शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले परामर्शदाता नियुक्ति र सुरूआती काममा ढिलाइ भएकाले समयमा पूरा गर्न नसकेको बताए।
'सेन्टरबाट दायाँबायाँ बराबरी कटिङ गर्ने भन्ने छ। त्यसो गर्दा हाम्रो खर्च बढ्ने भयो। थोरै पैसामा धेरै काम गर्नुपर्ने भएपछि भित्ता मात्रै काट्दै जाने कुरा भयो,' उनले भने, 'भित्ता काट्दा धेरै विवाद भयो र निर्माण सहज रूपमा अघि बढ्न सकेन। यसले समय लम्बियो।'
जंगल क्षेत्र भएकाले रूख हटाउने विषयमा समन्वय हुन पनि धेरै समय लागेको उनले बताए।
'सन् २०१८ मा आएर बल्ल रूख हटाउन समन्वय भयो। त्यसपछि नाकाबन्दी भयो, भुइँचालो गयो। काम हुन सकेन। हाम्रो गल्ती छैन तर यहाँ ठेकेदारलाई मात्र सबै दोष दिने चलन छ,' उनले थपे।
अब एक महिनाभित्र सडकको पूरै काम सक्ने दाबी गर्दै उनले भने, 'सडक विभागको मापदण्डअनुसार सबैलाई चित्तबुझ्ने हिसाबले काम सकेर एक महिनाभित्र हस्तान्तरण गर्छौं।'
एक महिनामा काम पूरा नभए जिम्मेवारीबाट हट्ने पनि उनले बताए।
निर्माण कम्पनीका अनुसार कमलविनायक-नगरकोट सडक खण्डको काम अहिलेसम्म ९० प्रतिशत सकिएको छ। वर्षौंदेखि अलपत्र यो सडकको अवस्थाले नगरकोटको पर्यटन प्रवर्द्धनमा समेत असर परेको स्थानीयको गुनासो छ।
काठमाडौं नजिकै रहेको पर्यटन स्थल नगरकोटमा हिमालका दृश्य नियाल्न तथा सूर्योदय र सूर्यास्त हेर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक जाने गर्छन्। सडकका कारण त्यहाँ पुग्ने पर्यटकले सास्ती झेल्नुपरेको व्यवसायीहरूको भनाइ छ। सडकको दुरावस्थाका कारण विश्वभरि नेपालको नकारात्मक सन्देश गइरहेको उनीहरू बताउँछन्।