ललितपुरको बागडोलस्थित युरो स्कुलका विद्यार्थीहरूले इन्द्रजात्राको पौराणिक कथामा आधारित जात्रा कार्यक्रम सम्पन्न गरेको छ। इन्द्रजात्राको पूर्व सन्ध्यामा विद्यालयले सो कार्यक्रम आयोजना गरेको हो।
ललितपुरस्थित १६ वटा विभिन्न प्रि-स्कुलका विद्यार्थीहरूलाई निमन्त्रणा गरी सम्पन्न गरिएको उक्त जात्रामा विद्यार्थी तथा अभिभावक समेत गरी करिव चार सय जनाको सहभागिता रहेको थियो। उक्त अवसरमा ८ दिनसम्म चल्ने इन्द्र जात्राको सम्पूर्ण दिनहरूको गतिविधिहरूलाई पौराणिक कथा वाचन सहित विद्यार्थीहरूले नाटकको रूपमा झाँकी सहित प्रदर्शन गरेका थिए।
लिंगो ठड्याउने, पुलुकिसी, कुमारी रथ यात्रा, भैरव, लाखे नाच तथा लिंगो ढालेर परम्परागत रूपमा मनाइने इन्द्र जात्राको प्रदर्शन गरिएको थियो। साथै, सो जात्रामा कुमारी नृत्य तथा धिमे बाजा सहितको लाखे नाच पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा समेः बजीको महत्वलाई प्रकाश पार्दै जात्रामा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक-शिक्षिका तथा अभिभावकलाई प्रसादको रूपमा समे बजी वितरण गरिएको थियो।
यस कार्यक्रको माध्यमबाट विद्यार्थीहरूले नेवार संस्कृतिक धरोहरको महत्वलाई अनुसरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै विद्यार्थीहरूमा आफ्नो संस्कृतिप्रतिको सम्मान, सम्बर्दन तथा यसको महत्त्व बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको स्कुलका प्रधानाध्यापक विमल कटुवालले बताए।
यस किसिमका शिक्षण विधि प्रक्रियाले विद्यार्थीहरूलाई सिकाईमा सहजता ल्याउने तथा संस्कृति र परम्पराको संरक्षणमा विद्यार्थीहरूलाई उत्प्रेरणा दिने पनि उनले बताए।